करिब तीन महिना अगाडि केही सहकर्मीसँगै हेलम्बू गाउँपालिकास्थित शेर्मान्थाङ गाउँ पुगेको थिएँ। शेर्मान्थाङमा बास बस्नका लागि हामी 'याङ्ग्रिमा इको लज' पुग्यौं।
यो लजमा बास बसेपछि केही कुराहरू फरक लागेको थियो। भित्ताहरू सिमेन्टले बनेजस्तो लागेन। भित्तामा हातले ठोक्दा काठमा ठोके जस्तो आवाज आएको थियो। बाहिरको तापक्रम १ डिग्री सेल्सियस पुग्दा पनि कोठामा त्यो अनुसारको चिसो महसुस भएको थिएन।
यस कौतुहुलताले मैले सञ्चालकलाई लजको संरचनाबारे सोधेँ।
त्यसपछि थाहा भयो, यो लज त 'हेम्प' (गाँजा र भाङको डाँठ/रेसा) बाट बनेको रहेछ।
जनकपुरका धिरज कुमार शाहले लज निर्माणमा सहयोग गरेका रहेछन्।
आफ्नो कामको सिलसिलामा जनकपुर पुग्दा मैले तिनै धिरजलाई सम्पर्क गरेँ। हेम्पबाट बनेको विभिन्न सामग्रीहरू हेर्न जानकी मन्दिरको उत्तरतिर रहेको उनको 'मेड इन जनकपुर' को शोरूम हेर्न गएँ र कारखाना पनि पुगेँ।
उनको काम हेरेपछि र उनीसँग संवाद गरेपछि थाहा भयो — धिरजले हेम्पको काम मात्र गरिरहेका रहेनछन्। उनी त शिक्षा, उद्यमशीलता र स्थानीय ज्ञान प्रणालीलाई पुनः परिकल्पना गर्दै नयाँ प्रयोग गर्ने पहलमा लागेका रहेछन्।
प्रस्तुत छ तिनै धिरजको कथा, जो कसैसँग गुनासो नगरी खुरूखुरू आफ्नो वैकल्पिक बाटो बनाउने प्रयास गरिरहेका छन्।
संसार देखेर महसुस भएको अदृश्य हतकडी
शैक्षिक उपलब्धिका आधारमा कक्षा १२ सम्म धिरज औसत विद्यार्थी थिए। उनी पढ्न कोसिस गर्थे, परीक्षामा राम्रो अंक ल्याउन चाहन्थे। तर उनीमाथि कमजोर विद्यार्थीको लेबल लागेको थियो।
इलेक्ट्रोनिक्स एन्ड टेलिकम्युनिकेसन इन्जिनियरिङमा स्नातक गर्न उनी थाइल्यान्डको अजम्सन विश्वविद्यालय पुगे। स्नातक गर्दा उनले तीन जना प्रेरणादायी प्राध्यापक भेट्टाए। त्यसपछि उनी औसतबाट उत्कृष्ट विद्यार्थीको सूचीमा पर्न थाले।
कम्युनिकेसन इन्जिनियरिङमा स्नातकोत्तरका लागि उनी जर्मनीको आर.डब्लू.टी.एच. आखेन विश्वविद्यालय पुगे। त्यहाँबाट दीक्षित भएपछि उनी पोर्चुगलको लिज्बनस्थित 'इन्टिच्युटो सुपेरियर टेक्निको' मा अनुसन्धान गर्न थाले।
थाइल्यान्डबाट पोर्चुगलसम्मको यात्रामा उनले विभिन्न देशका मानिस भेटे। दैनिक १६ घन्टासम्म काम गरे। प्रविधिसँग सम्बन्धित उच्च तहको काममा सहभागी भए।
जर्मनीमा विभिन्न टेलिकम्युनिकेसन कम्पनीका लागि उनी 'अति गोप्य' अनुसन्धानमा सहभागी भए, जुन उनले बाहिर कसैलाई सुनाउन नपाउने बताए। संसारमा थ्रीजी चलिरहेका बेला उनी फोरजी विकासबारे अनुसन्धान गरिरहेका थिए।
पोर्चुगलमा उनी विश्व प्रसिद्ध वाल्ट डिज्ने कम्पनीको एक अनुसन्धान परियोजनामा काम गर्न थाले। यसमा चश्मा बिना सञ्चालन हुने थ्रीडी भिडिओको कोडिङ गर्ने काम थियो। कम्तीमा १८० वटा क्यामरा लाग्ने यो प्रविधिबाट बन्ने फिल्ममा एकतिर बसे एउटा दृश्य र अर्कोतिर बसे अर्को दृश्य आउँथ्यो।
सबै अनुभवबारे धिरज भन्छन्, 'त्यो सबै काम गर्दा देखेँ, टप लेभलमा कसरी काम हुने रहेछ, दुनियाँ कसरी चल्ने रहेछ, नयाँ प्रविधि कसरी आउने रहेछ। अनि मेरो दिमाग खुल्न थाल्यो। संसारको प्रणाली बुझ्न थालेँ।'
यसपछि उनलाई लाग्न थालेछ — हामी संसारका अधिकांश मानिस अदृश्य हतकडीमा फसेका छौं। हामी कसैले बनाएको प्रणालीको बन्धनमा बाध्य भएर बाँधिएका छौं। अनि अफशोसको कुरा, हामीलाई त्यो थाहा छैन।
आफ्नो काममा सहभागी भइरहँदा विभिन्न पक्षमाथि उनी चिन्तन गर्न थाले — हाम्रो समाजको संरचना आज किन यस्तो छ? कसले बनाएको हो? कुनै प्रणाली हामी किन पछ्याउछौं? बिहान ९ देखि बेलुका ५ बजे सम्मको जागिर किन छ?
