काठमाडौंको श्रीघ: विहारमा डेढ महिनाअघि मात्र खुलेको एउटा सानो पसल अहिले सामाजिक सञ्जालमा 'भाइरल' छ।
यो पसल भाइरल हुनुका पछाडि दुइटा कारण छन् —
एउटा, भर्खरै ११ कक्षा पढ्दै गरेकी १६ वर्षीया साकुरा गुरागाईंले यो पसल खोलेकी हुन्। यति कम उमेरमा आफैले व्यवसाय सुरू गरेको उदाहरण हामीकहाँ कमै पाइन्छ। यसले पनि यो पसलप्रति धेरैको चासो बढाएको छ।
दोस्रो कारण हो, यहाँ पाइने नौलो परिकार। अर्थात्, कुनाफा चक्लेट कप, जुन धेरै ठाउँमा पाइँदैन।
यो स्टोरीमा म तिनै १६ वर्षीया किशोरीको व्यावसायिक यात्रा र उनले बेच्ने परिकारबारे चर्चा गर्नेछु।
साकुरालाई स्कुल पढ्दादेखि नै नयाँ नयाँ खालका परिकार बनाउन रूचि थियो। उनी घरमै विभिन्न परिकार बनाएर परिवारका सदस्य र साथीभाइलाई खुवाउने गर्थिन्। खासगरी युट्युबबाट सिकेर केकहरू बनाउन उनलाई खुब रमाइलो लाग्थ्यो। एसइई जाँच दिएर फुर्सतमा बसेका बेला उनले धेरै स्वादका केक बनाउन सिकेकी थिइन्।
यसै वर्ष जब साकुरा ११ कक्षा भर्ना भइन्, उनलाई खाली समयमा आफ्नै व्यवसाय सुरू गर्ने हुटहुटी जाग्यो। कम्तिमा पकेट खर्च भए पनि आफै कमाउन पाए हुन्थ्यो भन्ने उनलाई लाग्यो।
उनले आफ्नो इच्छा हरिश सिंह भन्ने एक जना दाइलाई सुनाइन्। हरिश र साकुरा एउटै स्कुलमा पढ्थे।
साकुराको इच्छा बुझेर हरिशले भने, 'त्यसो भए हामी मिलेर कुनै पसल खोलौं।'
'त्यति बेला म टिकटकमा कुनाफा चक्लेट कप बनाएको भिडिओ खुब हेर्थेँ,' साकुराले भनिन्, 'त्यही भिडिओ हेर्दै आफू पनि बनाउन सिक्दै थिएँ।'
यो खासमा दुबईबाट सुरू भएको परिकार हो। साकुराले आफ्नै ढंगले नेपाली स्वादमा बनाउने प्रयास गरेकी छन्। यसका लागि सबभन्दा पहिला घरमै बनाएर परिवारका सदस्य र साथीभाइलाई चखाइन्। सबैले राम्रो प्रतिक्रिया दिएपछि कलेजको एउटा कार्यक्रममा स्टल नै राखिन्। त्यहाँ पनि उनले बनाएको कुनाफा चक्लेट सबैले मन पराए।
यसले साकुराको मनमा आँट पलायो। यस्तो चक्लेट काठमाडौंका धेरै पसलमा पाइँदैन भन्ने उनलाई थाहा थियो।
उनले हरिश दाइसँग सल्लाह गरिन् र दुवै मिलेर कुनाफा चक्लेट पसल खोल्ने निधो गरे।
र, पसलको नाम राखे — टुक्की ट्रिट्स।

यो पसलमा साकुरा र हरिशको आधा-आधा लगानी छ। साकुराको तर्फबाट सुरूको पुँजी उनको बुबाले हालिदिएका थिए।
'पसल खोल्न आमाबाबुले धेरै साथ दिनुभयो,' उनले भनिन्, 'विदाको दिन भिडभाड हुँदा उहाँहरू मलाई सघाउन पनि आउनुहुन्छ।'
खुलेको एक महिनामै कुनाफा चक्लेट पसल यति लोकप्रिय हुनुको श्रेय उनी फुड भ्लगरहरूलाई दिन्छिन्। नयाँ खानेकुरा देखेर उनीहरूले यो पसलबारे थुप्रै भिडिओ बनाएर र राम्रा राम्रा प्रतिक्रिया पनि दिए। यसले अरूलाई उनको पसलप्रति चासो बढायो।
यसरी ग्राहकहरूको मौखिक प्रचारप्रसारकै भरमा साकुराको पसल अहिले भाइरल छ। धेरै जना सामाजिक सञ्जालमा देखेर टाढा टाढाबाट कुनाफा केक खान आइरहेको उनी बताउँछिन्।
ग्राहकहरूको भिड देखेर साकुरा उत्साहित छिन्। तर कतिपयले कुनाफा चक्लेटको स्वाद मन पराएका छैनन्। त्यस्ता ग्राहकका लागि फरक स्वादको केक बनाउने साकुराको सोच छ। उनी यसको तयारी पनि गर्दै छिन्।
'पछिल्लो डेढ महिनाको व्यापारबाट म उत्साहित छु। यस्तै भइरह्यो भने पसल अझ विस्तार गर्न सक्छु र फरक फरक खालका परिकार बनाएर बेच्न सक्छु भन्ने मलाई आत्मविश्वास जागेको छ,' साकुराले भनिन्।
यो त भयो साकुराको अहिलेसम्मको व्यावसायिक यात्राको कथा। अब कुरा गरौं, उनले बेच्ने कुनाफा चक्लेटको।
