कुइरेको डायरी
२०६५, चैत १६। फ्लाइट नम्बर- इवाई२९३
एक दशकअघिको त्यो अवसर आज फर्केर हेर्दा जिन्दगीकै एउटा अद्भूत मौकाजस्तो लाग्छ मलाई।
'आइओएम' अर्थात् दि इन्टरनेसनल अर्गनाइजेसन फर माइग्रेसन नामक संस्थाले एउटा सूचना निकालेको थियो। उनीहरू एक जना अमेरिकीको खोजीमा थिए जो नेपालबाट जहाजमा भुटानी शरणार्थीहरूसँग अमेरिका यात्रा गर्न चाहोस्। म नेपालमा कन्सल्ट्यान्टका रूपमा काम गरिरहेकाले मसँग समयको पाबन्दी थिएन। मैले आइओएमको कामका लागि नाम दर्ता गराएँ।
केही दिनमै मलाई आइओएमको बालुवाटारस्थित कार्यालयमा बोलाइयो, म छानिएँ। आइओएमका केही कर्मचारीले मलाई भुटानी शरणार्थी पनि चिनाइदिए। उनीहरूको नेपालदेखि अमेरिकासम्मको यात्रामा म सहयात्री बन्दै थिएँ।
ती भुटानी शरणार्थीले नेपालको क्याम्पमा झन्डै २० वर्ष बिताएका थिए। मसँग जान लागेका समूहमा पुरुष, महिला र केटाकेटी गरी ३३ जना थिए। तन्नेरीहरू असाध्यै उत्साहित देखिन्थे। त्यही भएर होला, एक हुल तन्नेरीले मलाई घेरे र अमेरिकाबारे कैयन प्रश्न सोधे।
टेक्सासको मौसम कस्तो छ? एउटाको जिज्ञासा।
मिनिसोटामा मान्छेहरू फुटबल खेल्छन्? अर्को तन्नेरीको प्रश्न।
मैले आँखा झिम्क्याउँदै भनेको थिएँ, 'होइन, अमेरिकामा त डन्डीबियो खेल्छन्।'
पछि मैले अमेरिकीहरू रमाएर फुटबल खेल्छन् भन्दा ऊ दंग परेको थियो। मिनिसोटाको चिसोबारे ठट्टयौली पारामा भने, ‘मिनिसोटाको जाडोमा बाहिर पिसाब नफेर्नू, यति चिसो हुन्छ, पिसाबले भुइँ छुन नपाउँदै डल्लो बरफ बन्छ।’
सबै गललल हाँसे।
लगत्तै उनीहरूले सोधे- अमेरिकामा जीवन कस्तो हुन्छ?
आमाबाबुहरू तन्नेरी छोराछोरीको भविष्यबारे बढी चिन्तित देखिन्थे। उनीहरूले दक्षिण एसियामा आफ्नो भविष्य नभएकै महशुस गरेर यो कदम लिएका थिए। भुटानले उनीहरूलाई उहिल्यै देशनिकाला गरेको थियो।
भारतलाई उनीहरू चाहिएको थिएन र नेपाल नागरिकता दिन चाहन्थेन। अमेरिकाले उनीहरूका लागि ढोका खोलिदियो। झापास्थित शिविरका शरणार्थीलाई अमेरिका आउने निम्तो थियो। मैले सुनेअनुसार एक लाखभन्दा बढी शरणार्थीले आफ्नो घर भुटान फर्किने आशा मारिसकेका थिए।
जेहोस्, त्यो दिन हामी आइओएमको बस चढेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गयौं। हामीसँगै दुई जना नेपाली डाक्टर पनि थिए जो शरणार्थीको उपाचार्थ खटाइएका थिए।
विमानस्थल सदाझैं अस्तव्यस्त थियो। सबै शरणार्थीले नीलो र सेतो रङको प्ल्यास्टिक झोला बोकेका थिए। नीलो झोलामा आइओएमको लोगो टाँसिएको थियो। त्यसमा उनीहरूले सबै कागजपत्र राखेका थिए। उनीहरू अरूका नजरमा राज्यविहिन थिए। बिनापासपोर्ट यात्रा गर्दै थिए। त्यसैले कागजात भएको झोला नै उनीहरूको सर्वस्व थियो। अधिकांशले झोला काखी च्यापेका थिए।
