डाक्टर बन्नु भनेको आज पनि मध्यमवर्गीय परिवारको ठूलो सपना हो।
यही सपना पछ्याउँदै काठमाडौं विश्वविद्यालय पुगेका डा. सुजन कडरियाले भने दुइटा सपना सँगसँगै देखे — डाक्टर बन्ने र राजनीति गर्ने।
उनी यी दुवै सपना साकार गर्ने बाटोमा छन्। डाक्टरी पढ्दै छन्, र राजनीतितर्फ विद्यार्थी आन्दोलनको नेतृत्वमा पुगेका छन्।
नेकपा एमालेको भ्रातृ संगठन अनेरास्ववियुका नवनिर्वाचित अध्यक्ष डा. कडरियामा चिकित्सा र राजनीतिको फरक फरक चाहना कसरी पलायो? डाक्टर बन्ने बाटोमा हिँडिरहँदा राजनीतिक यात्रामा पनि पाइला बढाउने अभिलाषा उनले किन राखे?
यो स्टोरीमा मैले यही विषयमा डा. कडरियासँग लामो कुराकानी गरेको छु।
'द्वन्द्व भनेको समाज चिन्ने र बुझ्ने अवसर हो। द्वन्द्वले हिंसाको आगो मात्र फैलाउँदैन, त्यसले राजनीतिक चेतनाको लहर पनि फिजाउँछ। द्वन्द्व र हिंसाको त्यो समयरेखामा जन्मिएका बालबालिका राजनीतिक रूपले सचेत छन् जस्तो मलाई लाग्छ।'
डा. सुजन कडरियाको यो भनाइ उनकै जीवनमा प्रत्यक्ष लागू हुन्छ।
विक्रम् सम्बत् २०५० दशकको मध्यको कुरा हो। गाउँ, समाज र देशको समग्र राजनीति हिंसाको भुंग्रोमा थियो। राज्यसत्ताविरूद्ध हतियार बोकेर विद्रोह गरिरहेको तत्कालीन नेकपा (माओवादी केन्द्र) र त्यसलाई दमन गर्न 'किलो सेरा टू' अपरेसन चलाइरहेको सरकारी पक्ष आमुन्ने–सामुन्ने थिए।
अनि त्यसको चेपुवामा थिए आमनागरिक, जसमाथि हिंसात्मक संघर्षको विभीषिका कतिबेला थाप्लामा खस्ने हो भन्ने भय व्याप्त थियो।
'युद्ध' को त्यो विभीषिका आँखैले देख्न पाए, आफैले अनुभूत गर्न पाए कडरियाले।
'बुबा कमल कडरिया एमालेको तत्कालीन खिम्ती गाविसका पार्टी सचिव हुनुहुन्थ्यो। माओवादी पक्षले नेतृत्व गरेको संघर्षप्रति राजनीतिक असहमति भए पनि हामीले उनीहरूका गतिविधिमा बाधा पुर्याउने काम गरेका थिएनौं। तर विपक्षी पार्टीका नेता–कार्यकर्तामाथि उनीहरूले प्रतिशोध साँधेका थिए,' उनले सशस्त्र संघर्षताकाका पीडादायी दिन सम्झे।
सशस्त्र संघर्षको डढेलो उनको धुरीसम्म आइपुगेको थिएन, तर छिमेकी तिल्पुङ गाविसमा त्यसको प्रभाव बढ्तै देखियो।
हिंसात्मक विद्रोहको बाटो समातेका माओवादीले एमालेको साविक तिल्पुङ गाविसका पार्टी सचिवको हत्या गरिदिए। त्यसबाट भयग्रस्त बनेको कडरिया परिवारले गाउँ छाड्ने निधो गर्यो।
'डर, त्रासले थिचिएर कति बस्नु भनेर मेरो परिवारले छँदाखाँदाको कपडा पसल बेचबिखन गरेर काठमाडौं जाने निर्णय गरेको थियो,' कडरियाले भने।
यो घटनाले उनको बालसुलभ मस्तिष्कमा युद्धको नराम्रो छाप बस्यो। खाइखेली गरेको आँगन, हिँडिरहेको बाटो, भदौरे भेल छिचोलेको खिम्ती खोलो, आफ्नै उमेरका दाँवली, साथी–संगाती बिरानो बनाएर घर छाड्दाको क्षण उनको मस्तिष्कमा अमेट्य ढंगले रह्यो।