आफ्नो कामसँगै अनेकौं अध्ययन र अनुसन्धान गरिरहँदा उनलाई लाग्न थाल्यो — १८ वर्षदेखि ६५ वर्षसम्म मानिसको जिन्दगीको सक्रिय समय पूरै अरूबाट नियन्त्रित छ। मानिसले चाहेको कुरा गर्न पाइरहेको छैन। थोरै मानिसहरू मात्र होलान्, जसले आफूले चाहेको कुरा जिन्दगीमा गरिरहेका छन्, त्यसबाट पैसा पनि कमाइरहेका छन्। तर धेरै मानिसहरू काम र जिम्मेवारीमा फसेका हुन्छन्। जागिर भनेको पनि आफ्नो लागि काम गरेको होइन, अरूको लागि गरेको हो। अरू संस्थालाई सहयोग गरेको हो। तर त्यो संस्थाले हाम्रो वातावरणमा के असर पारेको छ, त्यो बारे हामीलाई थाहा हुँदैन।
त्यो क्रममा उनले देखे — कति बहुराष्ट्रिय कम्पनीको उत्पादनमा रसायनहरू मिसाएको जसले मानिसको स्वास्थ्यलाई नकारात्मक असर गर्छ।
महोत्तरीको लोहारपट्टीमा धिरज शाहको समूहले बनाएको हेम्पक्रिटको सानो घर। तस्बिरः शाह हेम्प इन्नो भेन्चर्सउनले भने, 'मानिसहरूले बरू राम्रो कम्पनीलाई सहयोग गरोस्, समाज र वातावरणमा सकारात्मक असर पार्ने संस्थामा काम गरोस्। बिडम्वना, शक्तिमा हुनेहरू यति शक्तिशाली हुन्छन् कि उनीहरूले आफूलाई नै सहयोग गर्ने संरचना बनाउँछन्। जस्तै, फर्मास्युटिकल कम्पनीहरूले नै मेडिकलको पुस्तक लेख्छन्। सिमेन्ट, इँटा, छड आदि उत्पादन गर्नेले नै सिभिल इन्जिनियरिङको किताब लेखेका छन्। सिभिल इन्जिनियरिङको अध्ययनमा सुरूदेखि नै खाली सिमेन्ट र कंक्रिटको हिसाब हुन्छ। औषधिमा पनि रासायनिक औषधिको कुरा हुन्छ, प्राकृतिक औषधिको कुरा हुँदैन। समाजमा यो असन्तुलन छ।'
सबै देखेपछि उनलाई लाग्न थाल्यो — हामी आफ्नो नियन्त्रणमा छैनौं। हाम्रो दिनचर्या, रूचि र मनोविज्ञानमाथि कसैले नियन्त्रण गरिरहेको छ। के खाने, के हेर्ने, के सुन्ने, के पढ्ने, सबै हाम्रो नियन्त्रण बाहिर छ। कुनै विश्वविद्यालयले बनाएको पाठ्यक्रम दुनियाँभरि फैलिन्छ। हामी कतै फसेका छौं। संसारमा धेरै गलत कुरा भइरहेको छ; शिक्षामा, स्वास्थ्यमा, न्याय प्रणाली, सरकार प्रणालीमा।
यो थाहा हुँदै जाँदा उनलाई आफू त्यही प्रणालीलाई योगदान दिने जीवन बिताइरहेको छु भनेर धर्मसंकट पर्यो।
उनले आफ्नै कामप्रति प्रश्न गर्न थाले — मैले दिनरात लगाएर गरिरहेको अनुसन्धानको प्रभाव आखिर के हो त?
