नेपालका भूपेन्द्र गुरुङले व्याटल अफ ड्रागन्स विश्व च्याम्पियनसिपमा २ स्वर्ण जितेका छन्।
अमेरिकाको एट्लान्टिक सिटीस्थित ट्रोपिकानो होटलमा भएको प्रतियोगितामा भूपेन्द्रले २ फरक स्पर्धामा २ स्वर्ण जितेका हुन्।
उनले कुङफु फम्सको छान् छ्वान् र म्युजिकल फम्सको ताइचीमा स्वर्ण जिते।
प्रतियोगितामा नेपाल, क्यानाडा, मेक्सिको, इजरायल, रोमानिया, बहमास, बंगलादेश, भारत, क्युबासहित अमेरिकाका विभिन्न २० मार्सल आर्ट्स स्कुलका करिब ३ सय खेलाडीले प्रतिस्पर्धा गरेको बताइएको छ। भूपेन्द्रको टिम व्यवस्थापकमामा मनित गुरुङ रहेका छन्।
गत नोभेम्बर एता अमेरिकामा भूपेन्द्रले खेलेको यो तेश्रो अन्तर्राष्ट्रिय प्रतियोगिता हो।
यसअघि भूपेन्द्रले १५ औं गोल्डेन ड्रागन च्याम्पियनसिपको २ स्पर्धामा २ रजत जितेका थिए । छैटौं एनुएल बक्स काउन्टी विन्टर मार्सल आर्ट्स च्याम्पियनसिपमा समान १–१ स्वर्ण र रजत गरी २ पदक जितेका थिए।
त्यसअघि उनले विभिन्न ३ अन्तर्राष्ट्रिय प्रतियोगितामा ३ स्वर्ण पदक जितेका छन्। उनले सन् २०१८ मा जर्मनीमा भएको विश्व च्याम्पियनसिप, सन् २०१९ मा थाइल्यान्डमा भएको सातौं विश्व कुङफु च्याम्पियनसिप र सन् २०२२ मा युकेमा भएको युरोपियन च्याम्पियनसिपमा स्वर्ण जितेका थिए । भूपेन्द्र नेपाल उमा कुङफु संघका उपाध्यक्ष पनि हुन्।