युएईमा जारी वेस्ट इन्डिजविरूद्धको टी-२० सिरिजको अन्तिम खेलमा नेपालले सुरूमा ब्याटिङ गर्ने भएको छ।
शारजाह रंगशालामा जारी खेलमा वेस्ट इन्डिजले टस जितेर पहिले फिल्डिङ गर्न लागेको हो। यो खेलमा दीपेन्द्रसिंह ऐरी, आशिफ शेख र ललित राजवंशी प्लेइङ ११ मा छैनन्। उनीहरूको ठाउँमा लोकेश बम, आरिफ शेख र शहाब आलमले खेल्नेछन्।
नेपालले तीन खेलमध्ये दुईवटा जितेर सिरिज हात पारिसकेको छ। आइसिसीको पूर्ण सदस्य रहेको वेस्ट इन्डिजसँग सोमबार नेपाल ९० रनले विजयी भएको थियो।
उक्त खेलमा नेपालले ६ विकेट गुमाएर १७४ रनको लक्ष्य प्रस्तुत गरेको थियो। उक्त लक्ष्य पछ्याउने क्रममा वेस्ट इन्डिजले १७.१ ओभरमा १० वटै विकेट गुमाउँदै ८३ रन मात्र बनायो।
त्यसअघि शनिबार भएको खेलमा पनि नेपालले वेस्ट इन्डिजलाई १९ रनले पराजित गरेको थियो।
वेस्ट इन्डिज दुई पटक टी-२० विश्वकप विजेता रहिसकेको राष्ट्र हो।
आज हुने अन्तिम खेलपछि नेपालको टोली विश्वकप छनौट खेल्न ओमान जानेछ। त्यहाँ सुरूमा नेपालले समूह चरणमा कुवेत र जापानसँग खेल्नेछ। यो समूहबाट शीर्ष दुईमा परे सुपर-६ मा पुग्नेछ।
सुपर-६ मा खेल्ने ६ टोलीमध्ये शीर्ष ३ मा पर्न सके नेपालले अर्को वर्ष भारत र श्रीलंकामा हुने टी-२० विश्वकपमा स्थान बनाउनेछ।
ओमानमा तीन समूहमा नौ टोलीबीच प्रतिस्पर्धा हुनेछ। अरू समूहमा मलेसिया, कतार र युएई तथा ओमान, पिएनजी सामोआ छन्।
तीन समूहका शीर्ष २-२ टोली गरी सुपर-६ मा पुग्ने कुल ६ टोलीमध्ये शीर्ष ३ टोली भए नेपाल लगातार दोस्रो पटक र समग्रमा तेस्रो पटक टी-२० विश्वकपमा छनोट हुनेछ।