जनकपुर नाइट्स नेपाल कबड्डी लिगको पहिलो सिजनको च्याम्पियन बनेको छ।
शुक्रबार त्रिभपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा भएको फाइनलमा जनकपुरले काठमाडौं माभरिक्सलाई ४५-४१ अंकले पराजित गर्दै उपाधि जितेको हो।
फ्रेन्चाइज टिमको अवधारणमा पहिलोपल्ट आयोजित कबड्डी लिगमा जनकपुर पूरा प्रतियोगितामै उत्कृष्ट लयमा रहदै च्याम्पियन बनेको हो।
उसले चार जित र एक बराबरीसँगै लिग चरणमा शीर्ष स्थान हासिल गरेको थियो। त्यसपछि क्वालिफाइर १ मा विराटनगर ब्यान्डिट्सलाई पराजित गर्दै फाइनलमा स्थान बनाएको जनकपुर शुक्रबार काठमाडौंमाथि जित हात हासिल गर्दै आकर्षक ट्रफी कब्जा गर्दै जनकपुरधाम लैजान सफल भयो।
काठमाडौंले तीन जित, एक बराबरी र एक हारको नतिजासँगै लिगमा तेस्रो भएको थियो। त्यसपछि इलिमिनेटरमा धनगढी वाइल्डक्याट्स र क्वालिफाइर २ मा विराटनगरलाई पन्छाउँदै काठमाडौं फाइनलमा पुगेको थियो।
प्रतियोगितामा जनकपुरका तनोङसाक श्रीहेरा उत्कृष्ट डिफेन्डर तथा काठमाडौंका घनश्याम रोका उत्कृष्ट रेडर घोषित भए।
नेपालमा पहिलोपल्ट भएको कबड्डीको फ्रेन्चाइज लिगमा विराटनगर ब्याण्डिट्स, जनकपुर नाइट्स, काठमाडौं माभरिक्स, पोखरा लेकर्स, हिमालयन रेइडर्स र धनगढी वाइल्डक्याट्स गरी ६ टोलीले प्रतिस्पर्धा गरेका थिए।