अष्ट्रेलिया र इंल्याण्ड क्रिकेट दुनियाँमा चिरप्रतिद्वन्द्वी देश हुन्।
दुई कट्टर प्रतिद्वद्वी जब एशेज सिरीजमा आमने-सामने हुन्छन् तब खेल जित्नेभन्दा पनि इज्जत दाउमा लगाउने गर्छन्।
सिड्नीको ओवल मैदानमा महिलाको एशेज सिरीज अन्तर्गत चार दिने टेस्ट म्याचमा शनिबार अस्ट्रेलियाले आफ्नो पहिलो ब्याटिङ गरिरहेको थियो।
ब्याट्उमन एलिस पेरी १९३ रन बनाउँदै स्ट्राइकमा थिइन्। अर्थात दोहोरो सतक बनाउँदै इतिहास रच्न मात्र ७ रनले पछि थिइन्। टिमको आठौं विकेट गुमिसकेको थियो।
लगत्तै टिमको नवौ विकेट गुम्यो। एक क्षणका लागि सबैको दिलको धडकल रोकियो। पेरीले यही ख्लमा आफ्नो पहिलो सतक पुरा गरेकी थिइन्। के उनले दोहोरो सतक बनाउँछिन् या बनाउँदैनन् सबैको ध्यान उनैमा केन्द्रित थियो।
पेरीले अघिल्लो ओभरमा १ रन लिँदै १९४ रन बनाइन्। अब उनी दोहोरो सतकबाट मात्र एक छक्काले पछि थिइन्। लगत्तै आएको बललाई उनले हावामा उडाइदिइन्। बलले बाउन्ड्री लाइन पार गर्यो। सबैको नजर बलमै थियो। सबैले सोचे ६ रन ल्याउँदै उनले इतिहास रचिन्।
मैदानमा हुटिङ हुन थाल्यो। पेरी खुशीमा रमाउने तयारीमा थिइन्। तर रेफ्रिले दोस्रो पटक बलको जाँच गर्दै चौका मात्र दिए। उनको खातामा १९८ रन भयो। दोहोरो सतकबाट २ रनले पछि रहेकी उनले अर्को बलमा १ रन लिँदै १९९ रन बनाइन्।
अघिल्लो ओभरमा स्ट्राइक उनकै थियो। दोहोरो सतक बनाउने र अन्तिम विकेटलाई बचाउने जिम्मा उनैमा थियो। उनलाई दबाब बढ्दै गयो।
शुरुआती दुई बलमा उनले कुनै रन लिइनन्। तेस्रो बलमा सानदार चौका प्रहार गर्दै दोहोरो सतक बनाउने पहिलो महिला खेलाडीसमेत बनिन्।
यही ओभरमा उनले थप एक चौका र एक छक्का समेत हिर्काइन्। यसकै साथ अष्ट्रेलियाले आफ्नो इनिङ ४४८/९ मा डिक्लियर गरेको घोषणा गर्यो।
पेरीले नटआउट २१३ रन बनाइन्। आफ्नो सातौं टेस्ट खेलिरहेकी २७ वर्षीय अष्ट्रेलियन सुन्दरीले ३७४ बलको सामना गर्दै २७ चौका र १ छक्का प्रहार गरिन्।
अलराउण्ड प्रदर्शन गर्ने पेरीले बलिङमा पनि आफ्नो कौशल देखाएकी छन्। २१ ओभर बलिङ गर्दै उनले ३ विकेटसमेत लिएकी छन्।
यही खेलमा इंग्ल्याडले आफ्नो पारीमा २८० रन बनाउँदै अल आउट भएको थियो।
मध्यम तिब्र गतिकी बलर पेरीले टेस्ट म्याचमा १६.११ औषतले २७ विकेट लिइसकेकी छन्। ९४ वानडे खेलिसकेकी उनले १२६ विकेट लिएकी छन्। पेरीले ८२ टि-२० म्याच खेल्दै ७७ विकेट लिइसकेकी छन्।
सन् २०१३ मा महिला विश्वकप क्रिकेटमा सानदार बलिङ गर्दै उपाधिसमेत दिलाएकी थिइन्।
क्रिकेट मात्र नभएर पेरी अस्ट्रेलियन महिला फुटबलकी एक महत्वपूर्ण सदस्यसमेत हुन्। उनले महिला विश्वकप फुटबलमा अष्ट्रेलियालाई पुर्याउन महत्वपूर्ण योगदान दिएकी छन्।
सन् २०११ को महिला विश्वकप फुटबलको क्वार्टरफाइनलमा अष्ट्रेलियाले स्वीडेनलाई ३-१ले रहाउँदा पेरी सेन्ट्रल डिफेन्डर भए पनि एक गोल गरेकी थिइन्।
अब उनी फुटबल छोडेर क्रिकेटमै रमाउने भएकी छन्। एकसाथ दुई खेलमा समय दिन गाह्रो भएको भन्दै उनले अब क्रिकेटमै राम्रो गर्ने बताएकी छन्।
यति मात्र नभएर युवालाई खेलप्रति प्रेरित गर्न विभिन्न पत्रपत्रिकामा लेखसमेत लेखेकी छन्।
१६ वर्षको उमेरमा अष्ट्रेलियन क्रिकेटमा डेब्यू गरेकी पेरी अष्ट्रेलियाको महिला/पुरूष मध्ये सबैभन्दा कम उमेरमा राष्ट्रिय टिमको प्रतिनिधित्व गर्ने खेलाडीसमेत हुन्। उनले अष्ट्रेलियालाई ३ पटक टि-२० च्याम्पियन बनाउन सहयोग गरिन्। सन् २०१५ को एसेज सिरिजकी प्लेयर अफ दि सिरिजसमेत बनिन्।
आफ्नो पहिलो दोहोरो सतक बनाएपछि अत्यन्तै खुसी भएकी पेरीले भनिन्,‘ जब मैले बाउन्ड्री प्रहार गरेँ। दर्शकहरू हुटिङ गर्न थाले। मलाई लागेको थियोकि सायद छक्का भयो होला। म खुसीले नाच्न लागेको थिएँ तर रेफ्रीले त्यसलाई चौका दिए। त्यो एकदम अनौठो पल थियो,’ उनले भनिन्,‘ब्याटिङ गर्न मेरा लागि आजको दिन एकदम महत्वपूर्ण थियो। महिला क्रिकेटको लागि पनि यो एउटा ठूलो उपलब्धी हो।’