गृहमन्त्री रमेश लेखकले तीनकुने घटनामा प्रहरीको गोली लागेर घाइते भई काठमाडौंका विभिन्न अस्पतालमा उपचार गराइरहेका घाइते तथा उनीहरूका परिवारका सदस्यहरूलाई भेटेका छन्।
दुर्गा प्रसाईंको आह्वानमा राजसंस्था पुनर्स्थापनाका लागि चैत १५ गते तीनकुने क्षेत्रमा प्रदर्शन भएको थियो।
तीनकुने क्षेत्रमा त्यस दिन २ जनाको मृत्यु भएको थियो भने प्रहरीको गोली लागेर २० जना घाइते भएका थिए। केही घाइतेहरू अझै उपचाररत छन्।
घाइतेहरूलाई भेटेर गृहमन्त्रीले उपचारको व्यवस्था सरकारले मिलाउने आश्वासन दिएका छन्। मन्त्रिपरिषदको बैठकले पनि तीनकुने घटनाका घाइतेहरूलाई सरकारले उपचारको व्यवस्था गर्ने निर्णय गरेको थियो।
गृहमन्त्री लेखकलाई घाइते तथा उनीहरूका परिवारले सरकारका तर्फबाट भविष्यमा के सहयोग हुन्छ भन्ने प्रश्न पनि गरेका छन्।
बुधबार गृहमन्त्री लेखक सिभिल अस्पतालमा पुगेर तीनकुने घटनामा घाइते भएकी रेबिका खत्री लगायतलाई भेटेका थिए।
भेटपछि पत्रकारहरूसँग कुराकानी गर्दै उनले सरकारले घाइतेको उपचार खर्च व्यहोर्ने बताए।
अस्पतालले घाइतेको उपचार नि:शुल्क गरेको वा नगरेकोबारे आफू बुझ्न आएको गृहमन्त्री लेखकको भनाइ थियो।
‘जति पनि घाइते आउनुभयो। उहाँको सरकारले उपचार गर्ने निर्णय गरेको छ। सरकारको प्रतिबद्धता छ- सबै घाइतेहरूले नि:शुल्क उपचार प्राप्त गरे कि गरेनन् भनेर नै म हेर्न आएको हो,’ उनले भने, ‘अहिले बाहिरबाट औषधि किनेर खर्च गरे पनि त्यो खर्च गरेको बिल अस्पतालका मार्फत स्वास्थ्य मन्त्रालयमा जान्छ। र त्यो बिल बराबरको भुक्तानी सरकारले गर्छ।’
आफैले खर्च गरिसकेको बिलको प्रमाणीकरण अस्पतालले गर्ने र त्यसको भुक्तानी सरकारले गर्ने पनि उनले बताए।
तस्बिरहरू: