कवि तथा गीतकार मञ्जुलले राल्फाकालीन गीति यात्रा संस्मरण समेटिएको पुस्तक ‘सम्झनाका पाइलाहरू’ सार्वजनिक गरेका छन्। नेपालयको मासिक सांगीतिक कार्यक्रम 'पलेँटी'मा आफ्ना गीत तथा कवि सुनाउँदै उनले आइतबार साँझ पुस्तक सार्वजनिक गरेका हुन्।
'सम्झनाका पाइलाहरू' मञ्जुल र गायक-संगीतकार रामेशले पूर्वी नेपालको सांगीतिक यात्रा गर्दाको सम्झनाको संगालो हो। बीसको दशकमा राल्फा समूहले गाउँगाउँ पुगेर पञ्चायती व्यवस्था विरुद्ध संगीत मार्फत जागरण अभियान चलाएको थियो। मञ्जुल राल्फा अभियानका अगुवा मध्येका एक हुन्।
२०४४ सालमा पहिलोपल्ट प्रकाशित सम्झनाका पाइलाहरूलाई नेपालयले ‘नेपालय क्लासिक’अन्तर्गत पुनः प्रकाशित गरेको हो। 'पलेँटी'मा मञ्जुलले विगतको सांगीतिक यात्राको चर्चासँगै उनले रचना गरेका आठवटा गीतहरू प्रस्तुत गरे।
मञ्जुलको शब्दमा रामेशले धुन भरेको गीत ‘कार्यशील जिन्दगी, बगिरहने नदी हो’बाट कार्यक्रम सुरु भयो। दोस्रो प्रस्तुतिमा रामेशकै संगीतको ‘भोकै मर्ने महाकविका पेटका सारङ्गीहरू, हाम्रा गीतहरू’सँगै मञ्जुलले अतीतका सम्झना खोतल्न थाले।
त्योबेला म मञ्जुल राष्ट्रबैँका कर्मचारी थिए। रामेश, रायन र अरिम रेडियोमा लोकगीतहरू गाउँथे। संजोगले उहाँहरूसँग परिचय भयो। गीत संगीतमा रुचि राख्ने मञ्जुलको उनीहरुसँग परिचय भयो। उनी पनि गाउन थाले।
‘रेडियोमा गाएको पारिश्रमिक राष्ट्र बैँकमार्फत् लिनु पर्थ्यो । आफैँ कार्यरत बैँकबाट एकदिन पोल खुल्यो, हाम्रो पारिश्रमिक त किर्ते गरेर रेडियोकै अन्य कोहीले खाँदा रहेछन्।’ उनले थपे, त्यो घटनाविरुद्ध उनीहरुले मुद्दा हालेपछि रेडियो नेपाल जाने बाटो बन्द भयो र संगीतमा लाग्ने विकल्प खोजले ‘राल्फा’ जन्म्यो।’

पञ्चायती व्यवस्थाको विरोध र फरक खालका प्रयोगवादी सृजनाहरुका कारण राल्पा लोकप्रिय बनेको उनले बताए।
यसपछि मञ्जुलले ‘भोकै मर्ने महाकविका पेटका सारङ्गीहरू, हाम्रा गीतहरू’, ‘डुल्दै आयो गाइने दाजु हाम्रो आँगनमा’, 'मेरो सानो मुरलीमा मेरो देश नअट्ला तर मेरो मुरलीले भका राखूँ भन्छ' गीत गाए।
कार्यक्रमको दोस्रो चरणमा कवि मञ्जुलले केही पुराना कविताहरू वाचन गरे। उनले आफ्नो पुरानो कविता स्रंग्रह ‘गायक यात्री’बाट शीर्ष कवितालगायत ‘गीतार’ शीर्षकको कविता सुनाए। उनका पहिलो चरणका कविताले सामाजिक र राजनैतिक परिवर्तनको पक्षधरता लिएको पाइन्छ।
कविता वाचन पश्चात विगतमा उनीसँग नजिकबाट संगत गरेका संगीत र साहित्यमा गहिरो अभिरुचि राख्ने राजनीतिज्ञ रघु पन्तले मञ्जुलको व्यक्तित्व र कृतिमाथि आफ्नो मन्तव्य राखे।