वास्तवमा त्यो उनको राजनीतिक चेतनाको अंकुरण थियो।
खिम्ती छाड्नु उनको जीवनमा यस्तो राजनीतिक परिघटना बनेर आयो, जसले कडरिया परिवारलाई काठमाडौंको बाटो देखाइदियो। सुजनलाई सहरी परिवेश र मनोदशा बुझ्ने अवसर बन्यो।
'त्यति बेलै हो मैले सहर र गाउँबीच भेद छ, अवसरको बाँडफाँट न्यायोचित ढंगले हुन सकेको छैन भन्ने बुझेको,' उनले भन्दै गए, 'सहर पसेपछि मभित्रको राजनीतिक चेतना अझ प्रखर बन्दै गयो। समाजको बनोट र मनोदशालाई अझ सूक्ष्म रूपले हेर्न थालेँ।'
त्यति बेला समाजका अरू अवयवसँग उनको चिनापर्ची भइसकेको थिएन। हुन त खिम्तीमा जलविद्युत परियोजना चलिरहेकाले त्यसले सहरी सुगमतालाई जोडेको थियो। त्यसैले सडक पूर्वाधारका हिसाबले खिम्ती र काठमाडौंबीच उनले ठूलो अन्तर पाएनन् पनि। तर ग्रामीण र सहरी शिक्षाबीच ठूलो भेद देखे। उनी त्यो भेदलाई विभेदकै दर्जा दिन्छन्।
खिम्ती परियोजना चलिरहेको र त्यसबाट आमनागरिकलाई लाभान्वित तुल्याउने ध्येयले प्रोजेक्ट स्कुल सञ्चालनमा थियो। गाउँबाट एक–डेढ घन्टा दुरीमा भए पनि त्यसले शिक्षाको भरपर्दो जग बसाउने ठानेर उनी त्यहाँ भर्ना भएका थिए।
उनले आधारभूत तहसम्मको शिक्षा त्यहाँबाट पूरा गरे।
'दुर्गम ठाउँमा थियो। दैनिक एक–डेढ घन्टा हिँड्नुपर्थ्यो। घाम–पानी, हुरी–बतास र भेल–बाढी सहनुपर्थ्यो। तथापि हाम्रो समयमा हामीले उन्नत ठाउँ भेटेका थियौं। हाम्रा लागि त्यो एक किसिमको प्रिभिलेज नै हो,' उनी अहिले सम्झन्छन्।
एउटा घटनाले डोर्याएर काठमाडौं ल्याएपछि उनी यहाँको निजी स्कुलमा भर्ना भए। निजी शिक्षण संस्थाले तयार पारेको पाठ्यक्रम र पाठ्यवस्तुमा आफ्नो भविष्य खोज्न थाले।
'त्यो मेरो नयाँ शैक्षिक यात्रा मात्र थिएन, निजी र सामुदायिक शिक्षाबीचको खाडल बुझ्ने मौका पनि थियो,' मथिंगलमा राजनीतिक चेतना झाँगिदै गर्दाको क्षण सम्झिँदै उनले भने, 'एउटै तहमा पढ्ने विद्यार्थीले किन दुईथरी पाठ्यक्रम र पाठ्यवस्तु पढिरहेका छन् भन्ने प्रश्न मभित्रै उठ्दै गयो।'
खिम्तीमा छँदा उनले एकथरी पाठ्यक्रम पढेका थिए। काठमाडौं आएर भिएस निकेतनमा भर्ना भएपछि अर्कोथरी पाठ्यक्रममा अभ्यस्त हुनुपर्यो।
एउटै देशभित्र आधारभूत तहमै अलग अलग पाठ्यक्रम पढाइ हुँदा दुईथरी नागरिक उत्पादन हुने उनको केटौले दिमागले सोच्न थाल्यो।
'सरकारलाई यो थाहा छैन कि छुट दिइरहेको छ? एउटाको हुर्काइ बलियो शिक्षाको जगमा भएको छ, अर्कोको जग कमसल बनेको छ। यसरी त सिधासिधा दुईथरी जनशक्ति उत्पादन भइरहेका छन्। यस्तो किन भइरहेको छ भनेर मभित्र प्रश्न उठ्न थाल्यो,' उनी भन्छन्।
