नेपाली कांग्रेसका महामन्त्री गगन थापाले राष्ट्र बैंकको गभर्नर नियुक्ति कत्तिको स्वतन्त्र रूपमा हुन्छ भन्ने कुरा चासोको विषय भएको बताएका छन्।
आइतबार दाङको तुलसीपुरमा नेपाल थारू संघको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै महामन्त्री थापाले गभर्नर नियुक्तिको विषयमा बिचौलिया हाबी भएमा वा सरकार बिचौलियालाई खुसी पार्ने निर्णयमा पुगेमा सरकारप्रति असन्तुष्टि थप बढेर जाने चिन्ता जाहेर गरे।
प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले गरिरहेको काम चित्त बुझ्दो नहुँदा खासगरी तन्नेरीहरू बढी रिसाएको पनि उनले बताए।
'सत्यबाट भागेर हुँदैन। राज्यले सामना गर्नुपर्छ। यसका लागि व्यवस्था होइन, अवस्था बदल्न जरूरी छ,' उनले भने, 'अब आचरण बदल्न जरूरी छ। शासन गर्ने मानिसमा आँट चाहिएको छ। जिम्मा लिएको मानिसले ढंगका साथ ढुक्क बनाउनु पर्ने समय आएको छ।'
उनले सबभन्दा ठूलो असन्तुष्टि कुशासन र भ्रष्टाचारसँग जोडिएको बताए। सरकारले गर्ने निर्णयबाट कुनै व्यक्ति वा समूहले लाभ लिन नपाओस् भन्दै उनले बरू आम मानिसले लाभ पाउने अवस्था बनोस् भन्ने कुरा नै आम नागरिकले खोजिरहेको बताए।
आफूले मन्त्री वा प्रधानमन्त्रीलाई यही कुरा सम्झाउँदै आइरहे पनि त्यस अनुरूप नहुँदा असन्तुष्टि चुलिएको उनको तर्क थियो।
'दिनमा पाँच पटक म भ्रष्टाचार हुन दिन्नँ भनेर केही हुने होइन,' थापाले भने।
सरकारको निर्णयबारे पछिल्लो समय काठमाडौंमा शिक्षकहरूको आन्दोलन भइरहेको भन्दै उनले असन्तुष्ट नागरिकमा थप असन्तुष्टि बढ्ने गरी निर्णय नगर्न आग्रह गरे।

साना साना निर्णयबाट सरकारको परीक्षा हुने उनले बताए। त्यसैले राष्ट्र बैंकको गभर्नर नियुक्त गर्दा बिचौलियाको प्रभाव पर्न नहुने बताए।
सरकारले गर्ने निर्णयमा सरकारभन्दा बाहिरका संयन्त्रहरूले हात हाल्ने कुरा असंवैधानिक, गैरकानुनी र नमिल्ने कुरा भएको उनले बताए। आफू सरकार सञ्चालनको संयन्त्रमा बसेको भए पनि सरकारले गर्ने निर्णयमा आफूहरूको कुनै भूमिका नरहने उनले स्पष्ट पार्न खोजे।
'संयन्त्रको काम सरकारले गर्ने कामहरूलाई नीतिगत रूपमा यो बाटो हिँड्नुपर्छ भनेर मद्दत गर्ने हो,' उनले भने, 'हामी पनि सरकारका निर्णयहरूको बाहिर आएर प्रतिरक्षा गर्न सकियोस् भन्ने चाहन्छौं।'
उनले सरकारले गरेका राम्रा कामहरूको पनि प्रचार प्रसार र प्रशंसा गर्न आग्रह गरे।
फरक प्रसंगमा उनले केही तत्व वा विभिन्न आवरणका शक्तिहरू अहिलेको व्यवस्था माथि दोष थुपार्दै चलखेल गर्न सकिन्छ कि भनेर लागिरहेको भन्दै त्यसविरूद्ध गाउँ गाउँमा कार्यकर्तालाई बुझाउन आग्रह गरे। शासन, सत्ता, शक्ति सबै काठमाडौंमा रहने व्यवस्था ठीक नभएरै सुझबुझका साथ संघीयताको बाटो रोजिएको उनले बताए। यसमा कांग्रेसका कुनै पनि व्यक्ति अलमलमा नपर्न पनि उनले सुझाए।
रोजे अनुसार भए पनि खोजे अनुसार भइ नसकेको हुँदा अबको दशक विकास र समृद्धिका लागि केन्द्रित हुनुपर्ने उनले बताए। संघीयताको विकल्प सम्भव नहुने धारणा उनले राखे।
'संघीयता खुट्टाले टेकेर उभिने ठाउँमा टाउकोले टेकेर उभिएको छ,' उनले भने, 'अब यसलाई पल्टाएर ठीक ढंगले उभिएको बनाउने हो।'
अब नेपालमा जनता वा राजाको शासनमध्ये एउटा वटा कुरा मात्रै छान्न पाइने अवस्था रहेको भन्दै महामन्त्री थापाले राजा र जनता दुवैको शासन सम्भव रहने छ भन्ने निष्कर्षका साथ कांग्रेस संघीय लोकतान्त्रिक गणतन्त्रको बाटोमा हिँडेको बताए।
आठ/नौ वर्ष अभ्यास गर्दै जाँदा संविधानमा केही कमीकमजोरी देखिएको हुँदा त्यो सुधार गर्न संशोधन आवश्यक देखिएको र त्यसको नेतृत्व पनि कांग्रेसले सबैको सल्लाहमा गर्ने उनले बताए। निर्वाचन प्रणालीका केही कुराहरू सुधार गर्न आवश्यक रहेको उनले बताए।
'यति धेरै महँगो निर्वाचन छ, यति धेरै जनप्रतिनिधि चाहिन्छ कि चाहिँदैन, प्रदेश निर्वाचन यसैगरी गर्ने कि फरक ढंगले गर्ने भन्ने कुराहरू संविधानमा बदल्न आवश्यक छ,' उनले भने, 'त्यो संविधान बदल्न कांग्रेसले सबै पार्टीसँग छलफल गरी चित्त बुझाए संविधान संशोधन गर्ने छ।'

थारूका नाममा खोलिएका पार्टीले चार/पाँच जनालाई व्यक्तिलाई सांसद र मन्त्री मात्रै बनाउन सक्ने तर थारूको हकहितमा काम गर्न नसक्ने दाबी गरे। थारू समुदायका मुद्दाहरूलाई नेपालको राजनीतिको मूल मुद्दा बनाउनु पर्ने र त्यो काम कांग्रेसले गर्ने उनले बताए।
उनले २०८४ सालको निर्वाचनभन्दा पहिले नै पार्टीको अधिवेशन हुने ठोकुवा पनि गरे।
'कहीँ कसैको दिमागमा २०८४ को निर्वाचनअघि पार्टीको अधिवेशन हुँदैन भन्ने कुरा छ भने निकालेर तत्काल फाल्नुहोस्,' थापाले भने, 'क्रियाशील सदस्यताको विषय टुंग्याएपछि २०८२ सालमै अधिवेशनको प्रक्रिया प्रारम्भ गर्न सक्छौं।'
तर अहिले नै बिहानदेखि बेलुकासम्म अधिवेशनको कुरा गरेर बस्नु सही नभएको पनि उनले बताए।
कार्यक्रमलाई केन्द्रीय सदस्यहरू डा. मिनेन्द्र रिजाल, दीपक गिरी, योगेन्द्र चौधरी, गेहेन्द्र गिरी, कृष्णकिशोर घिमिरे, लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी लगायत दर्जन बढीले सम्बोधन गरेका थिए।