अमेरिकाबाट डिपोर्ट गरिएका भुटानी शरणार्थीलाई भुटान सरकारले स्वीकार गर्न मानेन।
उनीहरूलाई होटलमा खुवाइपियाइ गराएर, प्रतिव्यक्ति ३० हजार भारतीय रूपैयाँ खर्च दिएर र भारतीय नम्बर प्लेटको रिजर्भ गाडीमा हुलेर भुटान सरकारले नेपालतिर लखेटिदियो।
तीमध्ये झापाको बेलडाँगी शरणार्थी शिविर आइपुगेका तीन जना र काँकरभिट्टा नाकाबाटै पक्राउ परेका एक जना गरी चार जना १० दिनदेखि प्रहरी थुनामा छन्। बाँकी आठ जनाको अत्तोपत्तो छैन।
यो घटनाले बेलडाँगी शिविरका एक जनाको भने निँद हराम भएको छ।
उनी हुन्, ५५ वर्षीय कुमार सुवेदी।
बेलडाँगी शिविरको छाप्रो नम्बर १ मा अचेल उनका रात जागै बित्छन्। कचपल्टिएको निद्रा बोकेर हरेक दिन बिहानै दमक आउँछन् र ५३ किलोमिटर लामो यात्रा गरेर पूर्वीनाका काँकडभिट्टा पुग्छन्।
जीवनमा कहिल्यै नचिताएको उनको नयाँ गन्तव्य बनेको छ, इलाका प्रहरी कार्यालय काँकडभिट्टा जहाँ ती चार जना — आशिष सुवेदी, रोशन तामाङ, सन्तोष दर्जी र अशोक गुरूङ — हिरासतमा छन्।
उनीहरूलाई हरेक दिन भेट्न जाने मात्र होइन; खानपिन, ओढ्ने-ओछ्याउने लगायतको बन्दोबस्त जिम्मा पनि कुमारकै काँधमा आएको छ।
यसको कारण के भने, पक्राउ परेकामध्ये ३६ वर्षीय आशिष सुवेदी उनका छोरा हुन्। बाँकी तीन जनालाई उनी चिन्दैनन्। तर ती तीन जनाको निकट आफन्त यहाँ कोही छैन। जिम्मेवारी लिनेहरू कोही छैनन्। त्यसैले छोरासँगै पक्राउ परेका र आफूजस्तै भुटानी शरणार्थी भएका नाताले सबैको जिम्मेवारी कुमारले बोकिरहेका छन्।
यो घटनाले कुमारको दिमागमा अनगिन्ती प्रश्न खेल्न थालेका छन्।
उनको प्रश्न छोराहरूलाई डिपोर्ट गरेर भुटान पठाउने अमेरिकी सरकारलाई छ। भुटानबाट लखेटेर नेपाल पठाइदिने भुटान सरकारलाई छ। यहाँ आएपछि पक्राउ गरेर थुनामा राखिरहेको नेपाल सरकारलाई छ। र, शरणार्थी भनेर प्रमाणीकरण गरी अमेरिका पुनर्वासमा पठाउने संयुक्त राष्ट्रसंघलाई पनि छ।
(सेतोपाटीमा प्रकाशित ९५ प्रतिशतभन्दा बढी सामग्री नि:शुल्क पढ्न पाइन्छ, पैसा तिर्नु पर्दैन। यो भने 'प्रिमियम' स्टोरी हो, सदस्यहरूले मात्र पढ्न मिल्छ। पढ्नका लागि तल दिएको लिंकमा गएर सबस्क्राइब गर्नुहोस्।)