‘रन टु शाइन’ भन्ने नाराका साथ बुटवलमा राष्ट्रिय टेन के रन प्रतियोगिता हुने भएको छ।
बुटवलमा प्रधान कार्यालय रहेको नेपालको एकमात्र राष्ट्रिय बैंक शाइन रेसुंगा डेभलपमेन्ट बैंकको आयोजनामा आगामी फागुन ११ गते १० किलोमिटर दुरीको राष्ट्रिय स्तरको दौड प्रतियोगिता हुन लागेको हो।
शाइन रेसुंगा डेभलपमेन्ट बैंकले आफ्नो १७ औं वार्षिकउत्सवको अवसरमा एथलेटिक्समा लोकप्रिय मानिने दौड प्रतियोगिता आयोजना गरेको हो। बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलले पछिल्लो समय व्यस्त जिवनशैलीको कारण मानिसहरुको स्वास्थ्य विग्रन थालेको उल्लेख गर्दै बिहान उठेपछि दौडनुपर्छ भन्ने संस्कार विकास गर्न दौड प्रतियोगिता आयोजना गरिएको बताए।
राष्ट्रिय स्तरका धावकसमेत सहभागी रहने १० किलोमिटर दौड प्रतियोगितामा प्रथम हुने धावकले नगद १ लाख पुरस्कार प्राप्त गर्ने छन्। त्यस्तै दोस्रो हुनेले ४० हजार, तेस्रो हुनेले २० हजार, चौथो हुनेले १५ हजार र पांचौ हुनेले १० हजार पुरस्कार प्राप्त गर्ने छन्।
पौडेलले प्रतियोगितामा उत्कृष्ट हुने महिला र पुरुषलाई अलग अलग समान राशीको पुरस्कार प्रदान गरिने बताए। त्यस्तै स्थानीय धावकहरुलाई आकर्षित गर्न ५ किलोमिटर दौडमा ५० वर्षसम्म र ५० वर्ष भन्दा माथीको गरी दुई विधामा प्रतियोगिता राखिएको छ।
यी दुई विधामा प्रथम हुनेले १५ हजार, दोश्रो हुनेले १० हजार, तेश्रो हुनेले ५ हजार र चौथो हुनेले २ हजार ५ सय रुपैयां प्राप्त गर्ने छन्। यी दुई विधामा पनि महिला र पुरुष धावकलाई समान राशीको अलग अलग पुरस्कार प्रदान गरिने पौडेलले बताए।
बुटवल कालिकाचोकमा रहेको बैंकको प्रधान कार्यालयबाट सुरु भएको दौड मणिग्राम चोक पुगि पुनः केन्द्रीय कार्यालयमा पुगेर समापन हुने छ।
प्रतियोगितामा करिब २ हजार जना धावक सहभागी हुनेछन्।