वसन्त ऋतुको आगमनसँगै पन्छीहरूको आवाजमा प्रणय र रतिरागको आग्रह सुनिन्छ। नजिकिँदो फागु पर्वका रंगहरूमा युवायुवती प्रणयको अभिव्यक्ति देख्छन्। असारको रोपाइँ वा अन्य जात्रामा गाइने दोहोरी गीतमा युवकले मन जितेपछि भाग्न तत्पर युवतीको प्रणय चाहना कति प्रबल होला?
निर्वाहको दौडधुपले हाम्रो जीवन एकतमासको र निरश हुन्थ्यो होला, यदि माया, प्रेम र विपरीत लिंगीकोे आकर्षणले यसमा पलपल रोमाञ्च र उत्साह नभरेका भए।
संगीत र कलाको एउटा उद्देश्य मानिसको जीवनका घटनाक्रमको निरशता भंग गर्दै रोमाञ्च र उत्साह थप्नु पनि हो। त्यो रोमाञ्चकतासँगै गाँसिएर आउने सन्देशले जीवनलाई सुखी र सिर्जनशील पार्छ। सारा सृष्टिको चक्र यही आकर्षण र रोमाञ्चकतामै अडिएको छ।
आज प्रणय दिवसको दिन म आफ्ना पिता चित्रकार हरिप्रसाद शर्माले प्रेम र प्रणयलाई केन्द्रमा राखेर रचना गर्नुभएका केही चित्रबारे चर्चा गर्दैछु।
सबभन्दा पहिला कुरा गरौं, 'राधाकृष्णको युगल छवि' नामक कलात्मक चित्रकलाबारे, जुन पिताजीले आजभन्दा ५५ वर्षअघि २०२२ सालमा बनाउनुभएको थियो।
यो चित्रले नश्वर जीवजगत मात्र होइन, ईश्वरीय अवतारहरू पनि प्रणय लीला गर्थे भन्ने सम्झाउँछ। राधाकृष्णको यो जोडी भावनात्मक प्रेमको उत्कर्षको प्रतीक मानिन्छ।

मेरी माताको २५ वर्षअघि निधन भयो। अहिले ८४ वर्षीय मेरा पिताजीको रुचि खासगरी ऐतिहासिक विषयवस्तुका चित्रहरूमा छ। प्रचलित इतिहास प्रायः राजा-महाराजाको जीवनी र शासनको शक्ति सन्तुलनमा आउने हेरफेरका घटना र पात्रहरूमा केन्द्रित हुने गर्छ। मलाई भने सामान्य मानिसहरूको जीवनको इतिहास पनि लेख्नुपर्ने थियो भन्ने लाग्छ।
राजा-महाराजाहरू सत्ताको संघर्ष वा भोगविलासमा व्यस्त रहेका बेला सामान्य मानिस खेतीपाती, मेलापर्म र जात्रापर्व मनाउँदै समय बिताँउदा हुन्। उनीहरूको श्रमले नै समाजमा सुन्दर कला निर्माण भयो, संस्कृति र वास्तुकलाको जग बसाल्यो। सरल जीवनयापन गर्ने यी मानिस पक्कै पनि फुर्सदको समय खानपानमा रमाउँथे, नाचगान गर्थे र युवायुवतीहरू मायाप्रीति गाँस्न समय निकाल्थे। मानवीय जीवनका यी पक्ष झल्काउने चित्र बनाउन हामी पितापुत्रले धेरै छलफल गर्यौं।
पिताजीले बनाउने चित्रको निम्ति विषयवस्तु छनौटदेखि त्यसलाई चाहिने सन्दर्भ सामग्री जुटाउने काममा मैले सहयोग गर्दै आएको छु। यति मात्र होइन, चित्रलाई जीवन्त बनाउन हामी पूरै परिवार त्यसमा संलग्न हुन्छौं। बुवालाई आफ्ना पात्रको हाउभाउ क्यानभासमा उतार्न सहज होस् भनेर म, मेरी पत्नी र छोराहरूसमेत अभिनय गरेर देखाउँछौं।
काठमाडौं उपत्यकाको जनजीवनसम्बन्धी विभिन्न आयामका चित्रकलाबाहेक युवयुवती तथा वयस्कहरूको प्रेम र प्रणयका चित्र पनि पिताजीले बनाउनुभए हुन्थ्यो भन्ने मलाई लाग्थ्यो। तर, आफूभन्दा पाको उमेरका पिताजीलाई प्रणयसम्बन्धी चित्र बनाउन आग्रह गर्नु मेरा लागि निकै अप्ठ्यारो कुरा हुन्थ्यो। आफूलाई लागेका कुरा मौका पारेर भन्नु र त्यसमा उहाँलाई मनाउनु मेरा लागि सधैं चुनौती हुने गर्छ।
त्यही क्रममा एकदिन म पिताजीसँग चाँगुनारायण घुम्न गएको थिएँ। बाटोको तल गहिरो ठाउँमा एउटा कलात्मक ढुंगेधारा थियो। त्यो ढुंगेधारा देखेपछि मलाई एउटा रुमानी चित्रको परिकल्पना आयो। तर, पिताजीलाई आग्रह गर्न र उहाँलाई मनाउन मैले करिब दस वर्ष कुर्नुपर्यो।
पिताजीलाई मनाउन साह्रै गाह्रो, तर जब उहाँलाई विषयवस्तु चित्त बुझ्छ र मन भित्रैबाट चित्र बनाउन राजी हुनुहुन्छ, त्यसपछि उहाँको कुचीको जादू चल्छ। म उहाँको क्षमताबाट वशिभूत हुन्छु।
त्यो चित्रमा पूर्णिमाको मनोरम साँझ, काठमाडौंका एक ज्यापू युवक ढुंगेधाराको डिलमा बसेर बाँसुरी बजाउँदै छन्। युवकसँग प्रेममा परेकी सुन्दर युवती टुकी बत्ती लिएर पानी भर्ने बहानामा ढुंगेधारामा आएकी छन्। उनी गाग्री धारामा थापेर आफ्नो प्रियतमले बजाएको बाँसुरीको धुनमा मग्न देखिन्छिन्।
गाग्रीमा कतिबेलादेखि पानी लबालब भरिएर बगेर जान थालिसक्यो, तर उनलाई होस छैन। उनी एकटक प्रेमीको अनुहार हेर्दै बाँसुरीको धुनमा हराएकी छन्। प्रेमिल कल्पनामा डुबेकी युवतीको मुहार टुकी बत्तीको प्रकाशमा धप्प बलेको छ।