'म त डिज्नेको पिरामिडको हिस्सामा नगन्य थिएँ। संसारको नक्सामा मेरो प्रभाव निकै सानो थियो,' उनले भने।
देश र आफूमा आएको भुइँचालो
सन् २०१५ अप्रिलमा आफूसँगै प्रश्न गरिरहेको यस समयमा उनी पोर्चुगलमा थिए। त्यही बेला नेपालमा भुइँचालो आयो।
'नेपाल र मेरो जीवनमा सँगसँगै भुइँचालो आयो। मैले स्वदेश फर्किएर आफ्नो समुदायमा काम गर्ने निर्णय गरेँ,' उनले भने।
१५ वर्ष विदेश बसेको मान्छे, उतै बस्न छाडेर किन नेपाल आउँछौ, आएर के गर्छौ — घरबाट उनलाई धेरै प्रश्न आयो।
उनले बुबालाई भने, 'म हेम्पमा काम गर्न चाहन्छु। यसमा सम्भावना र अवसर खोज्न चाहन्छु।'
हेम्पमा देखेको सम्भावना
इलेक्ट्रोनिक्स र टेलिकम्युनिकेसन इन्जिनियरिङको अध्ययन र अभ्यास गरिरहँदा हेम्पमा काम गर्ने सोच कसरी आयो भन्ने मेरो प्रश्नको जबाफ उनले दिए, 'समाजका समस्याहरूमा अनुसन्धान गरिरहँदा सधैं आउने एक समाधान थियो हेम्प।'
त्यसपछि उनले मलाई हेम्पको लामो कथा सुनाए, त्यसको सारांश यहाँ प्रस्तुत छः
♦ आज जति उद्योग स्थापना भएका छन्, सबै हेम्प बन्देज गरेर स्थापना भएका हुन्। दोस्रो विश्व युद्धका बेला अमेरिकी सरकारले एउटा 'हेम्प फर भिक्ट्री' भन्ने श्वामश्वेत वृत्तचित्र बनाएर सन् १९४२ मा प्रदर्शन गरेको थियो। यसमा अमेरिकी सरकारले आफ्ना नागरिकलाई हेम्प खेती गर्न आह्वान गरेको छ र हौसला दिएको छ ता कि उनीहरू युद्ध जित्न सकून्। त्यो समयमा हेम्पको फाइबर (रेशा) ले जहाजको डोरी बनाइन्थ्यो। हेम्प प्रसिद्ध नगदे बाली थियो। अमेरिकी सरकारले हेम्पलाई एक उद्योगकै रूपमा विकास गर्न खोजेको थियो। सरकारलाई कर समेत हेम्पले तिर्न पाइने थियो।
♦ जब पेट्रोलियम पदार्थको आविष्कार भयो, बिस्तारै उद्योग सञ्चालकहरू प्लास्टिकको प्रयोग बढाउन थाले। प्लास्टिक उत्पादन गर्न प्राकृतिक प्रक्रियामा निर्भर हुनुपरेन। हेम्प जस्तो रोप्नुपरेन। रोपेर ठूलो हुन कुर्नुपरेन।
♦ औद्योगिकीकरणले संसारको माहोल बदलियो। पहिले पहिले प्लास्टिक वा अन्य संश्लेषित उत्पादन केही मजबुत र धेरै वर्ष टिक्ने किसिमका हुन्थे। किनकि मानिसमा अहिले भन्दा बढी इमानदारिता थियो। पछि मानिसहरूले कम गुणस्तरको उत्पादन बनाउन थाले। उनीहरू मानिसहरूले आफ्नो उत्पादन बारम्बार किनिरहुन् भन्ने चाहन्थे।
♦ पहिले पहिले धेरै उत्पादन प्राकृतिक सामग्रीबाटै हुन्थ्यो। उदाहरणका लागि, हेनरी फोर्डले हेम्पकै कार बनाएका थिए जुन स्टिलभन्दा ७ गुणा बलियो थियो। पछि हेम्पमाथि बन्देज लगाएर उद्योगबाट उत्पादित स्टिल प्रयोग गर्न बाध्य भए।
धिरज भन्छन्, 'पहिलो विश्व युद्ध भन्दा अगाडि मानिसहरू प्राकृतिक रूपमा अदभूत जीवन बाँचिरहेका थिए। पछि अरूमाथि नियन्त्रण गर्ने र नाफा बनाउने सोच र शक्ति मानिसहरूमा आयो, उनीहरू भ्रष्ट हुन थाले। यसले धेरै कुरा बदलियो। पहिले धेरै समस्याको प्राकृतिक समाधान थियो। रसायनको आविष्कार र उत्पादन हुन थालेपछि सबै उत्पादनको समाधान रसायन हुन थाल्यो। मानिसहरूले प्राकृतिक समाधानको कुरा नै गरेनन्।'