स्कुले शिक्षा पूरा गर्ने अवधिभर उनले जबाफ पाउन सकेनन्। भिएस निकेतनबाट माध्यमिक तहको खुट्किलो पार गरेपछि उच्च शिक्षाका लागि उनी गोल्डेन गेट कलेज भर्ना भए। एसएलसीमा राम्रो प्राप्तांक ल्याएकाले कलेजले उनलाई पूर्ण छात्रवृत्ति दिएको थियो।
'राम्रो शिक्षादीक्षा पाइरहेको थिएँ। तर शैक्षिक चेतनाले मात्र जीवनको उन्नयन सम्भव छैन भन्ने लागिरहन्थ्यो। तर कता जाने? मैले बाटो भेट्न सकिरहेको थिइनँ,' उनले भन्दै गए।
गोल्डेन गेटमै पढ्दा उनको चिनापर्ची अनेरास्ववियुका नेताहरूसँग भयो।
संगठन विस्तार क्रममा कलेजमा आइपुगेका ती नेताले उनलाई अनेरास्ववियुमा जोडिदिए।
'अनेरास्ववियुसँगको आबद्धता राजनीति सिक्ने चौतारी बन्यो,' उनले भने, 'लामो समयदेखि मनभित्र उब्जिरहेको प्रश्नको उत्तर यहाँ भेट्छु कि भन्ने लाग्यो।'
बाबु जोडिएको पार्टी एमालेको भ्रातृ संस्था अनेरास्ववियुमा आबद्ध भएपछि उनले राजनीतिमा लामै फड्को मार्ने सोचेका थिए। तर सँगसँगै, शैक्षिक भविष्यको चिन्ता पनि थियो।
परिवारको लगानी, समर्पण र चाहनाले चिकित्सा क्षेत्रतिर जान घच्घच्याइरहेको थियो। राजनीतिक चेतनाले भने अर्कै बाटो खोजिरहेको थियो।
उच्च शिक्षा अध्ययनकै क्रममा उनी अनेरास्ववियु काठमाडौंको भूगोल जिल्ला कमिटीसँग जोडिए।
यति हुँदाहुँदै पारिवारिक इच्छाका कारण उनको अनेरास्ववियु यात्रामा अल्पविराम लाग्यो। चिकित्सा शिक्षा अध्ययनका लागि उनले प्रवेश परीक्षाको तयारी गर्नुपर्ने भयो।
२०६७/६८ सालतिर उनले एमबिबिएसको प्रवेश परीक्षा दिए।
'राम्रै प्राप्तांकसहित मैले एमबिबिएसमा नाम निकालेँ। नेपालभरिबाट एमबिबिएसका लागि जाँच दिएर पास भएकामध्ये म एघारौं स्थानमा थिएँ। मेरा लागि त्यो उत्साहजनक परिणाम थियो। र, चिकित्सा शिक्षातिर बाटो देखाउने फराकिलो ढोका पनि,' उनले भने।
त्यसपछि सुजनको यात्रा चिकित्सा शिक्षातर्फ मोडियो। उनी काठमाडौं विश्वविद्यालयमा एमबिबिएस अध्ययन गर्न थाले।
त्यस अवधिमा पनि उनले आफ्नो राजनीतिक चेतनाको चिराग निभ्न भने दिएका थिएनन्।
'एमबिबिएस अध्ययनताक मैले संगठनमा त्यति ध्यान दिन पाइनँ। कमिटीको जिम्मेवारीबाट पनि टाढिइसकेको थिएँ। २०७१ सालसम्म आइपुग्दा अब राजनीतिमा फर्किन्छु कि फर्किन्न भन्ने एक किसिमको अन्यौल नै थियो,' उनले सुनाए।
२०७२ वैशाख १२ गते गोरखाको बारपाकलाई केन्द्रविन्दु बनाएर ठूलो भुइँचालो गयो। १४ जिल्लामा त्यसले अफरातफरी मच्यायो। ९ हजार नागरिकको हताहती भयो। २२ हजार जना घाइते भए। १० लाखभन्दा बढी घरमा क्षति पुग्यो।
'२०७२ को भूकम्पको त्रासदी हाम्रो स्मृतिबाट ओझेल परिसकेको छैन। भूकम्पले लगाएको घाउमा मह्लमपट्टि गर्न अनेरास्ववियुले स्वयंसेवी अभियान चलाएको थियो। राहत, पुनर्निर्माणमा आफ्नो सक्रियता देखाएको थियो। मेडिकल टोलीका रूपमा हामी ठाउँठाउँ पुग्यौं। मानिसहरूलाई त्रासदीबाट बाहिर ल्याउन सहयोगीको भूमिका खेल्यौं,' उनले भने।
