'मैले सभापतिलाई चिनेकै रहेनछु कि जस्तो लाग्यो आज!'
मदन भण्डारी फाउन्डेसनले आइतबार चौथो राष्ट्रिय सम्मेलन आयोजना गरेको थियो। त्यसका प्रमुख अतिथि थिए प्रधानमन्त्री केपी शर्मा ओली। उनले फाउन्डेसनका अध्यक्ष उषाकिरण भण्डारीमा राजनीतिक, वैचारिक निखारता देखिएको भन्दै प्रशंसामा यसरी शब्द खर्चिएका थिए।
सम्मेलनको अध्यक्षता गरेकी उषाकिरण दिवंगत नेता मदन भण्डारीकी छोरी हुन्। उनी २०७८ चैतदेखि फाउन्डेसनको अध्यक्ष छिन्। चौथो राष्ट्रिय महाधिवेशनले पनि उनैलाई नेतृत्वमा नवीकरण गर्यो। अर्थात् उनी सम्मेलनबाट सर्वसम्मत अध्यक्ष चुनिइन्।
सम्मेलनको उद्घाटन सत्रमा प्रमुख अतिथिको रूपमा बोल्दै प्रधानमन्त्री ओलीले उषाकिरणको मन्तव्यमा गहन राजनीतिक चिन्तन प्रतिविम्बित भएको बताएका थिए।
'मैले फाउन्डेसनका अध्यक्षजीको मन्तव्य सुनेँ। आजको वैचारिक प्रश्नहरूको सन्दर्भमा उहाँको मन्तव्य आफैमा पूर्ण दृष्टिकोणको रूपमा आएको छ। यो एउटा स्वागत मन्तव्य मात्रै छैन, वास्तवमा गहन चिन्तनको रूपमा छ,' उनले भने, 'मैले सभापतिलाई चिनेकै रहेनछु कि जस्तो लाग्यो आज! धेरै गहन विचार, विश्लेषण आएका छन्। आज छलफल गर्नुपर्ने विषयहरू संगठनका अध्यक्षले वक्तव्यमा उठाउनुभएको छ।'
प्रधानमन्त्री ओलीले फाउन्डेसनका अध्यक्ष उषाकिरणको मन्तव्य पत्रिकामै प्रकाशित गरेर दोहोर्याइ, तेहेर्याइ पढ्नुपर्ने समेत बताए।
'यी विषय एक पटक सुनियो, सकियो होइन। तीन पटक पढ्नुपर्छ। के के कुरामा जान आवश्यक छ, छलफल गर्न आवश्यक छ, त्यसमा जान आवश्यक छ भनेर मनन गर्नुपर्छ,' उनले भने।
प्रधानमन्त्री ओली सित्तिमित्ति अरूको प्रशंसा गर्दैनन्। बरू आत्मप्रशंसा, आत्ममुग्धतामा चाहिँ रमाउँछन् भनेर एमालेका नेताहरूले नै आरोप लगाउँछन्।
त्यसो त, प्रधानमन्त्रीको सार्वजनिक मन्तव्य सुन्ने हो भने पनि कि त विपक्षीको कटु आलोचना कि आत्मप्रचार नै ज्यादा भेटिन्छ। पूर्वराष्ट्रपति विद्या भण्डारी राजनीतिमा फर्किने राजनीतिक हावा चलिरहेका बेला प्रधानमन्त्री ओलीले उनकै छोरी उषाकिरणबारे मुक्त कण्ठले किन प्रशंसा गरे भनेर एमाले नेताहरूलाई चासो छ।
कतै उषाकिरणलाई एमालेको सक्रिय राजनीतिको निम्तो त दिएका होइनन् भन्नेसमेत उनीहरूले लख काटेका छन्।
धेरैलाई थाहा नहुन सक्छ, उषाकिरण एमालेकै राजनीतिमा आबद्ध छिन्। दिवंगत बाबु एमालेको महासचिव, आमा विद्या भण्डारी दुई पटक पार्टी उपाध्यक्ष (आठौं र नवौं महाधिवेशन) र गणतन्त्रको सर्वोच्च संस्था राष्ट्रपति दुई कार्यकाल (२०७२, २०७४) भएकाले पनि उनका लागि एमालेमा क्रियाशील हुन सजिलो छ।
उनी २०६०–६१ सालदेखि नै एमालेको संगठित सदस्य छिन्। भूगोल (काठमाडौं–१) मा उनको पार्टी सदस्यता छ।
त्यसो त उनी पार्टी भूगोलमै क्रियाशील पनि थिइन्। २०७८ साल (छैठौं जिल्ला अधिवेशनबाट)मै उनी एमालेको काठमाडौं जिल्ला कमिटी सदस्य भइसकेकी हुन्। २०७९ सालदेखि भने उनी पार्टीको परराष्ट्र मामिला विभाग सदस्य छिन्। त्यति बेला राजन भट्टराई उक्त विभागका प्रमुख थिए। अहिले रघुवीर महासेठ विभाग प्रमुख छन्।
एमालेकै केन्द्रीय विभाग सदस्य भए पनि पार्टीका मञ्चमा विरलै देखापर्ने र मदन भण्डारी फाउन्डेसनलाई जनस्तरमा पुर्याउन बढी समय दिएकी भण्डारी राजनीतिमै क्रियाशील हुनेबारे आफै चाहिँ के सोचिरहेकी छन् भनेर हामीले सोध्यौं।
उनले तुरून्तै राजनीतिमा सक्रिय हुनेबारे अहिले नै सोचिनसकेको बताइन्।