उनले थपे, 'इन्टरनेटमा हेम्पको उपयोग खोज्दा ५० हजार भन्दा बढी पाउन सकिन्छ। ५० हजारमा ५ सय वा हजार मात्र गर्न सकियो भने पनि ठूलो उपलब्धि हुनेछ। यो नै मेरो प्रेरणाको स्रोत थियो।'
उनले देखे — नेपालमा हेम्प सहज रूपमा उपलब्ध छ तर प्रयोग हुन सकेको छैन। खरानी बनेर वा कुहिएर जान्छ। यसमा यथेष्ट सम्भावना छ। अनुसन्धान गरेर पहिले जति कुरा बन्थ्यो, अहिले पनि बनाउन सकिन्छ। पहिले भन्दा झन् आधुनिक समय भएकाले झन् सहज रूपमा नयाँ नयाँ कुरा गर्न सकिन्छ।
मानिसलाई हेम्प मात्र होइन, सम्पूर्ण वनस्पति संसार नै चाहिन्छ भन्ने उनले सोचे। मानिस प्रकृतिमै निर्भर हुनुपर्छ र प्रकृतिले नै धेरै समस्याको समाधान दिन सक्छ भन्ने बोध भयो।
'हामी सम्पूर्ण रसायनको संसार छाडेर प्राकृतिक संसारको सिर्जना गर्न सक्छौं,' उनले भने।
यही सोचबाट निर्देशित भएर सन् २०१५ अप्रिलमा, भूकम्प आएपछिको ३ महिना पोर्चुगलमै बसेर उनले योजना बनाए। अगस्टमा नेपाल फर्किए। सेप्टेम्बरमा उनी र उनकी श्रीमती निवेदिता वंशलले कम्पनी दर्ता गरे — शाह हेम्प इन्नो भेन्चर्स।
त्यही समयमा केही महिना भारतले गरेको नाकाबन्दीले नेपालमा पेट्रोलियमको अभाव भएको थियो। धिरजले आफूले अनुसन्धान गरेको समस्या आँखै अगाडि देख्न थाले।
हेम्पबाट भवन निर्माण
नेपालमा भूकम्पपछि पुनः निर्माणको योजना अगाडि बढिरहेको थियो। धिरजहरूले निर्माण व्यवसायमा लागेका धेरै संस्था र मानिससँग भेट गरे र निर्माणमा हेम्पको प्रयोग कसरी गर्न सकिन्छ भनेर बताए। तर ग्लोबल फन्डिङको चहलपहल भएको त्यस समयमा हेम्प प्रयोगको ठाउँ नभएको भनेर निर्माण व्यवसायीहरूले उनीहरूलाई पन्छाउन खोजे।
'त्यो ठूलो राष्ट्रिय संकट थियो र हामी पछाडि हट्यौं। आकस्मिक आवश्यकता पूरा नभए पनि दीर्घकालीन आवश्यकता पूरा होस् भन्ने उद्देश्यले काम गर्न थाल्यौं,' उनले भने, 'बरू जसको भूकम्प अगाडिदेखि नै घर छैन वा कम गुणस्तरको घर छ, उनीहरूको घर बनाउने अभियानमा जुट्यौं।'
मानिसहरूले माटो, पराल र बाँस त पहिल्यै प्रयोग गरेका थिए। त्यसमा हेम्प थपेर घर बलियो बनाउने तरिका उनीहरूले सिकाए। स्वस्फूर्त रूपमा आफ्नै स्रोतमा धनुषाको केही घरमा हेम्प प्रयोग गरेर निर्माण गरे। वडा र गाउँमा मानिसहरूले सिफारिस गरेको केही विपन्न मानिसको घर छानेका थिए।
उनीहरूले पैसा र सामान आफूले ल्याउने र सबै व्यवस्थापन र सकेको श्रम घरमालिकले गर्नुपर्ने सर्त राखे।
कति गैरसरकारी संस्थाले विपन्नहरूका लागि पक्की घर बनाइदिएका थिए। तर उनीहरू त्यो घर भाडा लगाएर झुपडीमै बसिरहेको धिरजले देखे। कारण सोध्दा, सिमेन्ट र टिनको घर जाडोमा धेरै चिसो र गर्मीमा धेरै गर्मी हुने, बरू माटोकै घरमा नै आनन्द आउने उनीहरूले बताए।
धिरजको संस्थाले फरक तरिका अपनायो। उनीहरूले मानिसहरू बसिरहेकै घरलाई हेम्पसँगै उनीहरूले नै प्रयोग गर्ने सामग्री, उनीहरूकै सीपको मदतमा मजबुत बनाए।
यो अनुभवबाट उनीहरूले यस्तो परियोजनाबाट कसरी मानिसमा प्रभाव कसरी पार्न सकिन्छ भन्ने सिके — मानिसहरूलाई घरको अपनत्व होस्, दिगो राख्न पनि सहज होस्!
