सल्यानमा आगलागीबाट आमा-छोरीको मृत्यु भएको छ।
त्रिवेणी गाउँपालिका–२ धार ढुंगाकी अन्दाजी ३२ वर्षीया रेवती थापा र ९ महिने छोरी ऋतु थापाको आगलागीबाट मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता प्रहरी निरीक्षक गोपाल श्रेष्ठले सेतोपाटीलाई बताए।
रेबतीका श्रीमान रोजगारीको सिलसिलामा विदेशमा रहेको हुँदा आमा छोरी मात्रै घरमा बस्दै आएका थिए। घटनाबारे प्रहरीलाई स्थानीयले बिहान साढे ७ बजे खबर गरेपछि प्रहरी पुगेको प्रहरी निरीक्षक श्रेष्ठले जानकारी दिए।
आमा छोरीको घर भित्रै जलनबाट मृत्यु भएको अवस्थामा शव फेला परेको उनले बताए।
‘शुक्रबार राति सुतेको समयमा आगलागी भएको वा बिहान मात्रै आगलागी भएको हो त्यो खुलिसकेको छैन,’ प्रवक्ता श्रेष्ठले भने, ‘घरमा कसरी आगलागी भयो भन्नेबारे अनुसन्धान हुन बाँकी छ।’
घटनास्थलमा जिल्ला प्रहरी प्रमुखसहित प्रहरी टोली अनुसन्धानका लागि पुगेको श्रेष्ठले बताए।