वेस्ट इन्डिजविरूद्धको युनिटी कप जितिसकेपछि नेपाल क्रिकेट संघ (क्यान) ले बलर सन्दीप लामिछानेले यो प्रतियोगिता नखेलेकोबारे धारणा सार्वजनिक गरेको छ।
तीन वटा खेलमा नेपालले दुई वटा लगातार जितेर उपाधि हात पारिसकेको छ। यसबीच सन्दीप लामिछाने किन खेलेनन् वा खेलाइएनन् भन्नेबारे विभिन्न टिकाटिप्पणी भइरहेका थिए।
सिरिज सकिएको भोलिपल्ट बुधबार क्यानका सचिव पारस खड्काले एक विज्ञप्ति जारी गर्दै लामिछानेले खेल सुरू हुनु ४५ मिनेटअघि नखेल्ने बताएको हुँदा अरू दुई खेलमा निलम्बन गरेको जानकारी दिएका छन्।
'नेपाल र वेस्ट इन्डिजको राष्ट्रिय क्रिकेट टोलीबीच सेप्टम्बर २७ तारिखका दिन सञ्चालन गरिएको टी-२० सिरिज प्रतियोगिताको पहिलो खेल सुरू हुनुभन्दा ४५ मिनेटअघि सन्दीप लामिछाने स्वयंले उक्त म्याच नखेल्ने निर्णय गरे,' विज्ञप्तिमा भनिएको छ, 'उक्त निर्णयले टिम म्यानेजमेन्ट, खेलाडी तथा समग्र नेपाली क्रिकेटमै गम्भीर असर पर्न गएको हुँदा बाँकी दुई खेल तथा नेपाल र वेस्ट इन्डिजबीचको टी-२० सिरिज प्रतियोगिता अवधिभरका लागि निजलाई निलम्बन गरिएको व्यहोरा जानकारी गराउन चाहन्छु।'
लामिछानेले खेल हुनुभन्दा ४५ मिनेट अगाडि आएर किन नखेल्ने भनेका थिए भन्नेबारे विज्ञप्तिमा खुलाइएको छैन।
अब नेपाली टोली उनीसहित ओमानमा जाँदैछ। अक्टोबर ८ देखि १७ सम्म ओमानमा आइसिसी पुरूष टी-२० विश्वकप छनौट हुनेछ।
ओमानमा सुरूमा नेपालले समूह चरणमा कुवेत र जापानसँग खेल्नेछ। यो समूहबाट शीर्ष दुईमा परे सुपर-६ मा पुग्नेछ। सुपर-६ मा खेल्ने ६ टोलीमध्ये शीर्ष ३ मा पर्न सके नेपालले अर्को वर्ष भारत र श्रीलंकामा हुने टी-२० विश्वकपमा स्थान बनाउनेछ।
नेपाली टोलीमा रोहित कुमार पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी (उपकप्तान), कुशल भुर्तेल, लोकेस बम, कुशल मल्ल, आसिफ सेख, आदिल अन्सारी, करण केसी, नन्दन यादव, सन्दीप लामिछाने, सन्दीप जोरा, आरिफ सेख, ललितनारायण राजवंशी, गुलशन झा, सोमपाल कामी र साहब आलम छन्।