ती कागजात भुलवश् कतै हराए उनीहरू अमेरिका छिर्न असम्भवजस्तै थियो। नेपाल फर्किन पनि उत्तिकै असम्भव। मैले सबैलाई एकपटक फेरि सतर्क गराएँ, ‘झोलाको कागजातको राम्रो ख्याल राख्नुस्।’
म उनीहरूसँगै कुराकानी गरिरहेको थिएँ। आइओएमका कर्मचारीले हामीलाई 'चेकइन' गराए। जाने बेला मलाई 'अल द बेस्ट' भने।
शरणार्थीहरू जहाज छिर्नेबित्तिकै कहाँ बस्ने भनेर दोधारमा परे। हामीसँग आएका डाक्टरले 'जहाँ मन लाग्छ त्यहीँ बस्नुस्' भन्दिए। मेरो हिसाबमा त्यो गलत थियो। मैले उनीहरूका झोला लगेज राख्ने ठाउँमा राखिदिएँ र सिटबेल्ट लगाउन सिकाएँ। हुन त एअरहोस्टेसले पनि सिकाउँथिन् तर उनीहरू नहडबडाऊन् भनेर सजिलोका लागि मैले पहिल्यै सिकाइदिएँ।
जता मन लाग्यो त्यतै बसेकाले उनीहरूलाई खाना बाँड्ने बेला एकदम झन्झट भयो। सिटअनुसार फरक व्यक्तिका लागि फरक खाना थियो। डाक्टरहरूको बेपरवाह भनाइका कारण चालक दललाई यात्रुअनुसार खाना बाँड्न समस्यै भयो। पहिलो गाँसमै ढुंगा भनेझैं चालकदल नमज्जाले रिसाए। अव्यवस्थित बसाइका कारण एअरहोस्टेसहरूले खाना बाँड्न ओहोरदोहोर गर्नुपरेको थियो।
अधिकांशको जहाजयात्रा पहिलोपटक भएकाले मैले ट्वाइलेट प्रयोग गर्न पनि सिकाइदिएँ। सिटपछाडि टच स्क्रिनवाला आइप्याड चलाएर फिल्म हेर्न पाउँदा खुबै रमाएका थिए उनीहरू।
उडिरहेको जहाज अचानक लरखरायो र झ्वाट्झ्वाट् तल झरेको महशुस पनि भयो। सबै आत्तिएर चिच्याउन थाले। पटकपटक झट्काले डराएर उनीहरू थरथर काम्न थाले। धेरै जहाजयात्रा गरेको म आफैं पनि डराएँ। त्यो दिनको झट्का मैले भोगेकामध्ये सबभन्दा डरलाग्दो थियो।
सबै चिच्याइरहेकाले माहोल झनै भयानक भयो। कोही देवताका नाम जप्दै थिए, कोही आमाबुबालाई अँगालेर बसेका। कोही आँखा बन्द गरेर त कोही टाउको घोप्टो पारेर रोइरहेका थिए।
म के गरौं, के नगरौंको स्थितिमा सिटमै थिएँ। सातो भने गइसकेको थियो।
अहिले सम्झिँदा लाग्छ- त्यतिखेर आमिर खानको 'थ्री इडियटस्' फिल्म आइसकेको भए सायद सबैलाई 'अल इज वेल, अल इज वेल'- सबै ठीक हुन्छ, भनेर सम्झाउँथे होला।
'थ्री इडियटस्' बलिउड फिल्म हो। मेरी श्रीमतीले कर गरेर हेर्न लगाएकी थिइन्। रमाइलो रहेछ। सबटाइटल भएकाले कहानी बुझेँ। हिन्दी भाषा राम्ररी बुझ्दिनँ तर ९० दशकका फिल्मका केही गीत गाउनसक्छु। तीमध्यै पूरै कण्ठ गीत 'दिल तो पागल है' र 'प्यार किया तो डरना क्या' का हुन्।
'दिल तो पागल है' गीत मलाई असाध्यै मनपर्छ। झन्डै पाँच महिनाअघि श्रीमतीको मावली लुभु जाँदा बसमा त्यही गीत बजिरहेको थियो। खचाखच माहोलमा मैले ठूलो स्वरमा गीत गाउँदा बसका यात्रुले छक्क परेर हेरेका थिए। श्रीमती मेरो पछाडिको सिटमा बसेकी थिइन्। उसैका लागि गाएझैं गरी ताली पड्काउँदै बसिन्। बसका मान्छे उसलाई हेरेर झन् छक्क परे।