एउटा अर्को चित्रको कुरा गरौं। काठमाडौं, पाटन, भक्तपुर तिनै सहरका मुख्य चोकहरूमा बटुवालाई पानी खान जलद्रोणीहरू व्यवस्था गरिएका हुन्थे। यसलाई नेपाल भाषामा 'जरुँ' भनिन्छ, जहाँ पानी नभए पनि भौतिक स्वरूप अहिले पनि यत्रतत्र देख्न पाइन्छ। त्यस्ता कलात्मक संरचना बेवास्तामा परेको देख्दा मलाई सधैं नरमाइलो लाग्छ। कतिपय उपत्यकावासीलाई त त्यो के हो भन्नेसम्म थाहा छैन।
उक्त जलद्रोणीबारे समाजमा अभिरुचि जगाउन मैले एउटा प्रेमिल प्रसंग कल्पना गरेँ। जलद्रोणीमा पानी पिइसकेर एक वैंशालु युवती आफ्नो पालो कुरिरहेको एक सुन्दर युवकलाई पानी छ्यापेर जिस्क्याउँदै छिन्।
यो चित्र बनाउन मैले भक्तपुरको न्यातपोल मन्दिरअगाडिको जलद्रोणीको फोटो खिचेर ल्याएँ। पिताजीलाई देखाएँ। विषयवस्तुबारे छलफल गरेँ। त्यसको निकै समयपछि मेरो कल्पनाले पिताजीको हातबाट मूर्तरूप पायो।
चित्रमा स्वाभाविकता आओस् भनेर मैले श्रीमतीलाई म आफैंलाई पानी छ्याप्न लगाएर अभिनय गराएको थिएँ। त्यो दृश्यको फोटो खिचेर त्यसै आधारमा पिताजीले चित्रमा उतार्नुभएको हो।