आफ्ना जर्मनीका साथीहरूको सहयोगमा धिरजले यो परियोजना गरेका थिए।
यसपछि धिरजको टिम हेम्पबाटै ठूलो भवन पनि बनाउनेबारे सोच्न थाल्यो। सन् २०१६ फेब्रुअरीमा जनकपुर ट्रमा हस्पिटलबाट यो काम सुरू गर्ने निर्णय गरे। यसका लागि इन्टरनेसनल हेम्प बिल्डिङ एसोसिएसनका संस्थापक र निर्देशक स्टिभ एलिनलाई नेपाल बोलाए।
स्टिभ नेपाल आए र आफ्नै ठाउँको माटो र रूकुमबाट ल्याएको हेम्प मगाएर दुइटा भित्ता बनाउन सिकाए। सुरूमा नेपालकै चुना ल्याए तर गुणस्तरले धानेन। त्यसैले चुना चाहिँ भारतबाट मगाए।
यो अस्पताल बनाएपछि धिरजकहाँ विभिन्न परियोजना आउन थाले। उनीहरूले सिरहाको लहानमा मन्टेश्वरी स्कुलका कोठा बनाए। सप्तरीको कन्चनपरमा विद्यालय भवन बनाए।
सिन्धुपाल्चोकबाट इन्जिनियर र व्यवसायी गोपाल लामाले उनीहरूलाई लज बनाउन बोलाए। हेलम्बूको शेर्मान्थाङ गाउँमा हेम्पको 'याङ्ग्रिमा इको-लज' बनाए।
हेलम्बूको शेर्माथाङस्थित याङ्ग्रिमा इको लज। तस्बिरः शाह हेम्प इन्नो भेन्चर्स'२७०० मिटर उचाइमा हेम्प प्रयोग गरेर कतै कुनै भवन बनेको छैन। त्यसैले त्यो त संसारका लागि पनि एक नमूना परियोजना हो,' धिरजले भने।
शेर्मान्थाङमा करिब एक हप्ता बसेर उनीहरूले हेम्पको भित्ता बनाउन सिकाए। जाडोमा धेरै चिसो नहुने भएकाले त्यसबाट समुदाय नै प्रेरित भएको उनीहरूको अनुभव छ।
त्यस बेला जो जो आएर सिकेका थिए, पछि उनीहरू नै तालिमप्राप्त मिस्त्रीका रूपमा तयार भए। अचेल उनीहरू यस्ता विभिन्न परियोजनामा काम गरिरहेको धिरज बताउँछन्।
उनीहरूले लाङटाङको ट्रेकिङ रूटको शेर्पा गाउँ, मुन्डु, थाङ्स्यामा पाँच वटा होस्टेल इन्सुलेट गर्ने परियोजना पनि सम्पन्न गरे।
लाङटाङको ट्रेकिङ रूटमा धिरज शाहको समूहले बनाएको नमस्ते गेस्ट हाउस जसमा हेम्प, चुना र प्राकृतिक रङको प्रयोग गरिएको छ। तस्बिरः शाह हेम्प इन्नो भेन्चर्सभवनसँगै हेम्पको अन्य उत्पादन
एक पटक धिरजले चिनेको भाइले झोलाहरू बनाउने अर्डर पाए। धिरजलाई भेटेर उनले हेम्पको झोला बनाउन चाहेको बताए। यो समयसम्म धिरजले हेम्पलाई निर्माण बाहेक अन्य उत्पादनमा प्रयोग गर्ने सोचिसकेका थिएनन्। उनले ती भाइलाई हेम्प उपलब्ध गराए। तर उनले झोला उत्पादन गर्न सकेनन्।
ती भाइको जिम्मेवारी पूरा गर्न धिरजले सानो कारखानै खोले। जनकपुरबाट ५ किलोमिटर दूरीमा रहेको लोहना गाउँमा झोला बनाउने कालिगढ रहेको उनीहरूले पत्ता लगाए। उक्त गाउँका अधिकांश मानिस झोला बनाउन भारतका विभिन्न सहर जान्थे। त्यही गाउँका कालिगढले हेम्पको झोला बनाइदिए।
'आज पनि त्यही गाउँकै मानिसहरू कालिगढ छन्। उनीहरू आफै नयाँ नयाँ प्रयोग गर्छन्। त्यसैले हामीसँग फरक फरक उत्पादन छन्,' धिरजले भने।