आफूले भेटेको समय र राजनैतिक परिवेशको सम्झना गर्दै पन्तले कुरा अगाडि बढाए, ‘मञ्जुल दाइले एउटा उपन्यास लेख्नु भएको थियो- छेकु डोल्मा। त्यो कृति सयौं प्रति मञ्जुल दाइ र म सँगै बसेर आगोमा जलाएका थियौं। पुस्तक जलाउने क्रममा मलाई कताकता लाग्यो, एककपी रेकर्डको लागि राख्नु पर्छ तर मञ्जुल दाइले मैले के लेखेँ अब यसलाई निमिट्यान्नै पार्नुपर्छ भन्नुभएथ्यो।’
सडकमा हिंड्दै गर्दा केही दिनअघि फुटपाथमा बेच्न राखिएको ‘छेकु डोल्मा’को प्रसंग जोड्दै रघु पन्तले त्यसबेलाको राजनैतिक सोचको सम्झना गरे।
'सम्झनाका पाइलाहरू’को प्रसंग जोड्दै रघु पन्तले भने, ‘मञ्जुल दाइले रुपरेखा पत्रिकामा लेखेको संस्मरणको शृंखलामा रामेशले छुटेका कुराहरू थप्ने क्रम शुरु भयो र दुबैको छलफल र सहकार्यमा यो कृति तयार भयो। यो उहाँहरूले गरेको सांगीतिक यात्राको छोटो समयको वर्णन हो तर यसमा तत्कालीन सामाजिक, राजनैतिक र सांस्कृतिक अवस्थाको सुन्दर चित्रण छ।'
मञ्चमा रहेका कवि तथा गायक मञ्जुलले दर्शकमा रहेका आफ्ना पुराना सहयात्री तथा गीतकार निरनलाई पुस्तक उपहार दिएपछि पुस्तक विमोचन भएको घोषणा भयो। सोही क्रममा निरनले राल्फाकालमा लेखेको गीत ‘के पाटीमा लेखिएका, हामी खरी अक्षर हौं?’को पनि प्रसंग उठेको थियो।
पुस्तक सार्वजनिक भएपछि फेरि गीत गायन र कविता वाचनतर्फ कार्यक्रम मोडियो। ‘सम्झनाका पाइलाहरू’मा कोशीको निकै ठाउँमा चर्चा आउँछ। उनीहरूको यात्रा पनि त्यही नदीको निकटबाट गुज्रेको हुन्छ । मीनाको स्वरमा प्रस्तुत गीत ‘कोशी छेउ, उभेको सिमल जत्ति नि बाँच्दिन म'ले त्यही परिवेशलाई सम्झाएको थियो।
गीत प्रस्तुतिका क्रममा मञ्जुलले रामेशले सृजना गरेको धुनमा पछि शब्द लेखेको समझ्ना गरेका थिए। त्यस लगत्तै गाइएको ‘मर्छु र म डुंगा बन्छु, आउँदा नदी तार्न सकूँ, मर्छु र म सम्झना हुन्छु, आउँदा आँसु झार्न सकूँ’ले पनि नदी र डुंगाकै बिम्बमार्फत् जीवनपरक भावना व्यक्त गरेको थियो। संगीतकार आभासले यो गीत मञ्जुलको पुरानो गीतसँग्रहबाट आफूले छानेर धुन भरेको जानकारी गराए।
कार्यक्रमको अन्तिम चरणमा मञ्जुलले केही नयाँ कविता वाचन गरे। उनका नयाँ चरणका कविता प्रकृतिसँग जनजीवनलाई जोड्दै कलात्मक धारमा हिंडेका पाइन्छन्। कार्यक्रमको अन्तिम चरणका ‘गाइ त बाँध्यो ढुंग्रोमा मोई छैन, गरीबको चमेली बोल्दिने कोही छैन’लाई मञ्जुलको आग्रहमा सहभागीहरुले पनि गुनगुनाए। ‘कोही त भने जहाज हरर’ सँगै मञ्जुलले बिट मारे।
मञ्जुलको पलेँटीमा गायनतर्फ मीना निरौला, योगेन्द्र उपाध्याय र आभास तथा वाद्यवादनतर्फ किबोर्डमा दिनेश रेग्मी, तबलामा सन्देश महर्जन, प्रकसनमा सुन्दरकुमार महर्जन र गीटारमा सुरज प्रधानले साथ दिएका थिए। अंग्रेजी महिनाको अन्तिम हप्ता संचालन हुँदै आएको 'पलेँटी'को अक्टोबरको शृंखलामा सुमन थापा प्रस्तुत हुने भएका छन्।
नेत्र विशेषज्ञ थापाले गीतकार श्रवण मुकारुङका गीत र आभासको संगीतमा प्रस्तुति दिने नेपालयले जनाएको छ।