यही स्वयंसेवी अभियान उनलाई अनेरास्ववियुसँग पुनः जोड्ने सेतु बन्यो।
भूकम्पको पीडा मत्थर भएपछि उनले काठमाडौं विश्वविद्यालय फर्किएर काठमाडौं विश्वविद्यालयमा अनेरास्ववियुको इकाई गठन गरे।
२०७६ सालमा एमबिबिएस अध्ययनरत विद्यार्थीहरूबाट चिकित्सा शिक्षा सुधारको ठूलो आन्दोलन शंखघोष भयो। चितवन मेडिकल कलेजमा अध्ययनरत प्रकाश चन्द, मान्यता थापा र काठमाडौं विश्वविद्यालय मेडिकल कलेजका सुजन कडरिया, नरेश भट्टहरूको समवेत आवाज थियो, त्यो।
'त्यति बेला हामीले आन्दोलनलाई पार्टीगत रूप दिएनौं। चिकित्सा शिक्षा संघर्ष समिति भन्यौं। र, अविराम आन्दोलनको शंखघोष गर्यौं,' उनले भने, 'त्यो आन्दोलनको संयोजक मण्डलको सदस्य र प्रवक्ताको जिम्मेवारी मैले लिएको थिएँ। चिकित्सा शिक्षामा एकरूपता ल्याउने हेतुले चिकित्सा शिक्षा आयोग बन्यो। शुल्कमा देखिएको अन्तर लगायत बेथिति धेरै हदसम्म निराकरण भयो।'
चिकित्सा शिक्षा सुधारको आन्दोलन उत्कर्षतिर अभिमुख हुँदै गर्दा काठमाडौं विश्वविद्यालयमा चिकित्सा शिक्षा अध्ययन गर्नेहरूको साझा संस्था 'मेडिकल स्टुडेन्ट वेलफेयर काउन्सिल' गठन भयो। त्यसका संस्थापक अध्यक्ष डा. सुजन कडरिया नै भए। अहिले यो संस्था छैठौं कार्यकालमा दौडिरहेको छ।
यो संस्था राजनीतिक चिन्तनधाराबाट त्यति प्रभावित छैन। विद्यार्थीहरूले स्वःस्फूर्त रूपमा आफ्ना हकहित र अधिकारको पैरवी गरिरहेका छन्।
ठिक त्यति नै बेला अनेरास्ववियु पनि महासंघीय ढाँचामा जाँदै थियो। विभिन्न विश्वविद्यालयको राष्ट्रिय कमिटी बनाउने र अनेरास्ववियुलाई छाता संस्था बनाउने उपक्रम चलिरहेको थियो।
त्यही क्रममा डा. कडरियासहितको समूहले राष्ट्रिय चिकित्सा विद्यार्थी संघ गठन गरे। अनेरास्ववियुले त्यो कमिटीलाई पनि राष्ट्रिय कमिटी सरहको मान्यता दियो। कडरिया त्यसका पनि संस्थापक अध्यक्ष बने।
चिकित्सा शिक्षा राष्ट्रिय कमिटीका अध्यक्ष स्वतः केन्द्रीय सदस्य हुने अभ्यास थियो। त्यही बाटो भएर उनी संगठनमा पुनः गाँसिए।
अनेरास्ववियुमा उनको यो दोस्रो 'इनिङ' थियो।
२०७५ जेठ ३ गते नेकपा एमाले र माओवादी केन्द्रबीच एकता भएर नेकपा बन्यो। यसका भ्रातृ संगठनहरू पनि आपसमा एकीकृत भए।
२०७७ पुस ५ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि नेकपाभित्रको राजनीतिक परिदृश्य बदलियो। पार्टीभित्र नेतृत्वको ध्रुवीकरणदेखि नेकपा विघटन र एमाले विभाजनसम्मको राजनीतिक घटनाक्रमको लामो सिलसिला चल्यो।
यही सिलसिलाका कारण डा. सुजन कडरियालाई केही राजनीतिक लाभसमेत भयो। उनले सांगठनिक पदोन्नति हुने अवसर पाए।