पछिल्लो समय टिकटक, इन्स्टाग्रामदेखि युट्युब र फेसबुक रिल्सले दुबईको कुनाफा चक्लेटलाई संसारभरि लोकप्रिय बनाएको छ। यसलाई कुनाफा पिस्ताचियो चक्लेट पनि भनिन्छ। यसमा बाहिर चक्लेटको झोल हुन्छ भने भित्र कुनाफा, पिस्ताको क्रिम र ताहिनी पेस्ट मिसाएर राखिएको हुन्छ।
यसबाहेक दुबई स्ट्रबेरी कप पनि खुबै रूचाइएको छ। यसमा कुनाफा, पिस्ताको क्रिम र ताहिनी पेस्टसँगै स्ट्रबेरी राखिएको हुन्छ। यी सबै चिज एउटै कपमा मिसाएर खान दिइन्छ।
यस्ता चक्लेटी परिकार सँगसँगै साकुराको पसलमा लस्सी र सर्बतहरू पनि पाइन्छन्। गर्मी बढेपछि विभिन्न स्वादका चिसो पेय पदार्थ पनि राख्ने उनको सोचाइ छ। यसका लागि घरमै बनाएका विभिन्न परिकार आफ्ना नियमित ग्राहकलाई चखाउने पनि गर्छिन्। यस क्रममा धेरैले मन पराएका खानेकुरा मेनुमा थप्दै जाने उनी बताउँछिन्।
'खानेकुरा थपे पनि मूल्य चाहिँ व्यावहारिक नै राख्छौं,' उनले भनिन्, 'हाम्रो खास ग्राहक भनेका मजस्तै स्कुल-कलेज पढ्ने केटाकेटी हुन्। त्यसैले जुनसुकै चिज उनीहरूले किन्न सक्ने मूल्यको हुनुपर्छ।'

उनीहरूले श्रीघ: विहारमै पसल खोल्नुको पछाडि पनि कारण छ।
आफ्नो पसल नयाँ खालको भएकाले युवा पुस्ताको जमघट हुने र छिट्टै धेरै जनाको आँखामा पर्ने ठाउँ होस् भन्ने साकुराको चाहना थियो। यही दृष्टिले ठाउँ खोज्दै जाँदा श्रीघ: राम्रो लागेको उनको भनाइ छ।
'यहाँ विहार घुम्न आउनेहरूको भिड लागिरहन्छ। स्कुल-कलेज पढ्ने केटाकेटी पनि आइरहन्छन्। त्यसमाथि ठमेल नजिक भएकाले पर्यटकहरूको पनि आउजाउ चलिरहन्छ,' उनले भनिन्।
उनको पसलमा श्रीघ:का स्थानीय बासिन्दादेखि टाढा टाढादेखि मान्छे आउँछन्। पर्यटकहरू पनि धेरै आउन थालेका छन्। पर्यटकहरूको समूह लिएर आउने कतिपय टुरिस्ट गाइडले त उनको पसलमा ल्याएर कुनाफा चक्लेट चखाउन छुटाउँदै छुटाउन्नन्। यसरी आउने पर्यटकहरूबाट पनि तारिफ पाइरहेको साकुरा बताउँछिन्।
'धेरैजसो ग्राहक मेरो साथीजस्तै भइसके। सबै जना मसँग घुलमिल भएका छन्। यसले मलाई व्यापार गर्न सहज भएको छ,' उनले भनिन्।
साकुराले ग्राहकहरूबाट पाएका केही सकारात्मक प्रतिक्रिया पनि मलाई देखाइन्। तीमध्ये दुई जना बच्चाले लेखेको प्रतिक्रिया रोचक थियो।
बच्चादेखि सबै उमेर समूहका ग्राहक आउने साकुराको पसलमा शुक्रबार र शनिबार बढी भिड लाग्छ। अरू दिन पनि साँझको समय धेरै ग्राहक आउँछन्।
सानै उमेरमा व्यवसायमा रमाउन थालेकी साकुराले पढाइलाई चाहिँ कसरी निरन्तरता दिँदै छिन् त?
मेरो यो प्रश्नमा उनले भनिन्, 'व्यापार त दोस्रो कुरा भयो, मेरो निम्ति सबभन्दा महत्त्वपूर्ण पढाइ नै हो। पसलमा समय दिनुपरे पनि मैले पढाइलाई नै बढी प्राथमिकता दिइरहेको छु। पसल खोलेयता कुनै पनि दिन कलेज छुटाएको छैन। कहिलेकाहीँ ग्राहकको भिड लागेको दिन आमाबुबा मद्दत गर्न आउने त्यही भएर हो।'
'पढाइ सँगसँगै काम पनि सुरू गर्नेले जिन्दगीमा धेरै अनुभव हासिल गर्छ भन्ने मलाई लाग्छ। पढाइले सैद्धान्तिक ज्ञान दिन्छ, व्यवसायले व्यावहारिक कुरा सिकाउँछ। दुवैमा पोख्त भए मात्र जिन्दगीमा अगाडि बढ्न सजिलो हुन्छ,' साकुराले अगाडि भनिन्, 'पढाइ सँगसँगै व्यावहारिक ज्ञान पनि हासिल गरेँ भने पछि कुनै पनि क्षेत्रमा लाग्न सजिलो हुन्छ भन्ने मेरो विश्वास छ।'
प्लस-टू सकेपछि भने पूरा समय पसललाई नै दिने उनी बताउँछिन्। त्यो पनि स्नातक सुरू नहुँदासम्म मात्र।
'स्नातक पढ्दा पनि पढाइ र व्यवसाय सँगसँगै अघि बढाउने हो,' साकुराले भनिन्।
तपाईंले साकुराको कुनाफा चक्लेट कप चाख्नुभयो त?
छैन भने श्रीघ: जानुस् है!
***