नेपाल प्रहरीको साइबर ब्युरोले कानूनी झमेलाबाट जोगिन सामाजिक सञ्जाल र आर्टिफिसियल इन्टिलिजेन्सको प्रयोग सोच विचार गरी चलाउन अनुरोध गरेको छ।
मंगलबार ब्युरो प्रवक्ता एवं एसपी दिपकराज अवस्थीले एक विज्ञप्ति जारी गर्दै एआईको प्रयोग गर्दा सोच विचार गर्न अनुरोध गरेको हो।
एआईको प्रयोग गरी चरित्र हत्या, अश्लिल तथा आपत्तिजनक सामग्री सिर्जना गर्ने, दिग्भ्रमित बनाउने तथा गलत शब्द चयन गरी संगितको सिर्जना गरेकोमा ब्युरोको ध्यानाकर्षण भएको जनाएको छ।
यस प्रकारका गतिविधिले मानिसको सामाजिक प्रतिष्ठामा गम्भीर असर पर्ने उल्लेख गरेको छ।
‘यस प्रकारका गतिविधिहरूले व्यक्ति विशेषको सामाजिक प्रतिष्ठामा गम्भीर असर पार्ने मात्र नभई विद्यमान साइबर कानून अनुसार अपराध समेत हुने भएकोले कानूनी झमेलामा नपर्न यस्ता प्रविधिको प्रयोग सोच विचार गरी अरूको सम्मानमा आँच नपुऱ्याउने गरी सकारात्मक प्रयोग गर्नु हुन सबैलाई साइबर ब्यूरो अनुरोध गर्दछ,’ विज्ञप्तिमा भनिएको छ।