पछि मैले श्रीमतीलाई देखाउँदै ‘मेरी बूढी हो, कस्तो रोमान्टिक छे है!’ भन्दा सबै हाँसेका थिए। 'साह्रै प्रेमील जोडी रहेछन्' भनेर केहीले गाइँगुइँ समेत गरे। अझ मेरो फररर नेपाली सुनेर तीनछक परे।
गीतको कहानी अहिलेलाई यत्ति। चैत १६ गतेतिरै लैजान्छु।
झन्डै तीन मिनेटको झांगलझुंगलपछि जहाजले उचाइ लिँदै शान्त भयो। समय बिताउन धेरैले फिल्म हेरे, गेम खेले। खाना समयमा मैले केही बूढापाकाहरूको ट्रे मिलाउन मद्दत गरेँ। उनीहरूले मेरो टाउकोमा हात राखेर आशीर्वाद पनि दिए। म उनीहरूलाई आमाबुबा भन्थेँ भने जवानलाई दिदीदाइ वा भाइबहिनी। नेपालीहरू एकअर्काको नाम काढेर बोलाएको मनपराउँदैनन्।
म 'युएसएड'को हेल्थ फर लाइफ प्रोजेक्टमा काम गर्दा बाँकेको गाउँ गएको थिएँ। अधिकांश महिलाले आफ्ना श्रीमानको नाम भनेनन्। बरू लाजले निहुरेरै बसे, भन्न चाहेनन्। नामले बोलाउँदा सम्मान घट्छ भनेर हो कि! साथीसाथीबीच मात्रै नामले बोलाउने चलन छ।
जहाजयात्रा जारी थियो। एक्कासि एक जना महिला चिच्याएको सुनेँ। भएछ के- उनले ट्वाइलेटको चुकुल लगाउनै जानिनछिन्। ट्वाइलेट बसिरहेका बेला अर्को मान्छेले ढोका तान्दा झ्वाट्ट खुलिहाल्यो। बल्ल उनलाई चुकुल नलागेको थाहा भयो। उनी रिसले चुर भएर ढोका खोल्नेलाई श्रापसहितका गाली बर्साइन्।
म दगुरेर पुगेँ र ढोका लक गर्न सिकाइदिएँ।
केही बेरपछि हामी आबुधाबीमा अवतरण गर्यौं। यहाँबाट न्युयोर्क जाने जहाज चढ्नुथियो। मलाई एकदम डर थियो- एक जना शरणार्थी पनि हराएको सुन्न चाहन्थिनँ। एयरपोर्टको हुलमुलमा मान्छे हराउने सम्भावना धेरै हुन्छ। त्यसैले सबैलाई साथ रहन भनेँ। बारम्बार टाउका गनिरहेँ।
अर्को डर उनीहरूले कागजपत्र हराउलान् कि भन्ने थियो। 'यो झोला मात्र हैन, तपाईंको नयाँ जीवन हो' भन्दै झक्झकाइरहन्थेँ। अनि उनीहरू झोला च्याप्प समात्थे।
उनीहरू पनि मलाई के-के सोधिरहेकै हुन्थे। एक त म त्यो देशको नागरिक जहाँ उनीहरू एउटा सपना साँचेर जाँदैथिए। अर्को म उनीहरूले बोल्ने नेपाली भाषा बोलिरहेको थिएँ। हामीबीच आत्मीय सम्बन्ध स्थापित भएको थियो।
हामी ट्रान्जिट एरियामा कुरिरहेका थियौं। कोही लामो बेन्चमा ढल्केर निदाइरहेका थिए। कोही सुस्त गफ गरिरहेका। युवापुस्ता उत्साहित सुनिन्थे। अधिकांश थकित देखिन्थे भने बूढापाका अलि हतासिएका। उनीहरू नयाँ भाषा, संस्कृति र नयाँ देशको नयाँ परिवेशमा जाँदै थिए। बूढापाकाका लागि त्यो पक्कै चुनौतीपूर्ण हो।
केही बेरमा न्युयोर्कको जेएफके एयरपोर्ट जाने जहाजको बोर्डिङ बेला भयो। आबुधाबी एयरपोर्टमा मैले फेरि टाउका गनेँ। पटकपटक गन्दा पनि ३५ पुगेन, एक कम भयो। मैले धैर्य गरेर फेरि गनेँ। अझै पुगेन। तर को?
