अर्थतन्त्रमा जारी सुधार
कोरोना महामारीपछि हाम्रो अर्थतन्त्र निरन्तर संकटमा रह्यो, चुनौतीहरू सामना गर्यो, आर्थिक वृद्धि सुस्त भयो।
लामो समय शिथिल जस्तै रहेको अर्थतन्त्रमा पछिल्ला केही महिनायता सुधारका संकेत देखिन थालेका छन्। केही आर्थिक सूचकांकहरू सकारात्मक देखिएका छन्।
के अर्थतन्त्रले अब सुधारको बाटो पक्रिएको हो? यसका आधार र कारण के हुन्? कहाँ कहाँ समस्या बाँकी छन्? यो सुधार दिगो होला? यो सुधारलाई थप अघि बढाउन सरकार, निजी क्षेत्रले के गर्नुपर्छ?
'अर्थतन्त्रमा जारी सुधार' शृंखलामा सेतोपाटी बिजनेस टिमले यिनै प्रश्नहरू सरोकारवालाहरूलाई सोधेको छ।
शृंखलाको पहिलो भागमा प्रस्तुत छ नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालसँग गरिएको कुराकानीको सम्पादित अंशः
के अर्थतन्त्र अब सुधारको बाटोमा लागेको हो?
धेरै समयदेखि थलिएको अर्थतन्त्रमा अहिले केही आशाका संकेतहरू देखा पर्न थालेका छन्। कोभिड महामारी, अन्तर्राष्ट्रिय आर्थिक मन्दी र श्रीलंकाको संकटले जन्माएको डरका कारण अपनाइएका नियन्त्रणमुखी नीतिहरूले अर्थतन्त्रलाई निकै थलाएको थियो। तर अब त्यो सुस्त अवस्थाबाट बाहिरिने संकेत देखिन थालेका छन्।
तत्कालै सबथोक ठीक भइसकेको भन्न नसकिए पनि, सुस्ताएको अर्थतन्त्र बिस्तारै चलायमान बन्दै गएको अनुभूति भने अवश्य भएको छ।
के के सूचकांकले अर्थतन्त्रमा सुधार देखाएका छन्?
लामो समयदेखि शिथिल अर्थतन्त्रका धेरै आन्तरिक तथा बाह्य सूचकांकहरू सकारात्मक देखिएका छन्। राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको पछिल्लो त्रैमासको प्रारम्भिक विवरणले पनि सुधारको संकेत गरेको छ।
कुल गार्हस्थ्य उत्पादन (जिडिपी) मापन गरिने १८ वटा प्रमुख सूचकमध्ये दोस्रो त्रैमासमा सबै सूचक सकारात्मक देखिएका छन्। लगातार दुई त्रैमासमा आर्थिक वृद्धिदर धनात्मक देखिनु राम्रो संकेत हो।
विशेषगरी, लामो समयदेखि दबाबमा रहेका खानी, निर्माण र उत्पादनमूलक उद्योगहरूमा सुधार देखिन थालेको छ। औद्योगिक कच्चा पदार्थको आयातमा वृद्धि हुनु, माग तथा उपभोगमा सुधार आउनु र नयाँ उद्योगहरू सञ्चालनमा आउनुले अर्थतन्त्र क्रमशः सुधारोन्मुख दिशामा गएको संकेत गर्छ। अन्तशुल्क र भ्याट बढ्नुले उपभोगमा केही सुधारको संकेत गरेको छ।
रेमिटेन्स, पर्यटक आगमन, विदेशी मुद्रा सञ्चिति जस्ता अर्थतन्त्रका बाह्य सूचकांकमा सुधार देखिएका छन्। नयाँ उद्योगहरू पनि सञ्चालनमा आउन थालेका छन्। तर धेरै उद्योगी–व्यवसायी लामो समयदेखि अन्योलमा छन्। यो एउटा उद्यमीले लिने सोच र आफ्नो मान्यतामा पनि फरक फर्छ। म र केही साथीहरूले भने लगानी विस्तार गरिरहेका छौं।
कोभिडपछि मैले दुइटा केबलकार सञ्चालनमा ल्याएँ। दुइटाको शिलान्यास भएको छ। केही समयअघि एउटा कागज उद्योग सञ्चालनमा ल्याएका छौं। केही समयमै सिमेन्ट बोर्ड कारखाना सञ्चालनमा आउँदैछ। बागलुङमा नयाँ होटल सञ्चालनमा ल्याएका छौं। केही समयमै मौलाकालिकामा पनि नयाँ होटल सञ्चालन गर्दैछौं।
के कारणले सुधार भएको हो भन्ने लाग्छ तपाईंलाई? कि एउटा 'बिजनेस साइकल' पार गरेर स्वाभाविक रूपमा आएको सुधार हो यो?