नेकपा विघटन भएर एमाले र माओवादी केन्द्र पूर्ववत् पार्टीमा फर्किएपछि उनी अनेरास्ववियुको सचिवालय सदस्य भए।
'त्यति बेलासम्म मैले अनेरास्ववियुको अध्यक्ष बन्ने सपना देखिसकेको थिइनँ। अनेरास्ववियुजस्तो विरासत बोकेको संस्थाको सदस्य बन्नु नै दुरूह थियो। अध्यक्ष त निकै टाढाको गन्तव्य थियो,' उनी अहिले सम्झन्छन्।
सचिवालय सदस्य बनेपछि उनको सांगठनिक यात्रा परिपक्व बन्दै गयो। खारिँदै पनि गयो। उनी शैक्षिक, राजनीतिक र सामाजिक मुद्दाहरूमा प्रखर बन्दै गए। स्वयंसेवी अभियानलाई अझ बढी फिँजार्दै गए। उनको सांगठनिक क्षितिज अझ उदात्त र चौडा बन्यो। तर संगठनको अध्यक्ष नै बन्छु भन्ने सपना उनले देखिसकेका थिएनन्।
२०७९ फागुनमा अनेरास्ववियुको २३औं राष्ट्रिय महाधिवेशन भएको थियो। अध्यक्ष यात्राको परीक्षण स्वरूप उनले सचिवमा उम्मेदवारी दिए।
पुरूष सचिवतर्फ उनले अधिक (६१७) मत प्राप्त गरे। त्यो महाधिवेशनमा सचिवतर्फ १० जना निर्वाचित भएका थिए। अध्यक्षमा समिक बडाल र महासचिवमा नरेश रोकाया निर्वाचित भएका थिए।
'सचिवमा पुरूषतर्फ सबभन्दा बढी मत ल्याएर निर्वाचित भएपछि मैले अध्यक्ष बन्ने सपना देख्न थालेँ। किनभने छोटो अवधिमै मैले सचिवसम्मको यात्रा तय गरिसकेको थिएँ,' उनले भने, 'अब अध्यक्षको दुरी त्यति टाढा थिएन।'
सचिवका रूपमा निर्वाचित भएपछि उनको कार्यक्षेत्र बागमती नै तोकिएको थियो। उनी बागमती प्रदेशका इन्चार्ज पनि थिए।
इन्चार्जका रूपमा मातहतको पार्टी कमिटी चलायमान बनाउनुका अतिरिक्त आवधिक अधिवेशनमार्फत कमिटीहरूलाई स्वस्थ र तन्दुरूस्त राखेको उनको भनाइ छ।

'मैले आफूले पाएको जिम्मेवारीलाई सामाजिक उत्तरदायित्व अभियानसँग जोड्दै लगेको थिएँ। गत वर्ष रोशी बाढी प्रभावितहरूको आलो घाउमा मह्लमपट्टि गर्न म विपत्तिको भोलिपल्टै पुगेको थिएँ। अझ उल्लेखनीय कुरा त जाजरकोटको भूकम्पको त्रासदी मत्थर तुल्याउन म सरकारभन्दा अगाडि त्यहाँ पुगेको थिएँ। प्रभावित क्षेत्रको कोलाहल, चित्कार चिर्दै मेडिकल अधिकृतले गर्न सक्ने सेवा–सहयोग गरेँ,' उनले भने, 'समाजका यस्ता विपत्ति र त्रासदीसँग आफूलाई परिचित गराउँदै लगेकाले मेरो राजनीतिक पाइला पनि प्रभावकारी र बलियो बन्दै गयो।'
समाजको पीडा र दर्दसँग एकाकार नभई, त्यहाँको मनोदशा नबुझी, सामाजिक चेतनाको नाडी नछामी राजनीतिमा पाइला चाल्दा त्यति प्रभावकारी नहुने ठानेर नै समाजको विपत्तिमा आफूलाई उपस्थित गराएको उनले बताए।
त्यही सिलसिलामा बाजुराको कोल्टी अस्पतालमा बेतलबी चिकित्सकका रूपमा काम गरेको उनको अनुभव छ।
'राजनीतिक सिद्धान्तको ठेली पढेर मात्र हुँदैन, त्यसलाई व्यहारमा उतार्ने आदर्श व्यक्ति पनि बन्नुपर्छ। समाजले आदर्श मान्न नसक्ने व्यक्ति राजनीतिमा त्यति सफल हुँदैन,' उनले भने।
