महिनावारीका कुरा श्रृंखलाको यो अंकमा हामीले कलाकार वर्षा राउतसँग कुराकानी गरेका छौं। महिनावारी हुँदा आफ्नो घर, समाज र कार्यक्षेत्रका अनुभवबारे सेतोपाटीका अनुषा अधिकारीले वर्षासँग गरेको कुराकानीको सम्पादित अंशः
मेरो पहिलो महिनावारी मेरा अरू साथीहरू भन्दा ढिलो भएको थियो। त्यतिबेला म कक्षा सातमा पढ्थेँ।
सुरूमा कक्षाका लगभग सबै केटी साथीलाई महिनावारी भइसक्दा आफूलाई भने किन नभएको होला भनेर मनमा खुल्दुली हुन्थ्यो। साथीहरूको महिनावारी अनुभव सुन्दै रमाइलो लाग्थ्यो। त्यसैले म पनि आफ्नो पालो कुरेर बसेकी थिएँ।
वैशाखको दोस्रो हप्तातिर थियो, मलाई अचानक आफ्नो शरीरमा अनौठो महशुस भयो। म महिनावारी भएको होस् भनेर सोचिरहेकी थिएँ, नभन्दै भएछु। खै किन हो म निकै उत्साहित थिएँ, मनमा अलिअलि डर पनि लागेको थियो।
महिनावारी हुने बित्तिकै मैले आफ्नी मिल्ने साथीलाई सुनाउन उसको घर गएँ। साथीकी आमाले म महिनावारी भएको थाहा पाएपछि त्यहीँ सात दिनसम्म लुकेर बस्नुपर्छ भन्नुभयो। मेरो साथीको पहिलो महिनावारी हुँदा उसलाई पनि मेरो घरमा लुकाउन ल्याइएको थियो।
सुरूका केही दिन स्कुल जान र गृहकार्य गर्न नपर्दा, घरमा आनन्दले बसेर टिभी हेर्न पाउँदा एकदमै खुसी लागेको थियो। तर त्यो खुसी बिस्तारै हराउँदै गयो। घरका सबैजना काममा जाँदा म एक्लै हुन्थेँ। एक्कासि लामो समय कोठामा थुनिएर बसेकाले दिमागमा धेरै कुरा खेल्थे।
यता शरीरबाट रगत बगेर गाह्रो भएको बेला आफ्नै बुबा र भाइलाई हेर्न नपाउँदा नरमाइलो लाग्थ्यो। तर मेरो भाइ मलाई आइसक्रिम लिएर भेट्न आउँथ्यो। बुबालाई पनि आफ्नो कोठाको झ्यालबाट देखिरहेकी हुन्थेँ।
त्यसपछिका अरू महिनावारी बेला पनि आमाले मलाई चार दिन बार्न लगाउनुभयो। आमा आफूले भने महिनावारी बार्नु हुन्थेन। महिनावारीमा पनि उहाँ भान्सामा खाना पकाउनेदेखि सबै काम गर्नु हुन्थ्यो। गाउँबाट हजुरआमा र हजुरबुवा आउनुभएका बेला परे मात्र बार्नु हुन्थ्यो।
मेरी आमाले महिनावारी हुँदा अचार, घिउ, मसला, फूल छोयो भने बिग्रिन्छ भनेर छुन दिनु हुन्थेन। त्यो अचार, घिउ, फूललाई म महिनावारी भएको छु भनेर कसरी थाहा हुन्छ भनेर अचम्म लाग्थ्यो। यो प्रश्नको उत्तर मैले आजसम्म पाएकी छैन।
सायद आमाले मलाई उहाँले जान्नुभएको संस्कार सिकाउनु खोज्नुभएको होला। कहिलेकाहीँ महिनावारी भएको बिर्सेर सरासर भान्सामा छिर्दा आमाले गाली गर्नु हुन्थ्यो। दस कक्षासम्म त बारेँ। तर त्यसपछि कुनै दिन महिनावारीमा बिर्सेर भान्सा छिर्दा आमाले त्यति वास्ता गर्नुभएन। मलाई लाग्यो, अब चाहिँ नबार्दा हुने रहेछ।
