फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोंनले रूसविरूद्ध कडा कदम चाल्ने चेतावनी दिएका छन्।
युक्रेनसँग शान्ति सम्झौता गर्न अस्वीकार गरे रूसविरूद्ध कडा कदम चालिने राष्ट्रपति म्याक्रोनले बताएका हुन्।
उनले अमेरिका र युरोप शान्ति स्थापनाको पक्षमा रहेको तर रूसले युक्रेनमा बालबालिका र सर्वसाधारण मारिरहेको बताएका छन्।
अप्रिल ४ मा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको गृह सहर क्रिभी रिहमा रूसले मिसाइल आक्रमण गर्दा ९ बालबालिकासहित २० जना सर्वसाधारण मारिएका थिए।
'हामी शान्ति ल्याउन खोज्दै छौं। रूस सर्वसाधारण मारिरहेको। मृतकका परिवारप्रति सहानुभूति छ,' उनले एक्समा लेखेका छन्, ' यो युद्ध चाँडै रोकिनुपर्छ। रूसले नमाने कडा कदम चाल्नुपर्छ।'
उनले कडा कदम भनेको के-के हो भन्नेबारे भने खुलाएका छैनन्।
रूस-युक्रेन युद्ध अन्त्यका लागि मध्यस्त गरिरहेको अमेरिकाले सुरूमा ३० दिनको युद्धविराम गर्ने प्रस्ताव गरेको थियो।
युक्रेनले अमेरिकाको प्रस्ताव सुरूवातमै स्वीकार गरेको थियो। रूसले उक्त प्रस्तावमा सहमति नजनाउँदा युद्धविराम हुन सकेको छ।
रूस उर्जा संरचनामा हमला नगर्ने र ब्ल्याक सीमा जहाज सञ्चालन गर्न मात्रै सहमत भएको छ। अस्थायी युद्धविराममा सहमत भइसेको छैन।
त्यसका लागि पनि अमेरिका लगायत पश्चिमा राष्ट्रले रूसको कृषि उत्पादनमा लगाएको प्रतिबन्ध हटाउनु पर्ने शर्त राखेको छ।
त्यसो हुँदा अमेरिकी राष्ट्रपति ट्रम्प पनि रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग चिढिएका छन्। उनले केही दिनअघि पुटिनको रवैयाका कारण आफूलाई रिस उठेको भन्दै रूसमाथिको आर्थिक नाकाबन्दीलाई थप कडा पार्ने धम्की दिएका थिए।
उनले युद्ध रोक्ने सम्झौता नहुनुमा रूस दोषी भएको आफूलाई लागे रूसी तेल किन्नेहरूलाई पनि नाकाबन्दी लगाउने धम्की दिएका थिए।
अघिल्लो राष्ट्रपति जो बाइडेनले युक्रेनमाथि २०२२ फेब्रुअरीमा हमला गरेपछि देखि नै रूसमा कडा आर्थिक नाकाबन्दी लगाएका छन्। तर अमेरिका लगायत पश्चिमा देशले नाकाबन्दी लगाए पनि रूसी तेल बिक्री भइरहेको छ।
मुख्यतः चीन र भारतले ठूलो परिमाणमा रूसी तेल किनेर रूसलाई युद्धमा लाग्ने खर्च जोहो गरिरहेका छन्। रूसी तेल किन्नेलाई पनि नाकाबन्दी लगाए रूसले तेल किन्ने ग्राहक नभेट्ने भनेर माग भए पनि तेलको भाउ बढेर अर्थतन्त्रमा नकारात्मक प्रभाव पर्न सक्ने भनेर बाइडेन डराएका थिए।
ट्रम्पले आफ्नो योजना बारे विस्तृत रूपमा नखुलाए पनि रूसी तेल किन्ने कुनै पनि देशले अमेरिकामा तेल मात्रै होइन कुनै पनि वस्तु बेच्न पाउने छैन भनेका छन्।
पुटिनसँग राम्रो सम्बन्ध भएका ट्रम्पले गत वर्ष चुनाव प्रचार क्रममै आफूले जिते रूस-युक्रेन युद्ध २४ घण्टाभित्रै रोकिदिने घोषणा गरेका थिए। कसरी रोक्ने भनेर नखुलाए पनि सैन्य सहायता रोक्ने धम्की दिएर युक्रेनलाई रूसको सर्त मान्न दबाब दिने अनुमान गरिएको थियो।
नभन्दै कार्यभार सम्हाले पछि उनले रूसको पक्ष लिएर युक्रेनमाथि मात्रै दबाब हालिरहेका छन्।
रूसको भाषा बोल्दै उनले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई चुनाव बेगरका तानाशाह भने। युक्रेनले नै रूससँग युद्ध सुरू गरेको झुटो दाबी गरे।
ह्वाइट हाउसमा ट्रम्प र अमेरिकी उपराष्ट्रपति जेडी भान्सको जेलेन्स्कीसँग फेब्रुअरी २८ मा चर्काचर्की भएपछि केही समयका लागि अमेरिकाले युक्रेनलाई दिइरहेको सैन्य सहित सबै खाले सहायता रोकेको थियो। खुफिया सूचना युक्रेनसँग बाँड्न समेत रोक लगायो।
तर अहिले भने ट्रम्प पुटिनसँग रिसाएको जस्तो देखिन्छ। पुटिनले उनलाई खेलाइमात्रै रहेको र युद्ध रोक्न केही पनि लचकता नदेखाए पछि ट्रम्पको पछिल्लो टिप्पणी आएको हो।
एनबीसी न्युजसँगको कुराकानीमा ट्रम्पले जेलेन्स्कीको वैधतामा पुटिनले प्रश्न उठाएकोमा पनि झर्किएका छन्।
सन् २०१९ मा राष्ट्रपति निर्वाचित भएका जेलेन्स्कीको कार्यकाल सन् २०२४ मै सकिए पनि देशमा युद्ध चलेका बेलामा चुनाव गर्न सम्भव नभएको भन्दै उनले चुनाव गराएका छैनन्।
वार्ता भइरहेको बेलामा जेलेन्स्कीको वैधताको करा उठाएपछि वार्ता ठीक दिशातर्फ नगइरहेको बुझिन्छ भनेका छन्।
ट्रम्पसँग उनको फ्लोरिडास्थित मर-आ-लागो रिसोर्टमा शनिबार
सात घण्टा बिताएका फिनल्याण्डका राष्ट्रपति अलेक्जेन्डर स्टबले पनि ट्रम्प पुटिनसँग चिढिंदै गएको बताएका थिए। ट्रम्पसँग एक राउन्ड गल्फ पनि खेलेका स्टबले ट्रम्पले पुटिनसँगको युद्धविरामबारे 'धैर्य गुमाउँदै' गएको भनेका थिए।