हाम्रो विवाहको २५ औं वार्षिकोत्सव थियो। आफन्तहरूले वार्षिकोत्सव मनाउने तयारी गरिरहँदा पिताजीले 'बाबु, म तिमीहरूलाई के उपहार दिउँ त' भनेर सोध्नुभयो।
मैले अरू चिज माग्ने कुरै थिएन। भनेँ, 'बुवा, तपाईंको हातबाट चित्रकलाभन्दा सुन्दर उपहार के हुनसक्ला?'
'चित्रकला त सधैं बनाइरहेकै छु नि,' उहाँले भन्नुभयो।
जवाफमा मैले हामीजस्तै देखिने नृत्यरत नेवार जोडीको रुमानी चित्र बनाइदिन आग्रह गरेँ। मेरो त्यो आग्रहअनुसार हाम्रो विवाहको २५ औं वार्षिकोत्सवमा पिताजीले यो चित्र बनाइदिनुभएको हो। मेरा छोराहरू चित्रकलामा देखिएको पुरुषको मुखाकृति ठ्याक्कै बाबाजस्तो देखिएको छ भन्दै जिस्क्याउँछन्। मलाई पनि रमाइलै लाग्छ।

म आफू बाल्यकालदेखि नेवार समुदायमा हुर्केकाले हाकुपटासी लगाएकी नेवार युवतीको नृत्य मुद्रा देख्दा 'नोस्टाल्जिक' हुन्छु। यही लगावले मेरो मनमा आफू र श्रीमतीको झझल्को आउने गरी यही मुद्रामा एउटा चित्र बनाउने रहर थियो, जुन पिताजीले पूरा गरिदिनुभयो।
पिताजीले बनाउनुभएको एक प्रौढ ज्यापू दम्पतीको चित्र मलाई सबभन्दा जीवन्त लाग्छ। उक्त चित्रकलामा आफ्नै कोठामा बसेर, घरमै पारेको जाँड पिएर हल्का मात लागिसकेको एक प्रौढ ज्यापू बत्ती कात्दै गरेकी आफ्नी श्रीमतीलाई एक-दुई घुट्को पिउन आग्रह गर्दैछन्।
पतिको मादकता र रतिरागको आसय बुझेकी पत्नी पनि लजालु भावमा देखिन्छिन्।

पिताजीले बनाउनुभएका नेपालको इतिहास तथा काठमाडौं उपत्यकाको नेवार समुदायको जनजीवन झल्काउने यस्ता धेरै चित्रकलाका प्रिन्ट आजभोलि घर, बैठक र रेस्टुरेन्टको सजावटमा प्रयोग भएका छन्।
रोचक कुरा चाहिँ के भने, तीमध्ये प्रणयसम्बन्धी भावनात्मक चित्रहरू खासगरी युवती र विवाहित महिलाका छनौटमा पर्छन्। आफ्नो दाम्पत्य जीवन पनि यस्तै प्रेमिल होस् भन्ने उनीहरूको चाहना यी चित्रकलामा प्रतिविम्बित भएरै त्यस्तो भएको होला।
महिलाहरूले जब यी चित्र छनौट गर्छन्, पिताजी मतिर हेरेर मुस्कुराउनुहुन्छ।
हाम्रोजस्तो पूर्वीय समाजमा विवाहपछि प्रेम वा प्रेमपछि विवाह दुवै स्वाभाविक छन्। पश्चिमा समाजमा यौवनको लाली निख्रिएपछि प्रेम पनि पातलिएर सम्बन्ध बिच्छेदमा टुंगिनु र नयाँ मायाप्रेमको सिलसिला बन्दै टुट्दै गरेका देखिन्छन्। पूर्वीय समाजमा भने उमेरसँगै मायाको बन्धन कसिलो हुँदै जाने परम्परा बढी देखिन्छ। वृद्धावस्थामा पुगेपछि त पति-पत्नीको आपसी निर्भरता र भावनात्मक मायाप्रेम अझै बढेर जान्छ।
हाम्रै समाजमा त्यस्ता असाध्यै मिलेका जोडी प्रशस्त देखिन्छन्। पत्नीले खाना बनाउँछिन्, पति घर सफासुग्घर गर्छन्। बिरामी पर्दा पनि एकअर्काको स्याहार गर्छन्। मेरै आग्रहमा हालसालै पिताजीले पतिले पत्नीको कपाल कोरीबाटी गरिरहेको एक मायालु वृद्धवृद्धाको चित्रकला बनाउनुभएको छ।
आज प्रणय दिवसको अवसरमा प्रणय र प्रेममा रहेका सबै युगल जोडीलाई पिताजीले बनाउनुभएका प्रेमिल चित्रकलाका माध्यमबाट अजम्बरी प्रेम सम्बन्धको शुभकामना।

काठमाडौंको जनजीवन झल्काउने चित्र।
नेवार भोजको रमाइलोयी पनि हेर्नुहोस्: