कोशी प्रदेश सरकारले बुधबारबाट औपचारिक रूपमा थालनी गरेको कोशी प्रदेश पर्यटन वर्ष २०८२ लाई प्रदेशको प्रमुख विपक्षी दल मामाअेवादी केन्द्रले ‘एमाले–कांग्रेसको कार्यक्रम’ भनेर तिखो टिप्पणी गरेको छ।
बुधबार तेह्रथुमको तिनजुरे क्षेत्रमा आयोजित कार्यक्रममा उपप्रधानमन्त्री प्रकाशमान सिंहले पर्यटन वर्षको उद्घाटन गरेका थिए। उद्घाटन कार्यक्रममा सत्तारुढ एमाले र कांग्रेस नेताहरूको मात्रै सहभागिता थियो। विपक्षी दलहरू अनुपस्थित रहे।
मुख्य विपक्षी दल माओवादी कोशीका नेता इन्द्र आङ्बोले सरकारको गौरवको योजना भनिएको महत्वाकांक्षी कार्यक्रमबारे प्रदेश सभामा रहेका दलहरूबीच कुनै छलफल नै सरकारले आवश्यक नठानेको बताएका छन्।
‘सरकारको कार्यक्रमलाई एमाले–कांग्रेसको दलीय कार्यक्रम जस्तो बनाउन खोजियो अति राजनीतिकरण गरियो,’ नेता आङ्बोले भने, ‘पर्यटन वर्ष जस्तो कार्यक्रमको बजेट भ्रातृ संगठन र निकटहरूमार्फत परिचालन गरी सुशासनको धज्जी उडाउने काम गरियो। मुल आयोजकबाट विपक्षी दलहरूलाई औपचारिक र संस्थागत निमन्त्रणा पनि भएन। यसले सरकार हरेक सरकारी कार्यक्रमलाई दुई दलीय बनाउनतिर अग्रसर भएको पुष्टि हुन्छ।’