'म तुरून्तै राजनीतिमा सक्रिय भइहाल्नेबारे सोचेको छैन। फाउन्डेसनमा पुनः अध्यक्ष चुनिएकी छु। फाउन्डेसनकै माध्यमबाट मदन भण्डारीका विचार, दृष्टिकोणलाई अझ जनस्तरमा पुर्याउने, जबजलाई समाजवादमा संक्रमण तुल्याउन आर्थिक, राजनीतिक क्षेत्रमा गर्नुपर्ने काम के हुन्, त्यसबारे बहस, विमर्श गर्नेछु,' उनले सेतोपाटीसँग भनिन्।
राजनीतिक परिवारमा हुर्किएकाले र एमालेको मार्गदर्शक सिद्धान्त जनताको बहुदलीय जनवादका प्रवर्द्धक मदन भण्डारीकी छोरी भएकाले पनि उनी राजनीतिमा आउँछिन् कि आउँदिनन्, सांसद, मन्त्री हुने आकांक्षा पो छ कि भनेर मानिसहरूले प्रश्न गर्छन्।
यसबारे उनको लघु जबाफ हुने गरेको छ – राजनीतिमै सक्रिय हुनेबारे मैले सोचिसकेकी छैन।
२०७९ सालमै उनी प्रतिनिधि सभाको उम्मेदवार बन्ने हल्ला चलेको थियो। काठमाडौं–२ बाट उनी उम्मेदवार बनाइने चर्चा चलेको थियो। त्यसलाई उनी स्वयंले खण्डन गरेकी थिइन्।
'म चुनाव लड्दैछु भनेर गरिएका प्रचारले इरिटेट भइसकेँ। संसदीय चुनावमा प्रत्यक्ष लड्ने वा समानुपातिकमा बस्ने विषयमा मेरो कुनै रूचि छैन। काठमाडौं–२ मा लड्ने भन्ने कुरा निराधार हो,' त्यति बेला पनि उनले सेतोपाटीसँग भनेकी थिइन्।
अहिले पनि उनले यसबारे सोचिनसकेको बताइन्।
त्यति बेला पनि उनले आफ्नो लगाव फाउन्डेसनप्रति नै रहेको बताएकी थिइन्।
'सक्रिय राजनीतिमा आउने मेरो सोच छैन। आफ्नो अध्ययन र क्षमता अनुसारको काम मैले गरिरहेकी छु,' उनले भनेकी थिइन्।
आफ्ना नीति, विचार, दृष्टिकोण दिन पाइने र सक्रिय राजनीति गर्नुनपर्ने हुनाले परराष्ट्र मामिला विभागको सदस्य बनेको उनले बताइन्।
एमालेकै कतिपय नेताले उनलाई काठमाडौंको कुनै क्षेत्रबाट प्रतिनिधि सभाको उम्मेदवार बनाउने चर्चा भइरहेको बताएका छन्। आउँदो आम निर्वाचनमा काठमाडौंको कुनै निर्वाचन क्षेत्रमा उनी उम्मेदवार भएमा अनौठो मान्नुनपर्ने ती नेताहरूको दाबी छ।
पछिल्लो समय काठमाडौंमा एमालेको उपस्थिति ह्वात्तै खस्किएको छ। कीर्तिपुर नगरपालिकाको उपनिर्वाचनले पनि यसलाई पुष्टि गर्यो। कीर्तिपुरको उपनिर्वाचनमा माओवादी भन्दा पनि पछि परेर तेस्रो भयो।
२०७९ सालको निर्वाचनमा सामानुपातिकतर्फ प्रतिनिधि सभा र प्रदेश सभामा पहिलो भएको थियो। प्रतिनिधि सभाको समानुपातिकमा काठमाडौंका १० निर्वाचन क्षेत्रबाट कुल ५ लाख ३५ हजार ९७९ मत ल्यायो। प्रदेश सभामा ६ लाख ५ हजार ३५१ मत ल्यायो। प्रतिनिधिको समानुपातिकमा एमाले पहिलो, नेपाली कांग्रेस दोस्रो र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तेस्रो भएको थियो।
प्रदेश सभा निर्वाचनतर्फ रास्वपा निर्वाचन नै लडेको थिएन। माओवादी केन्द्र तेस्रो भयो।
तर प्रत्यक्षतर्फ प्रतिनिधि सभामा एमालेले काठमाडौं–९ मात्रै जित्न सक्यो। कांग्रेसले पाँच (निर्वाचन क्षेत्रः १, ३, ४, ५, १०) र रास्वपा (निर्वाचन क्षेत्रः २, ६, ७, ८) ले चार स्थान जितेका थिए।
एमाले काठमाडौंमा नेतृत्व संकट बेहोरिरहेका बेला उषाकिरणलाई अघि सार्ने सम्भावना रहेको ती नेताले बताए।
एमाले स्थायी कमिटी सदस्य कर्ण थापा भने उषाकिरण तत्काल राजनीतिमा जाने सम्भावना नरहेको बताउँछन्।
फाउन्डेसनमार्फत् मदन भण्डारीका विचार प्रवर्द्धन गर्ने र त्यसमाथि बहस, विमर्श चलाएर अझ समृद्ध बनाउने कार्यक्रममा लागे पनि राजनीतिमा होमिएर सांसद, मन्त्री बनिहाल्ने इच्छा उनको नरहेको थापाको दाबी छ।