एक दिन कालिगढहरूले उनलाई भने, महिलाले बोक्ने झोला पनि बनाऔं। बुट्टा भएको बनाऔं।
यसरी अहिले कालिगढको सिर्जनात्मकता र प्रस्ताव अनुसार झोला बनिरहेको धिरजले बताए। यसबाट मानिसहरूलाई रोजगारी मिलेको छ। नयाँ डिजाइनहरू आएका छन्। र, काममा मानिसहरूको अपनत्व भएको छ।
आफ्नो उत्पादनका लागि धिरज स्थानीय, देशमा र संसारमा बजार खोज्ने प्रक्रियामा छन्।
कोरोना अगाडि उनीहरू धेरै उत्पादन निर्यात गर्थे। अन्तराष्ट्रिय सभा सम्मेलनका लागि अमेरिका लगायत युरोपका देशहरूमा झोलाहरू पठाउँथे। कोभिड पछाडि धेरै सभा–सम्मेलन अनलाइनमा सरे। उनीहरूको सामान निर्यातमा कमी आयो।
त्यसपछि उनीहरूले नेपालकै बजार बुझ्न थाले।
उनीहरूले देखे — नेपालमा कम गुणस्तरका झोला आउँछन्। झोला छिट्टै त फाट्छ नै, प्रदूषण पनि बढ्छ।
त्यसपछि उनीहरू स्कुल जाने बालबालिकाका लागि टिकाउ झोला बनाउन थाले।
अहिले उनीहरू हेम्पबाट झोलासँगै कागज, तेल, साबुन लगायत दुई सय भन्दा बढी उत्पादन गर्छन्। ड्रिल, ग्राइन्डर, ल्यापटप आदि राख्ने झोला पनि छ। अरू विभिन्न औजार राख्ने झोला बनाउने प्रक्रियामा छन्।
मेड इन जनकपुर
धिरजले आफ्ना उत्पादन जानकी मन्दिरको उत्तरतर्फ 'मेड इन जनकपुर' नामको शोरूम राखेर चिनाइरहेका छन्।
मेड इन जनकपुर नामबारे उनले भने, 'हामीले स्थानीय रूपमा धेरै कुरा गरिरहेका छौं। विभिन्न समस्याको दिगो समाधान निकाल्न सकेका छौं। जनकपुरमा के के उपलब्ध छ र के के बनाउन सम्भव छ भन्ने हेरेर हामीले आफैलाई चुनौती दिएका छौं। जनकपुरमा नभए नेपालका अन्य ठाउँबाट ल्याउँछौं। विदेशबाट केही ल्याउन नपरोस् भन्ने हाम्रो चाहना हो।'
धिरजका अनुसार कुनै समयमा हेम्पको कागज बन्थ्यो जुन चार–पाँच सय वर्षसम्म टिक्थ्यो। कागज उद्योगहरू नेपालमा पहिल्यै थिए। उनले तिनै उद्योगबाट कागज बनाए। हेम्पको कागज उत्पादन गरेर मिथिला चित्रकला बनाउने कलाकारलाई दिए। उनीहरूले अगाडि नै बनाएको चित्र फेरि हेम्पको कागजमा बनाए।
दुई कागजबीचको फरक देखेपछि कलाकारहरू चकित भए। हेम्पको कागजमा बनाएको चित्र टल्किरहेको थियो।
'विज्ञानले हेम्प कागजबारे भनेको कुरा हामीले प्रयोगमै महसुस गर्यौं,' उनले भने।
त्यसपछि सबै कलाकारलाई उनीहरूले हेम्प कागज दिइरहेका छन्। हेम्प कागजमा बनेको चित्रकला कम्तीमा सय वर्ष संरक्षित हुने धिरज बताउँछन्।
'जनकपुरमा हामी मिथिला चित्रकला प्रवर्द्धन गर्न चाहन्छौं। मिथिला चित्रकला पहिले घरको भित्तामा हुन्थ्यो, पछिल्लो समय कागजमा आउन थाल्यो। हामीले मिथिला चित्रकलालाई कागजबाट कपडामा ल्याउन थाल्यौं, झोलामा ल्याउन थाल्यौं। अफ्रिकाको ट्राइबल आर्ट जस्तै पुरानो कला हो यो। यो कला बचाउनुपर्छ, जिवन्त राख्नुपर्छ। नयाँ पुस्तालाई पनि यसमा रूचि जगाउनुपर्छ।'
