त्यो बिहान हामी अलि ढिलो उठ्यौं। खासमा प्रोगाम हाउसमा कक्षा साढे नौ बजेतिर सुरू हुनुपर्ने हो तर दस नबजी कहिल्यै सुरू हुन्नथ्यो। ढिलो सुरू हुनुको अर्थ कक्षा ढिलो सकिनु पनि हो।
तर मान्छेसँग कुरा गरी भ्याएर, कफी वा चिया पिएपछि मात्रै आरामले हामी कक्षा प्रवेश गर्थ्यौं। कक्षामा मेघनले फोन गरेकी थिइन्। ब्रायन र मलाई बेलुका भेट्न बोलाइन्। साँझ ६ बजेतिर भेट्ने सल्लाह गर्यौं।
ब्रायन र मबाहेक प्रोगाम हाउसका सबै बेलुकासम्मै नानाथरी छलफलमा बस्ने भएछन्। त्यस्ता छलफलका विषय प्रायः रेसलिङमा नाटकीय झगडा, होवार्ड स्टर्न, ड्रग्स लगायतका विषय हुन्थे। जुन विषयबारे जान्न वीरेन्द्रको औधी रूचि हुन्थ्यो।
कक्षापछि हामी खाजा खान गयौं। सदाझैं वेस्टर्न खाना असाध्यै नमिठो थियो। खानै नसकिने अवस्थामा पुगिसकेको थिएँ म। मलाई लाग्थ्यो, कुकलाई यस्तो तरिकाले खाना बनाउन भनिएको थियो जुन देख्दा अजिबको होस्। जस्तै, नघोलिएको, नपाकेको, चपाउँदा किरिक-किरिक हुने दाल। सायद हामीजस्ता गोराको खान्की यस्तै हो भन्ने लाग्दो हो।
साँच्चै भन्दा मलाई ठ्याक्कै नेपाली पाराकै दालभात मनपर्छ। पहेँलो दाल, मज्जाले पाकेको, जिम्बु र लसुनले झानेको।
उनीहरू कहिलेकाहीँ बुरिटो बनाउँथे। त्यो पनि स्वादबिहीन रोटीजस्तो लाग्थ्यो मलाई। जसमा सिंगै राजमा, नपखालेको लिट्युस (साग) र केही हरिया खुर्सानी छरिएका हुन्थे। यदि भाग्य भए, अलिकति चिज पनि राखिदिएका हुन्थे। हाँस उठ्दो कुरा, कुक आफैं पनि त्यो खाना नखाँदो रहेछ।
आफैंलाई खान मनलाग्ने खाना अरूका लागि कसरी बनाउन सक्छन् होला।
उनीहरूले आफूलाई पक्का नेपाली दालभात बनाएका हुँदा रहेछन् जुन म पनि खान चाहन्थेँ। तर त्यो खाना मलाई दिन्थेनन्। यो गोराको खान्की यस्तै हुनुपर्छ, जुन हामी खान सक्दैनौं भन्ने खालको पो हो कि।
पश्चिमा मुलुकले पूर्वीय संस्कृतिलाई साक्षात्कार गर्नुका अद्भूत अनुभूति मैले भोगिरहेको थिएँ। हामीले खाँदै गर्दा एक समुहको दहीमा कपालको रेसा पनि देखा परेछ। जे होस् उनीहरूको कपालको लागि कवच आवश्यक देखेँ मैले। होटलका साहुजीले भान्छेलाई बेसबल क्याप उहिल्यै दिएका थिए रे। तर क्याप उनीहरूका छोराछोरीको टाउकोमा पुगेछ।
उनीहरूले अहिलेसम्म बनाएको सबभन्दा मिठो खाना मःम हो। जसलाई हामी तिब्बेतियन डम्प्लिङ भन्थ्यौं। सागसब्जी, बन्दा हालेर बनाइएको शाकाहारी मःम पनि मैले चाखेको थिएँ। खासै स्वादिलो लागेन मलाई। मासुवाला मःम एकदम स्वादिष्ट थियो। तर मःम बफाउनुभन्दा तारेको भए हुन्थ्यो। विनोद दाइले हामी गाँउबाट फर्केपछि घरमै मःम बनाउने भन्नुभएको थियो।
साँझको ६ बजिसक्दा पनि मेघनको अत्तोपत्तो थिएन। कतै उनी प्रोगाम हाउसतिरको बाटो अलमलिएर अर्कै ठाउँ पुगिन् कि? बिहान फोनमा कुरा गर्दा प्रोगाम हाउस ठ्याक्कै कता भनेर उनले ठम्याउन सकेकी थिइनन्।
मेघनलाई बाटो देखाउन सजिलो होस् भनेर म तल ओर्लिएर सडक नजिकैको किराना पसलमा कोक पिउन थालेँ। केही क्षणमै मेघन र कार्ला स्याँस्याँ गर्दै आइपुगे। उनीहरूले भाटभटेनीबाट मेरा लागि किसमिस भएको पाउरोटी र जाम ल्याएका थिए। दंग परेर मैले कपाकप खाएँ।