यही क्रियाशीलताले सुजनलाई आज अनेरास्ववियुको अध्यक्ष बनायो। गत जेठ ३० गते भएको अनेरास्ववियुको २४औं राष्ट्रिय महाधिवेशनमा उनी अध्यक्ष निर्वाचित भए। अनेरास्ववियुले यही महाधिवेशनबाट सुरू गरेको ३२ वर्षे उमेरहद उनको जीवनको महत्त्वपूर्ण घुम्ती बन्यो।
प्रतिस्पर्धात्मक देखिएको अनेरास्ववियु महाधिवेशनमा डा. कडरियाले अध्यक्षका प्रत्यासी प्रकाश पौडेललाई सात मतले पाखा लगाएका थिए।
योसँगै डा. कडरिया चिकित्सकीय उपकरण 'स्टेथेस्कोप' बोकेर अनेरास्ववियुको नेतृत्वमा आइपुगेका छन्।
उनले अनेरास्ववियुमा दुइटा रेकर्ड बनाएका छन् —
पहिलो, २०२२ जेठ १ गते स्थापना भएको अनेरास्ववियुमा चिकित्सा फाँटबाट कोही पनि अध्यक्ष भएका थिएनन्। त्यो नाम कडरियाले लेखाएका छन्।
दोस्रो, अनेरास्ववियुको नेतृत्वमा त्रिभुवन विश्वविद्यालय अध्ययन गरेकाहरूको वर्चस्व रहँदै आएको थियो। एमाले सचेतक सुनीता बराल अध्यक्ष हुँदा त्यसमा केही समय रोकावट आयो। उनी पूर्वाञ्चल विश्वविद्यालयको उत्पादन थिइन्। तर समिककुमार बडाल अध्यक्ष भएसँगै पुनः त्रिविकै विद्यार्थीहरूमा फर्किएको नेतृत्व पहिलोपटक काठमाडौं विश्वविद्यालयमा अध्ययन गरेकाको हातमा पुगेको छ।
चिकित्सा पेसा सामाजिक सेवाको महत्त्वपूर्ण विधा हो। चिकित्सा पेसाबाटै समाज परिवर्तनको अंग बन्न नसकिने होइन। हामीकहाँ यस्ता उदाहरण पनि छन्। तर डा. कडरियाले चिकित्सा र राजनीतिलाई समान वेगमा र समान उचाइमा पुर्याउने सपना देखेका छन्।
उनी अहिले क्लिनिकल साइकोलोजीमा स्नातकोत्तर तह पूरा गर्दैछन्। त्यसपछि उनको चिकित्सा अध्ययनले अर्को उचाइ भेट्टाउने छ।
पञ्चायतविरूद्धको संघर्षमा झाँगिएको विद्यार्थी आन्दोलन भूमिगत कालखण्डमा राजनीतिक दलहरूको विचारको संवाहक थियो। विद्यार्थी र आमनागरिकबीच दलहरूको विचार र दृष्टिकोण पुर्याउने माध्यम पनि थियो।
२०४६ को राजनीतिक परिवर्तनपछि पनि व्यवस्थाको सम्बर्द्धन र रक्षा निम्ति अग्रभागमा देखिएको विद्यार्थी आन्दोलनको कार्यभार परिवर्तित सन्दर्भमा बदलिएको छ। अहिले विद्यार्थी आन्दोलनको उपादेयता क्षीण बन्दै गएको टिप्पणी हुने गरेको छ। कतिपय दल र नेताहरूले विश्वविद्यालयहरूबाट विद्यार्थी संगठनका साइनबोर्ड हटाउनुपर्ने र भ्रातृ संघ–संगठन पनि खारेज गर्नुपर्ने तर्क गरिरहेका छन्।
उपकुलपति, रेक्टर, रजिस्टार, डिन कार्यालय, क्याम्पस प्रमुखहरूको कार्यकक्षमा दिनहुँजसो झुन्डिइरहने ताल्चाले विश्वविद्यालयको अनुहार जीर्ण बनिरहेको छ। दलीय भ्रातृ संगठन चाहिँदैन भन्नेहरूको तर्कलाई सान्दर्भिक तुल्याइरहेको छ। प्राध्यापकलाई मरणासन्न हुने गरी कुटपिट र संगठन–संगठन बीचको झैझगडाले नेता विद्यार्थीहरूको छवि कुरूप बन्दै गएको छ।