सबैलाई पालैपालो सोधेँ र परिवारका कोही हराएका छन् भन्दै खोजेँ। उनीहरू सबै छन्, परिवारका कोही नहराएको बताउँथे। मेरो गन्तीले भने एक जना हराएको भन्थ्यो। आखिर हरायो को? कसरी? मैले भेउ पाउन सकिनँ, रनभुल्ल परेँ।
पछि बल्ल थाहा भयो। हामीसँग यात्रा गरिरहेका दुई डाक्टरमध्ये एक हराएको घन्टौं भइसकेको रहेछ। उसकै सहकर्मी डाक्टरले बताएअनुसार, उसलाई हामीसँग यात्रा गर्न झिँजो लागेर एयरपोर्ट डुल्छु भनेर निस्केछ।
यो सुनेर मलाई दिक्क लाग्यो। तर धन्न! शरणार्थी हराएको रहेनछ। डाक्टरको त जिम्मा मैले लिएको थिइनँ। बोर्डिङ बेला ऊ टुप्लुक्क आइपुग्यो, पूरै रक्सीको गन्धसहित। मैले वास्ता गरिनँ। मेरो चासोका सबै जना ज्ञानी भएर मसँगै बसिरहेका थिए।
आबुधाबीदेखि न्युयोर्कसम्म १४ घन्टे यात्रा अघिल्लो उडानभन्दा शान्त भयो।
एक जनाले भने धेरै बान्ता गरिन्। तर दुई डाक्टरबीच को उनको हेरविचारका लागि बस्ने भन्ने विवाद भयो। त्यही कामका लागि खटिएका दुवै डाक्टर आनाकानी गर्दै थिए। कस्तो अव्यावसायिक व्यवहार! एकजना बिसञ्चो हुँदा त यस्तो छ, धेरै बिरामी परेका भए माहोल के हुन्थ्यो होला!
