राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूमाथि राजनीतिक प्रतिशोध भएको बताएका छन्।
सहकारी ठगी, संगठित अपराध समेतको मुद्दामा सोमबार पुर्पक्षका लागि रूपन्देही जिल्ला कारागारमा जाँदै गर्दा पालो सबैको आउने बताए।
‘यो परीक्षाको पहिलो विद्यार्थी म भएँ। मैले जसरी नै जाँच अरूले पनि दिनुपर्ने छ,’ लामिछानेको भनाइ उद्धृत गर्दै उनको सचिवालयले जानकारी दिएको छ।
यद्यपि अदालतको आदेशको सम्मान गर्ने उनले बताए। कानूनले दिएको अधिकार प्रयोग गर्ने र तल्लो अदालतको आदेशविरूद्ध माथिल्लो आदालत जाने प्रक्रिया अवलम्बन गर्ने पनि लामिछानेले बताएका छन्।
‘न्यायको मन्दिरबाट अन्याय हुने छैन, म विश्वस्त छु। तर, विभिन्न आशंका उठेका र उठाइएका छन्, ती गलत सावित हुन्,’ उनले भने।
सभापति लामिछानेले पार्टीलाई एक ढिक्का राखेर अभियानलाई निरन्तरता दिन पनि आग्रह गरेका छन्।
‘सक्नु हुन्छ बढाउनुस्, नसके पनि नघटाउनुस्। अभियानलाई जनताको बीचमा पुर्याउनुस्,’ सभापति लामिछानेले भनेका थिए।
सुप्रिम सहकारी ठगी तथा संगठित अपराध मुद्दामा जिल्ला अदालत रूपन्देहीको आदेश उल्ट्याउँदै शुक्रबार उच्च अदालत तुलसीपुरको बुटवल इजलासले लामिछानेलाई थुनामा पठाउन आदेश गरेको थियो।
जिल्ला अदालतले त्यसअघि लामिछानेलाई १ करोड धरौटीमा छाड्न आदेश गरेको थियो। उक्त आदेशलाई बदर गरी साधारण तारेखमा छुट्ने आदेशको माग गर्दै लामिछानेले उच्च अदालतमा निवेदन दिएका थिए।
उच्चले जिल्लाको आदेश उल्ट्याएर थुनामा पठाउन भनेपछि शुक्रबार लामिछानेलाई काठमाडौंको हात्तीगौंडास्थित निवासबाट पक्राउ गरी रूपन्देही पठाइएको थियो।