मेघनले क्यासिनो जान सुझाइन्। जान रहर लागेको थियो तर ब्रायन आइपुगेको थिएन। ब्रायनले ४ नबज्दै प्रोगाम हाउस आइपुग्छु भनेर हिँडेको थियो। तर उ सधैं यस्तै हो, कहिल्यै भनेको समयमा आइपुग्दैन।
ब्रायन आइपुग्दा साढे ६ बजिसकेको थियो। ऊ बाँसुरी सिकाउने शिक्षकसँग तोङ्बा खान 'डब्बल दोर्जे' गएको रहेछ। (यो पनि पढ्नुस्ः मरेर नर्क गए पनि तोङ्बा खान पाइयोस्)
उसले धेरै खाइसकेको रहेछ। अलि झुम्म परेर प्रोगाम हाउस आइपुगेको थियो। क्यासिनो जाने कुरा ब्रायनलाई त्यति मनपरेन किनकी उसँग धेरै पैसा थिएन।
बरू प्रोगाम हाउसको छतमा बसेर गाँजा खाऔं र रमाइलो गरौं भन्ने उसको प्रस्ताव थियो। मेघनलाई ब्रायनको कुरा झन् चित्त बुझ्यो। उसँग पनि तीनथरीका गाँजाको भण्डार नै रहेछ। ब्रायनको आफ्नै ब्राण्ड छ। मेरो अनिच्छाका बाबजुद ब्रायनको मित्रताको खातिर म उनीहरूसँगै प्रोगाम हाउसको छतमा बस्न बाध्य भएँ। हामी चारमध्ये मैले मात्र गाँजा खाइनँ। बाँकी सबैले दिमाग सड्किने गरी तान्न भ्याए।
क्यासिनो जानुअघि ब्ल्याक ज्याक खेल राम्ररी अभ्यास गरेर जाऔं भन्ने कार्लाको सुझाव थियो। मलाई सुझाव ठीक लाग्यो।
अभ्यासको जुवामा राख्न हामीसँग दाउ थिएन। त्यसैले भान्छाकोठाबाट एक झोला आलु लिएर आएँ जुन हामीले चिप्सका रूपमा प्रयोग गर्यौं। केहीछिन अभ्यासपछि क्यासिनो जानुको सट्टा डिनर खान निस्कियौं। खानापछि हामी सबै प्रोगाम हाउसै फर्कियौं। राती साढे १० तिर ब्रायन छतमा सुत्न गयो। म भुइँतलामा, मेघन बिरामी कोठामा। कार्लाको सुताइ कता भयो, थाहा भएन।
भोलिपल्ट बिहान मैले मेरो झोला भेट्टाइनँ। मेघन र कार्ला माइक्स ब्रेकफास्टमा नास्ता खान जान चाहन्थे। मेरो लागि त्यो अलि महँगो रेस्टुरेन्ट हो। उता मेरो वालेटसहितको झोला नभेटेपछि म उनीहरूसँग नास्ता खान जान यसै पनि सकिनँ। उनीहरू त्यही दिन फ्लाइटमा पोखरा जाने तरखरमा थिए। उनीहरू कोरनोल युनिभर्सिटीका अरू साथीका साथ अन्नपूर्ण सर्किट पदयात्रामा जाँदै थिए।
घन्टौंसम्म खोज्दा पनि नपाएपछि मेरो झोला हराएको निष्कर्षमा पुगेँ। म खासगरी मोरफाको चिनो घडी र यही डायरी हराएकोमा चिन्तित थिएँ। मोरफा अर्थात् मेरा मावली हजुरबुवाले दिएको घडीको सम्झना पढ्नुभयो नि ! (हाफ-प्यान्ट लगाएर घाँटीमा क्यामरा झुन्ड्याउने 'टुरिस्ट' बन्न चाहिनँ)
झोलामा मेरो वालेट, बुवाले दिनुभएको फाउन्टेन पेन, मैले पेन्टिङ बनाउँदा प्रयोग गर्ने पानीरङहरू, चस्मा, चिठी, इमेलहरूका डिस्क सबै थिए। कक्षामा बस्दा मसँग लेख्न कापी र कलम पनि भएन। मैले टेक्स्टबुकमै लेखेर चित्त बुझाएँ।
दिउँसो खाना खाइसकेपछि मैले प्याम र मनोहरिलाई भेटेँ। उनीहरूसँग आफ्नो सिद्दीथुंका बसाइताका गरिने अनुसन्धानबारे छलफल गरेँ। म अलमल थिएँ- गाँउ बसाइमा कसरी काम गर्ने भनेर।
मनोहरिसँग छलफल गरिरहेको झन्डै पन्ध्र मिनेटमा क्रस्टी आत्तिएर तल आइन्। मानौं उनले कुनै भूत देखिन्। उनको लकरको ड्रयर खुल्लै रहेछ, त्यही भएर आत्तिएकी रहिछ। हामी सबै कुदेर लकरनजिक पुग्यौं।