उनले थपे, 'मिथिला चित्रकला गर्ने धेरै ठाउँ व्यापारिक मात्र भएका छन्। कलाकारबारे सोच्दैनन्। हामीले भने कलाकारको पनि स्थान हुने एउटा पूर्ण प्रणाली बनोस् भन्ने सोचेका छौं। हामी कलाकारलाई सहयोग र प्रवर्द्धन गर्छौं। सिर्जना गर्ने ठाउँ र आर्थिक उपार्जनको अवसर उपलब्ध गराएका छौं।'
अब नेपालमा उत्पादित कपडा भन्दा बढी गुणस्तरीय कपडा उत्पादन गर्न आफै अनुसन्धान गरिरहेको धिरज बताउँछन्।
'हामीले नेपालमा जे छैन, त्यो बनाउन खोजेका छौं। हामी आफ्नै कारखाना खोल्न सक्थ्यौं तर खोलेका छैनौं। अरू कारखानाबाट कपडा किनेका छौं। हामीले किन एक अर्कासँग प्रतिस्पर्धा गर्ने? सहयोग र सहकार्य पो गर्ने हो त! आफ्नो ऊर्जा जुन चीज यहाँ छैन, त्यसलाई विकास गर्न पो लाउने हो त।'
शिक्षामा काम गर्ने सपना
हेम्प लगायत प्राकृतिक सामग्रीबाट उत्पादन र निर्माणसँगै धिरज शिक्षामा काम गर्ने योजना बनाइरहेका छन्। उनी अमेरिकन चलचित्र 'एक्सेप्टेड' बाट उत्प्रेरित छन्। यस फिल्ममा कलेज बीचमै छाडेका युवाहरूको एउटा कलेज छ। उनी त्यस्तै सिकाइ केन्द्र स्थापना गर्ने प्रक्रियामा छन्।
'बालबालिकाहरू खेल खेल्छन् नि! मलाई लाग्छ समय क्रममा खेलौनाहरू परिवर्तन हुँदै जानुपर्छ। समग्र जीवन नै खेल्नुपर्यो। प्रतिस्पर्धा र परीक्षाबिनै बालबालिकाले आफ्नो सिर्जनात्मकता प्रस्फुटन गरिरहुन्। जेमा रूचि लाग्छ, त्यो गर्दै गएपछि त्यसमा मानिस विज्ञ हुन थाल्छ,' उनले भने।
पढ्न नपाएका र समाजले असफल भनेकाहरूका लागि पनि धिरज सिक्ने प्रयोगशाला बनाउने प्रक्रियामा छन्।
नेपालको शिक्षाबारे उनी भन्छन्, 'आज हाम्रोमा सैद्धान्तिक परीक्षा धेरै नम्बरको र प्रयोगात्मक थोरैको हुन्छ। त्यसलाई उल्ट्याउनुपर्छ। जति प्रयोग गर्यो उति नै हात, दृष्टि, स्मृति तथा स्नायु अंगहरूको विकास हुन्छ।'
उनले थपे, 'हामीले बालबालिकालाई ठूलो भएर के बन्ने भनेर होइन, संसारको के समस्या समाधान गर्न चाहन्छौ भनेर सोध्नुपर्छ। जीवन र जगतको दर्शन पनि सिकाउनुपर्छ। सिकाउने जिम्मेवारी सक्षम मानिसलाई दिनुपर्छ।'
सरकारसँगको सहयोग
सरकारसँग काम गर्दाको कस्तो अनुभव छ भन्ने मेरो प्रश्नमा धिरजले भने, 'म सरकारमा निर्भर नै छैन। कसैमाथि निर्भर भयो भने त्यहाँ निराशा आइहाल्छ। धेरै मानिसहरू सरकारले सबै थोक गरिदिओस् भन्ने अपेक्षा गर्छन्। मानिसहरूले बुझ्नुपर्छ, सरकार पनि एउटा मानिस जस्तै नै हो। उसले पनि आफूलाई सुरूमा हेरेर मात्र अरूलाई गर्न सक्छ। हाम्रो सरकार आफैको समस्या यति धेरै छ कि उसले व्यक्तिको समस्या हेर्नै सक्दैन। कानुन ल्याएर त्यसको कार्यान्वयन गर्ने मात्र न हो।'