महिनावारी हुनुअघि यसबारे सामान्य जानकारी थियो। महिनावारी भनेको ‘जुठो भएको’ र त्यस्तो बेला भान्सामा जान, भगवानलाई ढोग्न अनि बुबा र ब्रतवन्ध गरेका पुरुषलाई छुन नहुने जस्ता कुरा सानैदेखि हाम्रो दिमागमा राखिएको थियो। घरमा आमासँग खुलेर प्रश्न गर्ने हिम्मत भएन र उहाँले पनि केही सिकाउनुभएन। सबै कुरा स्कुलका साथी र दिदीहरूबाटै सुनेर थाहा पाएकी हुँ।
कक्षामा शिक्षिकाले महिनावारी र प्रजनन स्वास्थ्यबारे पढाउनु हुन्थ्यो। तर पढ्ने बेला सबै विद्यार्थीको टाउको तल हुन्थ्यो। कोही पढाएको कुरामा ध्यान दिन्थेनन्। कोही त ती पाठ पढ्ने बेला विद्यालय समेत आउँथेनन्।
हामीलाई यी कुराबारे बुझ्न मनलाग्दा पनि ध्यान नदिएको जस्तो गरेर सुनिरहेका हुन्थ्यौं। मनमा महिनावारी किन बार्नु परेको होला, यस्तो चलन कसरी सुरू भएको होला जस्ता धेरै प्रश्न उठ्थे। हामी केटी साथीहरू मात्र सँगै भएका बेला यसबारे कुरा गर्थ्यौं।
हाम्रो धारणा के थियो भने पहिला मन्दिर टाढा जंगलमा हुने भएकाले महिनावारी बेला ज्यान सुरक्षाका लागि जान नदिएको होला! महिलाहरूसँग प्याड र उचित सामग्री नभएर रगत चुहिने डरले भान्सामा र्छिन नदिइएको होला!
तर अहिले हामीसँग सबै कुराको सुविधा छ र महिनावारीमा सरसफाइ गर्नुपर्ने ज्ञान पनि सबै महिलालाई पक्कै छ। त्यसैले हामी पुरानै अवस्थामा अल्झिएर बस्नुपर्छ जस्तो लाग्दैन।
महिनावारीमा मेरो शरीरबाट रगत धेरै आउँछ र मुड छिनछिनमा बद्लिन्छ। महिनाको चार दिन जति पिएमएसकै कारण म रिसाहा स्वभावको देखिन्छु। सुटिङ क्रममा कहिले अनजानमा झर्किन्छु र एकछिनमै शान्त भएर माफी माग्छु।
पिएमएसबारे स्टोरी पढ्नुस्ः कस्तो बेला छिनमै रिसाउँछन्, छिनमै खुसी हुन्छन् महिला?
कहिलेकाहीँ पानीमा सुटिङ गर्नुपर्ने हुन्छ र महिनावारीका बेला पर्यो भने अप्ठ्यारो पर्छ। मेरा सहकर्मीहरू यी कुरा बुझिदिनुहुन्छ। उहाँहरूले मेरा लागि खानेकुरा ल्याइदिनुहुन्छ र पानी धेरै खान भनिरहनुहुन्छ। कतै टाढा पसलको सुविधा नभएको ठाउँमा सुटिङ परेका बेला महिनावारी भयो भने मेकअप आर्टिस्टले प्याड दिनुहुन्छ।
पहिला त मलाई पसलमा प्याड किन्न जान पनि लाज लाग्थ्यो। पसलमा केटा मान्छे रहेछ भने नकिनी फर्किन्थेँ। अहिले म लजाउँदिनँ, महिनावारीबारे बोल्न धक मान्दिनँ। अप्ठ्यारो परेका बेला केटा साथीलाई प्याड किन्न पठाउँछु। कसैले कागजमा बेरेर दिए पनि त्यसलाई म नराम्रो मान्दिनँ, किनकी प्याड फ्याल्ने बेला मलाई त्यही कागज काम लाग्छ।
बिहेपछि मैले फेरि महिनावारी बार्नु परेको छ। मेरी सासूआमा बार्नुहुन्छ र उहाँले जे सिक्दै आउनुभयो मबाट त्यही अपेक्षा राख्नुभएको हुनसक्छ। यसमा मैले प्रतिवाद गरेकी छैन। तर सासूआमाले कठोर रोकतोक गर्नु हुन्न।