क्रस्टीको क्यामरा, लेन्स र वाकम्यान चोरी भएछ। म दगुरेर स्टोरेज रूममा भएको मेरो क्यामरा लेन्स र वाकम्यान हेर्न गएँ। मेरो पनि सबै सामान चोरी भइसकेको रहेछ। ब्रायनको ठूलो क्यामरा पनि हराएको थियो। मेलिन्डाको झोलाबाट ५ हजार रुपैयाँ हराएको थियो। क्रस्टी एकदम रिसाएर कराइरहेकी थिई।
तर असामान्य के थियो भने, जेम्सको लुगाका पोकाबीचमा मेरो क्यामराको फिल्म र औषधी भेटियो। उता गेभको लकरमा मेरो झोला भेटियो। झोलामा भएको मेरो यही डायरी र वाकम्यान भेटियो। तर वालेटमा भएको एक हजार रुपैयाँ र मोरफाको घडी थिएन।
टेरेसी, निक्की, एम्मा र फिल एक साता लामो ध्यानका लागि कपन गुम्बा गएका थिए। प्यामले उनीहरूलाई फोन गरेर उनीहरूको सामानका बारेमा बुझिन्। धन्न उनीहरूका सबै सामान साथै रहेछन्।
अब हामी सोच्न थाल्यौं, स्टोरेज रूमको ढोका बन्द गरिएको थियो कि थिएन। कसले भित्र पसेर सामान चोर्यो होला? कौतुहलता बढ्न थाल्यो।
गेभले पूरै जासुस पारामा भन्यो, 'चोरले हामी साथी-साथीबीच सामान चोरेको आक्षेप लगाउन सामान यताउता गरिदिएको हुनुपर्छ।'
कोही भन्दै थिए- प्रोगाम हाउसकै कर्मचारीको मिलेमतोमा सामान चोरिएको होला।
मेरो व्यक्तिगत अर्धगम्भीर सिद्धान्तले भन्थ्यो- मेघन 'जंकी' थिई। उसले आफ्नो गाँजा-चरेस खाने कुलतका लागि हामी सबैको सामान चोरेको हुनुपर्छ।
तर कन्सपिरेसी थ्योरीले मनमा भनिरहेको थियो- त्यो चोर अब धनी भइसकेको छ।
दसैं नजिकिँदै थियो। चाडवाडकै बेला माटोसरी पैसा बगाउनुपर्ने चाप हुन्छ। जुन त्यो चोरका लागि अब सहज भएको थियो।
मैले 'काठमाडौं पोस्ट'मा एउटा लेख पढेको थिएँ जसमा कतिपय नेपालीले दसैं मनाउन जग्गा नै बेचेको लेखिएको थियो।
जे होस्, सामान हराएपछि प्रहरीकहाँ उजुरी गर्ने कुरा चल्यो। तर प्रहरीकहाँ जानु जतिको झन्झटिलो र लामो प्रकिया के होला र नेपालमा!
फेरि प्रहरीले सोधपुछ क्रममा शारीरिक र मानसिक हिंसा गर्दै प्रकिया बढाउँछन् भन्ने पनि सुनेको थिएँ। प्रहरीले सोधपुछमा लग्ने भनेकै प्रोगाम हाउसका कर्मचारी हुन्। जुन कि त गार्ड वा अन्य कर्मचारी हुन्। उनीहरूलाई प्रहरीले यातना दिएर सोधपुछ गरेको हामी हेर्न चाहन्न थियौं।
मैले एउटा जर्नलमा पढेको थिएँ- प्रहरीका यातना क्रममा पनि धेरै बन्दीले जेलमा ज्यान गुमाउँछन्।
तर मनोहरिले हनुमानढोका प्रहरी कार्यालयमा गएर प्रहरी रिपोर्ट बनाउन सल्लाह दिए ताकी हामीलाई बीमा दाबी गर्न सजिलो होस्। हामी प्रहरीकहाँ जान तयार भयौं तर प्रोगाम हाउसका कुनै पनि कर्मचारीमाथि शंका नरहेको र नाम नभन्ने शर्तमा।
हामी सबै निराश थियौं। हामीलाई दुःख यसकारणले लागेको थिएन कि हामीले पैसा वा क्यामरा हरायौं।
दुःखी यसकारण थियौं- हामी सबैले नेपाल बस्दा कैद गरेका अनगिन्ती सम्झना हराएका थियौं।
प्रोगाम हाउसबाट निस्कनुअघि क्रस्टीले ढोकामा एउटा नोट लेखेर निस्किन्- यु विल नेभर बी एबल टु टेक आवर सोल्स। अर्थात्, तिमी हाम्रो आत्मा कहिल्यै चोर्न सक्दैनौ।
(यो स्तम्भ पाक्षिक रूपमा प्रकाशन हुनेछ।)
यी पनि पढ्नुस्ः