उनले थपे, 'सधैं सरकारले व्यक्तिलाई सहयोग गर्नुपर्छ भन्ने पनि होइन। सरकारलाई पनि व्यक्तिहरूको सहयोग चाहिन्छ। किनकि उसलाई पनि विभिन्न समस्याको समाधान चाहिएको छ। सरकारलाई कुनै सहयोग चाहिन्छ भने हामी सहयोग गर्न तयार छौं।'
गाँजाबारे सरकारको नीतिबारे धारणा
धिरजले 'हेम्प' नामको गलत प्रयोग र बुझाइ भएको देखेका छन्।
उनले व्याख्या गरे, 'कुनै बोट जसको बाहिरी भाग निकालेर रेसा बनाउन सकिन्छ, त्यसलाई हेम्प भनिन्छ। जुट, अलौ, भाङ पनि हेम्प हो, गाँजा पनि हेम्प हो। क्यानाबिसलाई चाहिँ साझा रूपमा हेम्प भनिन्छ किनकि यसको रेसा सबभन्दा मजबुत हुन्छ। मजबुत भएकैले हेम्प भन्ने बित्तिकै गाँजा र भाङ जनाउने साझा नाम क्यानाबिस पर्यायवाची भएको हो।'
धिरजका अनुसार, सन् १९६१ मा संयुक्त राष्ट्र संघले लागूऔषध सम्बन्धी एकल महासन्धि अपनाउने कुरा पारित गरेको थियो। यो महासन्धिको उद्देश्य समन्वय अन्तर्राष्ट्रिय हस्तक्षेप मार्फत लागुऔषध उपभोग विरूद्ध लड्नु थियो। यसले गाँजा, भाङ, हेरोइन सबैमाथि संसारभर बन्देज लगायो।
त्यसपछि युरोपले आनुवंशिक प्रयोग गरेर क्यानाबिसमा नशा लाग्ने पदार्थ टेट्राहाइड्रोक्यानाबिनोल (टिएचसी) को मात्रा कम गरेर नयाँ वनस्पति बनायो। यसलाई 'औद्यौगिक हेम्प' भनियो जुन औद्योगिक प्रयोजनमा प्रयोग हुने भयो। त्यसअघि क्यानाबिस औषधिमा पनि प्रयोग हुन्थ्यो। अमेरिकामा सय भन्दा बढी औषधि गाँजाबाट बन्थ्यो।
'आज विभिन्न देशमा औद्यौगिक हेम्पको खेती हुन्छ। धेरै देशमा आनुवंशिक प्रयोग गरेर बिउ बनाइन्छ,' उनले भने, 'नेपालमा भने यसको खेती गर्ने नियम लागू भइसकेको छैन। हामी गाँजाको कानुन बन्ने प्रक्रियामा छौं। तर टिएचसी ०.३ भन्दा कम भएको गाँजा मात्रा उत्पादन गर्ने नीति आयो भने हाम्रो प्राकृतिक प्रजाति हराउँदै जान्छ।'
अब कस्तो कानुन आउँछ थाहा छैन, तर अहिले जस्तो चलेको छ, त्यो पनि राम्रो भएको उनी बताउँछन्।
संवादको अन्त्यमा मैले धिरजलाई युवाहरू बिदेसिने प्रवृतिबारे सोधेँ।
उनले सक्षम भएर जान सुझाउँदै भने, 'सक्षम भएपछि जहाँ भए पनि फरक पर्दैन।'
अनि लामो सुस्केरा लिँदै फेरि भने, 'मानिसहरू गाउँ छाडेर सहर गइरहेका छन्। देश छाडेर विदेश उडिरहेका छन्। म चाहिँ उल्टो गरिरहेको छु। अब अहिले बसेको बजार छेउको गाउँबाट अझै भित्रको गाउँमा जान चाहन्छु।'
***
एक्स (ट्विटर)- @mani_bijaya
(विजयमणि पौडेलका अन्य लेख पढ्न यहाँ क्लिक गर्नुस्।)