दुई हिट फिल्महरू 'बोक्सीको घर' र 'मनसरा' एकसाथ ओटिटी प्लेटफर्ममा रिलिज भएका छन्।
नेपालको अग्रणी ओटिटी प्लेटफर्म 'सिनेमाघर' ले नयाँ वर्ष २०८२ को पावन अवसर पारेर यी फिल्म रिलिज गरेको हो। नेपालमा हलमा हेर्न नपाएका र विदेशमा रहने नेपालीहरूलाई लक्षित गरी रिलिज भएका यी दुवै फिल्मले नेपाली समाजका गहिरा सामाजिक पक्षहरूलाई उजागर गरेका छन्।
सुलक्षण भारतीको लेखन तथा निर्देशनमा बनेको 'बोक्सीको घर' ले नेपाली समाजमा विद्यमान ‘बोक्सी’ भन्ने कुप्रथालाई केन्द्रमा राखेर कथा प्रस्तुत गरेको छ। फिल्ममा अभिनेत्री केकी अधिकारीले मुख्य भूमिका निर्वाह गरेकी छन्।
यस्तै, उपेन्द्र सुब्बाको निर्देशनमा बनेको 'मनसरा' ले ग्रामीण जीवनको संवेदनशील पक्षहरूलाई उजागर गरेको छ। यस फिल्ममा दयाहाङ राई, मिरूना मगर, मेनुका प्रधान र प्रवीण खतिवडाले मुख्य भूमिका निर्वाह गरेका छन्।