नेपाली कांग्रेसका महामन्त्री गगन थापाले विराटनगरमा समानान्तर रूपमा भेला आयोजना गर्ने शेखर कोइराला पक्षको कदमप्रति असन्तोष प्रकट गरेका छन्।
कोशीको पहिलो प्रदेश सम्मेलनको उद्घाटन कार्यक्रमलाई शनिबार सम्बोधन गर्दै महामन्त्री थापाले यस्ता भेलाहरू (पार्टीसँगं) संयोजन नगरी गर्न नहुने बताएका हुन्।
‘केही समयअघि रूपन्देहीको क्षेत्रीय समितिले देशभरका १६५ वटै क्षेत्रका सभापतिहरूको भेला बोलाउँछु भन्यो, हामीले नगर्नुस्। केन्द्रले त्यसको आयोजना गरिदिन्छ, बरू संयोजन गर्नुस् भन्यौं। कास्कीले पनि ७७ वटै जिल्ला सभापति बोलाउँछु भन्यो हामीले त्यसै भन्यौं’, महामन्त्री थापाले भने ‘भेला गर्न, देशैभरि घुम्न पाइन्छ। तर, संयोजन नगरी नगरौं। विराटनगरको कुनै वडा समितिले वडा सम्मेलन गर्दिन्छु भन्यो भने, महानगर समितिले के गर्छ? केन्द्रले भनेको यति मात्रै हो।’
प्रदेश सम्मेलनको मुखैमा मंसिर १८ मा कोइराला पक्षले कोशीका पालिका सभापतिहरूको भेला आयोजना गरेको थियो। त्यसको संयोजन कांग्रेस विराटनगर महानगर समितिले गरेको थियो। पार्टीको प्रदेश भेलामा त शेखर कोइराला सहभागी नै भएनन्। महामन्त्री थापाले त्यसैतिर लक्ष्य गर्दै असन्तोष जनाएका हुन्।
‘हामी पनि बागी विद्रोही भएरै आएको हो। मेरो कुरा सबै मिलेर पार्टी सम्हालौं भन्ने हो’, थापाले थपे, ‘यो मन्चमा भर्खरै सकिएको निर्वाचनको पनि एकांकी समीक्षा भयो। मञ्चमा जतिले पालैपालो कांग्रेस हारेको छ भनेको छ, मुलुकैभरि सिनित्तै भएजस्तो कुरा गरेको छ। कति ठाउँ हार्यौं हामी ? कोसँग हिसाब छ ?’ उनले भने ‘अहिले जहाँ हारियो भन्दै हुनुहुन्छ, त्यहाँ पहिलेभन्दा मत बढेको छ। फरक ठाउँमा फरक फ्याक्टरहरू छ। ग्रामथान बारे यहीँ छलफल गर्नुस्। यहाँ आएर बसेर पालैपालो हार्यो हार्यो भनेको छ। यसो नगर्नुस्, मेरो आग्रह छ।’
थापाले कांग्रेसको इतिहासमा पहिलोपटक हरेक वर्ष पार्टी सदस्यता नविकरण गर्ने क्रम सुरू भएको जानकारी दिँदै सबैले काम गर्नुपर्ने पनि बताए।
‘पार्टी सदस्यता नविकरण गरेर फारम बुझाउने अहिले नेपालभरीमा जम्मा एउटा क्षेत्र मात्रै छ, संयोगले त्यो क्षेत्र मेरै निर्वाचन क्षेत्र हो’, उनले भने, ‘१६५ क्षेत्रकै नेताहरू यहाँ कोही मञ्चमा हुनुहुन्छ। कोही हुनुहुन्न। सबैले आफ्नो क्षेत्रको काम गरौं। सदस्यता रिन्यू गरेर पठाइदिनुस्। सकियो। पार्टी काम कति भएको छ भन्ने विषय मैले यहाँ खुलाएँ भने मन्चमा बसेको, तल बसेको, यहाँ नआएको साथी पनि ढल्नुहुन्छ। त्यस्तो अवस्था छ पार्टीमा। त्यसैले काम सबैले गरौं।’
हिजो अधिवेशनमा समूह बनाएर लडेको भन्दै थापाले जितहारलाई ग्रहण पनि गर्नुपर्ने बताए। ‘पार्टीमा लडौं, बहस गरों, छलफल गरौं तर पार्टीका एकता अनिवार्य छ। सबैलाई मिलाएर लैजानुपर्छ। जित्ने हार्ने सबै। हामी सबै खालका छौं नि त । तर, अस्ति नै किन मत नदिएको भनेर अहिले सभापतिसँग मन्चमा सँगै नबस्ने भन्ने हुँदैन’, थापाले भने ‘ सभापतिसँग अहिले पनि कति कुरा कुरा मिल्दैन। समेट्नुपर्छ भनिरहेका हुन्छौं। कराइरहेका हुन्छौं। तर, यसो भन्दै गर्दा आफ्नो भागमा परेको कामको जिम्मा पनि त लिनुपर्यो।’
भ्रातृ संस्थाहरूको अधिवेशन गर्न भनेर निर्देशन समिति पनि ६०–४० को भागमा बनेको बताउँदै थापाले थपे, ‘काम गर्छु भनेर भाग लाएपछि जिम्मा लिनुपर्छ। ६० सभापतिको जिम्मा हो भने ४० भाग लिनेले पनि जिम्मा त लिनुपर्छ।
कार्यक्रममा बोल्ने क्रममा सहमहामन्त्री भीष्मराज आङदे्ङबे भक्कानिए। कोइराला निवास र चाक्सीबारीबारे कुरा निकाल्दै गर्दा उनको गला अवरूद्ध भयो।
‘आज कोइराला निवासलाई इतिहासले जुन विरासत दिएको छ, बूढानीलकण्ठलाई त्यो जिम्मेवारी दिएन। इतिहासले चाबाहिललाई आफ्नो विरासत सम्झेन। यद्यपि गिरिजाबाबुले त्यहीँबाट लोकतान्त्रिक गणतन्त्रको दिशा कोर्नुभएको थियो,’ उनले भने, ‘हाम्रा सभापति ५ पटक प्रधानमन्त्री बन्नुभयो, छैटौंपटक बन्नुहुन्छ। तर, कोइराला निवास र चाक्सीबारीलाई इतिहासले जुन विरासत सम्झिएको छ। त्यस्तो बूढानीकलण्ठलाई सम्झिइन्न। प्रत्येक कांग्रेस कार्यकर्ताले कोइराला निवास र चाक्सीबारीको विरासत सम्झिन्छ। पहिले बिहानै जसरी भाले बास्दा कोइराला निवास पुग्ने खुट्टाहरू अचेल किन अन्यत्रै मोडिन्छ ? यस्तो विशेष कुरालाई बुझनुपर्छ।’
सहमहामन्त्री आङदेम्बेले थपे, ‘खाली विरोध बोलेर हुँदैन। जसरी इतिहासले त्यस्तो विरासत अरूलाई दिएको छैन , कोइराला निवास र चाक्सीबारीलाई दिएको छ। त्यहाँको ओनरसिप लिन्छु भन्ने साथीहरूले नेताहरूले आफूलाई पनि त्यही ढंगबाट प्रस्तुत गर्नुपर्दछ।’