मैले कड्किएर भनेँ, 'जहाजमा जो बिरामी हुँदा पनि तत्काल औषधी-उपचार गर्ने जिम्मेवारी तपाईंहरूको हो। कुनै हालतमा पन्छिन पाउनुहुन्न। अप्ठ्यारो स्थितिमा सहयोग खाँचो पर्छ, विवाद हैन।'
यति भनेपछि बल्ल एक डाक्टर बिरामीका साथ बसे।
मैले विमान क्याबिन दलका प्रमुखलाई आफ्नो बारेमा भनेँ र मेरो टोलीमा केही समस्या आए तुरुन्तै खबर गर्न पनि सुझाएँ।
एक जना एअरहोस्टेस बहुत रिसाएकी थिइन्। हाम्रो टोलीका एक जनाले शौचालय प्यानको बाहिरैपट्टि दिशा गरिदिए रे! उनले मकहाँ आएर गुनासो गरिन्।
मैले माफी माग्दै उनीहरू पहिलोपल्ट जहाजमा यात्रा गरिरहेको भन्दै बुझाउने प्रयास गरेँ- उनीहरूका लागि यो नयाँ कुरा हो। एउटा क्याम्प नै घर मानेर बाँचेका उनीहरू सबै छाडेर नयाँ देशको यात्रा गरिरहेका छन्। रहरले होइन, बाध्यताले।
म अर्कै देशबाट आएको गोराले उनीहरूका पीडा बुझेको थिएँ। तर नेपालीजस्तै देखिने र उनीहरूकै भाषा बोल्नेले बुझ्न नसक्दा नरमाइलो लागेको थियो। तर मैले विस्तार लगाएपछि एअरहोस्टेसले महशुस गरिन् र अलि नरम भइन्। केही बेरपछि उनी झिलझिल परेका चकलेटको ठूलो पोका बोकेर आइन् र 'सबैलाई बाँडिदिनुस् दाइ' भनेर मेरो हातमा थमाइदिइन्।
चकलेटका पोकामा उनको पछुतो र माया देखिन्थ्यो। अघि रिस्सिएर झर्कीफर्की गर्ने बहिनीले चकलेट ल्याएको देखेर सबै दंग परे। दंग मात्रै होइन, खोलेर कपाकप खान थाले।
चकलेटको मिठाससँगै हाम्रो फ्लाइट न्युयोर्कको आकाशबाट तलतल झरिरहेको थियो। स्ट्याचु अफ लिबर्टीमाथि हुँदै इलिस टापू नाघेर गयो। यो त्यही टापू हो जहाँबाट लाखौं प्रवासीहरू अमेरिकी बन्ने सपना बोकेर आरपार गर्छन्।
हाम्रो जहाज अवतरण हुँदा मन्द हिउँ पर्न थाल्यो। सायद भुटानी शरणार्थीलाई अमेरिकाले स्वागत गर्न रोजेको एउटा माध्यम हुनुपर्छ।
सबैले आफ्ना नीलो र सेतो झोला जतनले बोकेका थिए। अध्यागमनतिर लाग्यौं। त्यहाँ रोग नियन्त्रण तथा भन्सार एवं सीमाना गस्ती केन्द्रका अधिकारीलाई भेट्यौं। सरुवा रोग छ-छैन भनेर हरेक शरणार्थीको परीक्षण गराइयो र भन्सार शाखा हुँदै औपचारिक रुपमा अमेरिकी भूमिमा पाइला राख्यौं।
त्यहाँबाट हरेक परिवार फरक-फरक गन्तव्य पुग्न तयार थिए। अमेरिकी सरकारले तय गरेका विभिन्न संघ-संस्थाबाट प्रतिनिधिहरू आएका थिए। उनीहरूको काम ती शरणार्थीको गन्तव्यसम्म पुग्ने अर्को उडानमा सहयात्री बन्नु र बसोबासका लाग सहयोग गर्नु थियो।
मेलै त्यहाँसम्मको मेरो कर्तव्य पूरा गरेँ। उनीहरूको जीवन भने बल्ल सुरू हुँदै थियो।
मलाई थाहा थियो, अब उनीहरूले धेरै सहयोग पाउने छैनन्। आफ्नो भविष्य राम्रो बनाउने जिम्मेवारी र बाटो उनीहरू आफैंले तय गर्नुपर्छ। जसरी मेरो परिवारले सय वर्षअगाडि अर्कै भूमिबाट आएर अमेरिकी बन्ने यात्रा गरेको थियो।
एकपछि अर्को उनीहरू आफ्नो बाटो लागे। जानुअघि धेरैले धन्यवाद भने। बूढापाकाले आशीर्वाद र तन्नेरीले बाइबाइ गरे। मनमनै कामना गरेँ- नेपालीहरूले भनेझैं भगवान साँच्चै छन् भने, प्रत्येक परिवारलाई कोही न कोही मनकारी भेटाइदिनू।
जेएफके एअरपोर्टबाट सबभन्दा अन्तिममा निस्कने मै थिएँ- गन्तव्य बोस्टनस्थित मेरो घर।
(यो स्तम्भ पाक्षिक रूपमा प्रकाशन हुनेछ।)
यी पनि पढ्नुस्ः