कतिपय सन्दर्भ र परिस्थितिमा विद्यार्थी संगठन राजनीतिक दल र तिनको नेतृत्वको अकर्मण्यताको रक्षाकवच पनि विद्यार्थी संगठन बन्ने गरेका छन्। आलोचनात्मक चेत राख्नुपर्ने विद्यार्थी संगठन सत्ताको बचाउ र प्रतिरक्षामा समेत ओर्लिने गरेका छन्।
यो परिचय बदल्नुपर्ने चुनौती कडरियाको काँधमा छ।
उनले केही सुरूआत पनि गरेका छन्। गत असार १४ र १५ गते धुलिखेलमा बसेको पहिलो सचिवालय बैठकले अनेरास्ववियुलाई शैक्षिक बन्द–हड्ताल, तालाबन्दी र शिक्षण संस्थामा हुने अराजक र गैरप्राज्ञिक गतिविधिबाट टाढा राख्ने निर्णय गरेको छ।
योसँगै संगठनको नीति, योजना तथा अनुसन्धान आयोगले 'पोलिसी इन्टर्न' गराउँदै शिक्षा क्षेत्रमा नयाँ नीति निर्माणको बहस चलाउने नूतन अवधारणा अघि सारेको छ।
अध्यक्ष डा. कडरियाले अनेरास्ववियुलाई पढालेखा 'फर्स्टबेन्चर' हरूको संगठन बनाउने संकल्प लिएका छन्। विषयमा जानकार र विज्ञहरूले संगठनमा स्थान पाउने, उनीहरूको ज्ञान, सीपलाई संगठनको बृहत्तर हितमा उपयोग गर्न सक्ने अवस्था बनाउने अठोट पनि लिएका छन्।
अनेरास्ववियुको २४औं राष्ट्रिय महाधिवेशनबाट तीन जना चिकित्सक र १३ जना इन्जिनियर केन्द्रीय कमिटीमा आएका छन्। यसलाई उनले सुखद् संकेतका रूपमा लिएका छन्।

'परिवर्तित चेतनासँग हामीले विद्यार्थी संठनलाई अद्यावधिक गर्न सकेका छैनौं। विद्यार्थी आन्दोलन भन्नेबित्तिकै सडक आन्दोलन बुझेका छौं। पेट्रोलको भाउ बढ्यो, खै त विद्यार्थी सडकमा निस्किएको भन्न छाडेका छैनौं,' उनले विद्यार्थी आन्दोलनमा बदलिएको भूमिकाबारे बुझाउँदै भने, 'त्यस कारण हामी विद्यार्थी आन्दोलनको भूमिका बदल्न चाहन्छौं। यावत् शैक्षिक मुद्दामा हाम्रो उपस्थिति र क्रियाशीलतालाई रचनात्मक ढंगले बढाउन चाहन्छौं।'
अहिले विद्यालय शिक्षा विधेयक छलफलको अन्तिम चरणमा छ। पारित हुने प्रक्रियामा पनि छ। निजी र सामुदायिक शिक्षाबीचको खाडलबारे त्यहाँ पनि चर्चा भयो। डा. कडरियाले परिकल्पना गरेको हस्तक्षेपबारे संसदीय समिति निष्कर्षमा पुगेको छैन। यद्यपि यसबीच उनीहरूले आफ्नै पार्टीको शिक्षामन्त्री रघुजी पन्तलाई भेटेर ध्यानाकर्षण भने गराएका छन्।
उनले उठाउँदै आएको दुईथरी शिक्षाको अन्त्यसहित यावत् शैक्षिक मुद्दाको प्रकटीकरण र समाधान अब अनेरास्ववियु र डा. कडरियाले हिँड्ने बाटोले तय गर्छ।
सबैले बुझिआएकै कुरा हो, विद्यार्थी आन्दोलन जीर्ण र रोगी बन्दै गइरहेको छ। यसको उपचार गर्ने, हृष्टपुष्ट र तन्दुरूस्त तुल्याउने राजनीतिक अभिभारा अब मेडिकल डाक्टर सुजन कडरियाको थाप्लोमा आएको छ।
यसमा उनी कत्तिको खरो रूपमा प्रस्तुत हुन्छन्, यसैले उनको राजनीतिक भविष्य तय गर्नेछ।
***