फ्रेन्चाइज टिमको अवधारणमा पहिलोपल्ट आयोजित नेपाल कबड्डी लिग (एनकेएल) को फाइनलमा शुक्रबार जनकपुर नाइट्स र काठमाडौं माभरिक्स दशरथ रंगशालास्थित कभर्डहलमा भिड्दैछन्।
जनकपुर पूरा प्रतियोगितामै उत्कृष्ट लयमा रहेको छ । उसले चार जित र एक बराबरीसँगै लिग चरणमा शीर्षस्थान हासिल गरेको थियो। त्यसपछि क्वालिफाइर १ मा विराटनगर ब्यान्डिट्सलाई पराजित गर्दै फाइनलमा स्थान बनाएको जनकपुर आकर्षक ट्रफी कब्जा गर्दै जनकपुरधाम लग्ने योजनामा छ ।
तर, त्यति सजिलै जनकपुरलाई फाइनल जित्न दिने छैन काठमाडौंले । यो टिम तीन जित, एक बराबरी र एक हारको नतिजासँगै लिगमा तेस्रो भएको थियो । त्यसपछि इलिमिनेटरमा धनगढी वाइल्डक्याट्स र क्वालिफाइर २ मा विराटनगरलाई पन्छाउँदै फाइनलमा उभिएको हो । यसवीच काठमाडौंको प्रदर्शन सुधारिदै गएको छ भने विपक्षी टिम फिक्का भइरहेका छन् ।
भारतको प्रो कबड्डी लिग (पीकेएल) च्याम्पियन कप्तान घनश्याम रोका मगरको उत्कृष्ट प्रदर्शनसँगै भाग्यको साथले फाइनल पुगेको काठमाडौं आकर्षक ट्रफीलाई राजधानीमै सजाउन चाहान्छ । घनश्यामलाई रोक्नसके जनकपुर च्याम्पियन बन्ने प्रबल संभावना छ । अर्कोतिर, थाइल्यान्डका चाहपोन कामुनीलाई आक्रामणलाई निस्तेज पार्नसके काठमाडौं च्याम्पियन बन्नसक्छ ।
यी दुई टिमवीच लिगमा पनि प्रतिस्पर्धा भएको थियो, जहाँ नतिजाले दुवै टिमलाई जित्न दिएन, हार्यो भन्न पनि मिलेन । मतलव स्कोर ३९–३९ को बराबरीमै खेल सकियो । यो एनकेएलमा जनकपुर जितबाट बन्चित भएको एकमात्र खेल पनि हो त्यो । त्यसैले काठमाडौंलाई हराउने अभियानलाई फाइनलमा पूर्णता दिएर जनकपुर एनकेएलको उपाधि जित्न आतुर छ ।
जनकपुरको लक्ष्य पनि प्रष्टै छ, जनकपुर बोल्ट्सले गत महिना नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उपाधि जितेर मनाएको उत्सवलाई कबड्डीमा रुपान्तरण गर्ने ।
विहीबार आयोजित पत्रकार सम्मेलनमा काठमाडौंका कप्तान घनश्याम रोका मगरले भने, ‘जनकपुर निक्कै राम्रो टिम हो । तर, हामी राम्रो खेल्दै एनकेएल च्याम्पियन बन्न चाहान्छौं ।’ हरियाणा स्टिलर्सबाट पीकेएल च्याम्पियन भएका उनी राष्ट्रिय टिमका समेत कप्तान हुन् । काठमाडौंका प्रशिक्षक सरोजकुमार सिंहले पनि मिहिनेत गर्दै आफ्नो टिम उपाधि जित्न तयार रहेको बताए ।
जनकपुरका प्रशिक्षक पार्वती राईले ‘हाम्रो टिमले अहिलेसम्म राम्रो खेलिरहेका छौं । अब बाँकी एक खेल पनि राम्रो खेल्दै च्याम्पियन ट्रफी उचाल्न चाहान्छौं ।’ उनी एनकेएलका ६ टिमका प्रशिक्षकमध्ये एक्ली महिला हुन् । राष्ट्रिय खेलकुद परिषदअन्तर्गत् कबड्डीका मुख्य प्रशिक्षक रहेकी पार्वती राईकै नेतृत्वमा नेपाली महिला टिमले १९ औं एसियाली खेलकुद २०२२ मा ऐतिहासिक कांस्यपदक जितेको थियो ।
जनकपुरका कप्तान रामु टमटाले पनि आफ्नो टिम राम्रो लयमा भएकोले फाइनलमा उत्कृष्ट प्रदर्शन गर्दै उपाधि जित्ने कोसिस गर्ने बताए । फाइनल दशरथ रंगशालास्थित कभर्डहलमा शुक्रबार साँझ ६ः ३० बजे सुरु हुनेछ