सभापति रवि लामिछानेलाई पक्राउको विषयमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मानवअधिकार आयोग जाने तयारी गरेको छ।
शुक्रबार लामिछानेलाई पक्राउ गर्न काठमाडौंको हात्तीगौंडास्थित घरमै पुगेको न्यायिक प्रक्रिया र मानवअधिकारको आधारभूत सिद्धान्त समेत पालना नगरेकाले मानवअधिकार आयोग जाने तयारी गरिएको रास्वपाकी सहप्रवक्ता प्रतिभा रावलले जानकारी दिइन्।
'अदालतले भने पछि पक्राउ गर्ने नै हो। तर त्यतिबेला अपनाउनु पर्ने न्यायिक प्रक्रिया पनि अपनाइएन। सभापति ज्यूले गिरफ्तारी दिन्छु भनेर सार्वजनिक रूपमै भनेको स्थिति थियो। त्यति हुँदा पनि बेडरूममै आएर धरपकड गरियो। प्रहरीको त्यो दिनको व्यवहार गैरकानुनी थियो। अपमानजनक र आपत्तीजनक शब्द प्रयोग गरिएको छ। यी सबै विषयमा मानवअधिकार आयोग जान लागेका छौं,' उनले भनिन्।
लामिछानेलाई तुलसीपुर उच्च अदालतको बुटवल इजलासले शुक्रबार थुनामा पठाउने आदेश गरेको थियो।
शुक्रबार साँझ आदेश आएपछि बेलुका ८ बजे प्रहरी टोली लामिछानेको घर पुगेको थियो। त्यतिबेला पक्राउ गर्न गएका डिएसपीले 'अन्तिम इच्छा' सोधेको भनेर विवाद भएको थियो।
पढ्नुस्ः रविलाई पक्राउ गर्न गएका प्रहरीले 'अन्तिम इच्छा' सोधेपछि निम्तिएको विवाद
शुक्रबार पक्राउ गरी रूपन्देही पठाइएका लामिछानेलाई सोमबार जिल्ला अदालत उपस्थित गराएर थुनामा पठाउँछ।उच्चको आदेश पुनरवलोकनका लागि रास्वपाले सर्वोच्च अदालत जाने तयारी पनि गरेको छ।
यो पनिः प्रहरी प्रवक्ता आचार्य र रवि लामिछानेका वकिल पन्तको एकअर्कालाई चुनौती