२५ करोड बराबरको विदेशी मुद्रा बरामद भएको घटनामा मुद्दा दर्ता भएको छ। २५ करोडका मालिकलाई पक्राउ नगरी मुद्दा दर्ता भएको हो।
राजश्व अनुसन्धान विभागले काठमाडौं जिल्ला अदालतमा मंगलबार मुद्दा दर्ता गरेको हो।
दुई जनालाई प्रतिवादी बनाएर मुद्दा दर्ता भएको अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठले जानकारी दिए।
पक्राउ परेका कुसाङ लामा र फरार रहेका नारायण पौडेललाई प्रतिवादी बनाएर मुद्दा दर्ता भएको हो। कुसाङ भरिया हुन् भने नारायण २५ करोडका मालिक हुन्। उनी पक्राउ नपरेपछि विभागले मुद्दा दर्ता गरेको हो। विदेशी विनिमय (नियमित गर्ने) ऐन २०१९ अन्तर्गत मुद्दा दायर भएको हो।
विभागले २५ करोड ३४ लाख ७८ हजार ८४२ रुपैयाँ बराबरको बिगो कायम गरेको छ।
कुसाङ यसअघि पनि सुन तस्करीमा पक्राउ परेको र पाँच वर्षभित्रै अर्को कसुर गरेको भन्दै थप सजायको माग गरेको विभागका उपमहानिर्देशक तथा प्रवक्ता कृष्णकुमारी श्रेष्ठले जानकारी दिइन्।
विभागले बरामद गरेको १३ लाख ७५ हजार १५० युरो र ३ लाख २० हजार ८५० अमेरिकी डलर जफत गर्न पनि माग गरेको छ।
त्यस्तै, घटनामा प्रयोग भएको ना ७ ख १६५२ नम्बरको कन्टेनर पनि जफत गर्न माग भएको छ।
नारायण पौडेलको हकमा अदालतबाट म्याद जारी गर्न पनि विभागले मागदाबी गरेको हो।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले चैत ४ गते काठमाडौंको टोखा नगरपालिका-२ झोरबाट उक्त ट्रक नियन्त्रणमा लिएको थियो।
चालक कुसाङसहितलाई नियन्त्रणमा लिएर आएर कार्यालयमा थप सर्च गरेको थियो। विशेष सूचनाको आधारमा कार्यालयका डिएसपी अनिल घिमिरेको टोली खटिएको थियो।
उक्त टोलीले जाँच गर्दा ट्रकभित्र २५ करोड बराबरको विदेशी मुद्रा बरामद भएको थियो।
यो पनिः