महिनावारीमा भान्साकोठा र्छिछु तर परिवारसँगै बसेर खाँदिनँ। सासूआमाको पालामा उहाँलाई अझै कठिन थियो होला! मेरा लागि अलिकति सहज पारिदिनुभएको हुनसक्छ। मैले बार्नुपरे पनि मेरी छोरी भइन् भने म उनलाई कुनै हालतमा बार्न लगाउने छैन।
मेरा श्रीमान, बुवा र ससूराबुवा बार्ने कुराको समर्थन गर्नुहुन्न। आमाहरूलाई पनि दोष दिन मिल्दैन, किनकी समाजले उहाँहरूको दिमागमा त्यही कुराको जग बसाइदिएको छ। कति मान्छेलाई हामीले महिनावारी किन बारिरहेको छौं भन्ने कारण नै थाहा हुँदैन। अन्धभक्त भएर लागिपरेका हुन्छन्।
महिलाको शरीर अरू बेलाभन्दा कमजोर हुने भएकाले पहिलेपहिले चार दिन आराम गर्न छुट्याइएको हुनसक्छ। तर आराम दिने बहानामा बार्न लगाउने र भान्सामा छिर्न नदिएर बाहिर घाममा काम दलाउनु ठीक होइन।
अहिले यो चलन धर्मसँग जोडेर भान्सा वा भगवानलाई छुँदा पनि पाप लाग्ने अन्धविश्वासमा परिवर्तन भएको छ। यसलाई एकाएक हटाउन सकिँदैन। हामीले परिवारसँग झगडा वा भनाभन गरेर महिनावारीका कुचलन रोक्न पनि सक्दैनौं।
म कसैलाई महिनावारी बार्नुपर्छ वा पर्दैन भनेर सिकाउँदिनँ। अहिलेका पुस्तामा सही र गलत कुरा छुट्याउन सक्ने क्षमता छ। उनीहरूले आफ्नो परिवारलाई यस विषय बुझाउने क्षमता राख्छन्। नसके पनि आउँदो नयाँ पुस्तालाई यी कुराबाट टाढा राख्नुपर्छ। हामीले जे भोगे पनि अर्को पुस्ताले महिनावारीका कुचलन सामना गर्नु नपरोस्।
महिनावारीका कुरा श्रृंखलाका अन्य स्टोरीहरूः
महिनावारी नबार्ने आनी (भिडिओ)
'महिनावारी भएकाले छुँदा कसैलाई दाग लाग्यो, एलर्जी भयो कि के भयो?' (भिडिओ)
'महिनावारी भएका बेला खेलाडीहरू दौडधूपले बेहोससम्म हुन्छन्'
'महिनावारीमा अझै अप्ठ्यारो किन थप्नू, बरू अलिकति चकलेट दिनू'
मानुषी भन्छिन्ः आमाले चिठीमा पाठेघरको चित्र बनाएर महिनावारीबारे बुझाउनुभयो
शृंखला भन्छिन्- छाउगोठ भत्काउँदा पाप लाग्ने भए, त्यो पाप मै बोकुँला
सित्तैमा प्याड बाँड्ने र बनाउन सिकाउने डाक्टर
स्वस्तिमा भन्छिन्ः महिनावारीमा भाइटीका लगाएँ, छोइछाइ चलन आफैं तोडेँ
अभिनेत्री सुरक्षा पन्त भन्छिन्ः महिनावारीमा पूजा गर्दा केही अनर्थ भएन
श्रृंखला खतिवडाको महिनावारी अनुभव : बाबालाई नभन्न आमालाई कसम खुवाएँ
केकी भन्छिन्ः महिनावारीका 'कथा' महिलालाई तर्साउन बुनिएका हुन्
साम्राज्ञी भन्छिन्ः पढे-लेखेकाहरू नै महिनावारीका कुरा असामान्य मान्छन्
माल्भिका भन्छिन्ः महिनावारीबारे छोरालाई पनि जानकारी गराउँछु
करिश्मा भन्छिन्- महिनावारी बार्ने नियम छोरीमाथि थोपरिनँ
ऋचा शर्मा भन्छिन्ः छोइन्छ भन्ने डरले चुड्की बजाउँदै चर्पी लग्थे मलाई