अर्थतन्त्रको सुधारमा पछिल्लो समय सरकारले देखाएको चासोको मुख्य भूमिका छ। यसलाई हामीले मान्नुपर्छ। कतिपय नियमित चक्रबाट पनि सुधार आएका छन्।
नेपाल उद्योग वाणिज्य महासंघले अर्थतन्त्र सुधारका लागि गर्नुपर्ने काममा निरन्तर पैरवी गरेको छ। नेपाल सरकार र नियमनकारी निकायको 'करेक्सन' ले शिथिल अर्थतन्त्रलाई मन्दीमा जानबाट जोगाएको छ।
महासंघको पहल र सुझावमा सरकारले उच्चस्तरीय आर्थिक सुधार आयोग बनाएको छ। यसले धेरै कुराहरूमा 'करेक्सन' का सुझाव दिएको छ। संसदका दुई ठूला दलको सरकारले केही हदसम्म राजनीतिक स्थिरता सुनिश्चित गरेको छ। हालै भएको क्रेडिट रेटिङले पनि मुलुकमा लगानीमैत्री वातावरण रहेको सकारात्मक सन्देश दिएको छ। पुराना कानुन तथा नियमहरूमा भएका संशोधन र लगानी सम्मेलनको आयोजना जस्ता गतिविधिले पनि लगानीमैत्री वातावरण निर्माण भएका हुन्।
यी सबै कारणले सकारात्मक संकेत देखिएका हुन्।
कुन कुन क्षेत्रमा वा कहाँ कहाँ अझै समस्याहरू बाँकी छन्?
अझै पनि आन्तरिक क्षेत्र चलायमान हुन सकेको छैन। विगत लामो समय ऋणात्मक रहेको खानी तथा निर्माण क्षेत्र अझै सामान्य अवस्थामा आउन सकेको छैन। उत्पादनमूलक उद्योगहरू अझै पूर्ण क्षमतामा सञ्चालन हुन सकेका छैनन्। व्यवसायीको मनोबल बढाउन सकिएको छैन। विकास निर्माणका गतिविधिहरू बढाउन सकिएको छैन। लगानी विस्तार हुन सकेको छैन। सरकारले पुँजीगत खर्च गर्न सकेको छैन।
त्यस्तै बैंक तथा वित्तीय संस्थामा लगानी योग्य पुँजी थुप्रिएको छ। अझै पनि समग्र बजार प्रणाली तथा अर्थतन्त्रका केही क्षेत्रहरू सामान्य अवस्थामा फर्किन सकेका छैनन्।
यो सुधार क्रमिक रूपले अघि बढ्छ वा दिगो हुन्छ भन्नेमा तपाईंलाई कति विश्वास छ?
अर्थतन्त्रको आफ्नै साइकल (चक्र) हुन्छ। एउटा चक्र पूरा भएपछि स्वाभाविक रूपमा अर्को सुरू हुन्छ। बाह्य क्षेत्रमा सुधार भइसकेको छ। आन्तरिक क्षेत्र सुधार गर्न व्यवसायीको मनोबल बढाउने, नीतिगत सुधार गर्दै आर्थिक गतिविधि बढाउन सके यो दिगो रूपमा अघि बढ्छ।
अर्थतन्त्रमा देखिएको सुधारलाई थप अघि बढाउन सरकारले के गर्नुपर्छ?
सरकारले नीतिगत सुधार, कानुन संशोधन र संशोधित कानुनको परिपालनलाई जोड दिनुपर्छ। अर्थतन्त्र चलायमान गर्न सरकारको पुँजीगत खर्च बढाउने, निर्माण व्यवसायीहरूको बक्यौता तिर्ने, ठूला र बहुआयामिक पूर्वाधारमा लगानी गर्ने, निर्माणाधीन सडक, सिँचाइ तथा अन्य ठूला आयोजनाहरू द्रुत रूपमा अघि बढाउन सकेमा अर्थतन्त्र चलायमान हुन सहयोग पुग्नेछ।
अब सरकार, निजी क्षेत्रले के गर्नुपर्छ? आगामी बाटो के हो?
उच्च स्तरीय आर्थिक सुधार सुझाव आयोगले पक्कै पनि अहिलेको आर्थिक संकट र यसको समाधानको बाटो पहिल्याउने छ। सरकारले वातावरण निर्माण गर्ने हो। व्यवसायीहरूको मनोबल बढाउने हो। लगानी सहजीकरण गर्ने हो। लगानीका लागि आवश्यक पूर्वाधार निर्माण गर्ने हो।
अर्थतन्त्रमा ८१ प्रतिशत तथा रोजगारीमा ८६ प्रतिशत भन्दा बढी योगदान दिने निजी क्षेत्रले नै हो समग्र अर्थतन्त्र चलायमान गराउने। त्यसैका लागि निजी क्षेत्रको पहल तथा सुझावमा उच्च स्तरीय आर्थिक सुधार सुझाव आयोग बनेको छ। त्यसले आगामी बजेट तथा मौद्रिक नीतिले लिने बाटोमा सुझाव र सल्लाह दिनेछ। सरकारले लगानीमैत्री वातावरण निर्माणका लागि कानुन संशोधन तथा कार्यान्वयनको बाटो पनि पहिल्याउने नै छ।
निजी क्षेत्रलाई सुन्ने, नीति, कानुन तथा कार्यक्रम बनाउँदा उनीहरूको सहभागितामा जोड दिने, अर्थतन्त्रको मुख्य खम्बाका रूपमा स्वीकार गरेर साझेदारी गर्दै अघि बढ्न सके अर्थतन्त्रलाई छिटोभन्दा छिटो पुरानै लयमा ल्याउन सकिन्छ।