अधिवेशन उद्घाटन भएको छैटौं दिन आइतबार नेकपा एकीकृत समाजवादी मोरङको नयाँ जिल्ला कमिटीको नाम पार्टी कार्यालयमा टाँसिएको छ।
प्रतिनिधिहरूलाई घरघर पठाएर आफै नेतृत्व छान्न जुटेका नेताहरूले आइतबार मोरङ जिल्ला कमिटीको नाम घोषणा गरेका हुन्। विराटनगरस्थित पार्टी कार्यालयमा आइतबार नाम टाँसेर नयाँ जिल्ला कमिटी घोषणा भएको हो।
चन्द्रवीर राईको अध्यक्षतामा घोषित नयाँ जिल्ला कमिटी चयनका क्रममा सुरूमै विवाद भएको छ। अध्यक्षका दाबेदार रहेका उद्धव पोखरेललाई उपाध्यक्ष बनाउने अध्यक्ष मण्डलको प्रस्ताव पोखरेलले अस्वीकार गरेपछि उनको नाममा टिपेक्स लगाएर नयाँ जिल्ला कमिटी घोषणा भएको हो। यसअघि पनि जिल्ला कमिटी उपाध्यक्ष रहेका पोखरेलले अध्यक्षमा दाबी गरेका थिए।
राईले पुनः दोहोर्याउने भएपछि उनलाई उपाध्यक्ष पदमै दोहोरिन नेताहरूले दबाब दिएका थिए। तर सोही पदमा आफू नदोहोरिने उनले बताएका थिए। उनले आफूलाई उपाध्यक्षमा नराख्न भनेपछि पहिल्यै तयार भइसकेको नामको सूचीमा टिपेक्स लगाइएको हो। नवघोषित जिल्ला कमिटीको अध्यक्षमा हालका अध्यक्ष राईले निरन्तरता पाउँदा अध्यक्षमै दाबी गरिरहेका दीपक ढकाल उपाध्यक्ष बनेका छन्।
त्यसैगरी सचिवमा तुलसी ढकाल र उपसचिवमा डिबी थापा, भूपाल बस्नेत र सुमित्रा राईको नाम टाँसिएको छ। प्रेमराज भारती कार्यालय सचिव र चन्द्र शर्मा पराजुली आर्थिक विभाग प्रमुख तोकिएको एकीकृत समाजवादीको जिल्ला कमिटी ७८ सदस्यीय छ। १३ जना सदस्य पछि थप्ने गरी बलदेव चौधरी नेतृत्वको अध्यक्ष मण्डलले आइतबार जिल्ला कमिटीको नाम टाँसेको हो।
अध्यक्ष मण्डलले जिल्ला कमिटीको नाम विराटनगरस्थित पार्टी कार्यालयमा टाँसेको केहीबेरमै मोरङका कार्यकर्ताहरू अध्यक्ष मण्डलका संयोजक चौधरीलाई भेट्न इटहरी पुगेका थिए।
'तपाईंहरूले यसरी जिल्ला कमिटी छानेर गम्भीर गल्ती गर्नुभयो भनेर हामीले आफ्नो असन्तोष राख्यौं,' भेटमा सहभागी एक नेताले भने, 'उहाँले यस पटकलाई त्यस्तै भयो भन्ने जबाफ दिनुभयो।'
जिल्लाको नयाँ नेतृत्व चयन गर्न भन्दै प्रतिनिधि बनेर आएका कार्यकर्ताहरूलाई नेताहरूले भूमिकाबिहीन तुल्याइदिएको भन्दै एकीकृत समाजवादीभित्र तीव्र असन्तोष छ। उम्मेदवारी दर्ता गराएका प्रतिनिधिहरूका अनुसार अध्यक्ष मण्डलले उम्मेदवारहरूको नाम समेत सार्वजनिक नगरी नाम घोषणाको बाटो रोजेको थियो।
केन्द्रीय नेताहरूले चाहेका व्यक्तिलाई जिल्ला नेतृत्वमा ल्याउनकै लागि ६ दिन लामो समय लगाएर आफूखुसी नाम घोषणा भएको कार्यकर्ताहरू बताउँछन्। नेताहरू भने सहमतिमा नेतृत्व चयन भएको दाबी गरिरहेका छन्।
पार्टी अध्यक्ष माधवकुमार नेपालले चैत १९ मा विराटनगरमा उद्घाटन गरेको एकीकृत समाजवादीको नवौं जिल्ला अधिवेशन दुई दिनसम्म चल्ने कार्यक्रम थियो। तर नेताले चाहेकै व्यक्तिलाई नेतृत्वमा पुर्याउन ६ दिन लागेको कार्यकर्ताहरू बताउँछन्।