२०५४ असोज २४
'तिम्रो घरको खसी कत्रो, मेरो घरको त यत्रो।'
झन्डै पाँच वर्ष पनि ननाघेको एउटा बच्चाले झन्डै उत्रै उमेरको अर्को साथीलाई सोधेको थियो। खसी सानो र ठूलो भयो भने के हुन्छ त? भनेर सोध्दा ती दुईमध्ये एक जनाले तोते बोलीमा भनेको थियो, 'जसको घरमा ठूलो खसी उसकै परिवार धनी।'
त्यस्तो सानो बच्चाको कुरा सुनेर म त छक्कै परेँ। कुरा इलामको सिद्दीथुंकाको बसाइताका आउँदै गरेको दसैंको हो।
अहिले पनि दसैंको माहोल छ। मैले नेपालमा लगातार दसैं मनाउन थालेको ५ वर्ष भइसक्यो। आज म पहिलोपटक नेपालमा दसैं मनाएको २२ वर्ष अघिको कथा सुनाउँछु।
त्यो बिहान, आफू सुतेको खाटबाटै झ्याल खोलेर हरिया पहाडमाथि सर्लक्क झुल्केको सूर्य दर्शन गर्न म सबैरै उठेको थिएँ। सूर्यको किरणले बारीमा फूलेका सयपत्रीहरूमा थप सुनौलो चमक दिएको थियो। म बसेको कोठालाई न्यानो पारेको थियो। घरको भुइँतल्लातिरबाट मान्छेका कल्याङमल्याङ र ओहोरदोहोरका आवाज आइरहेको थियो।
त्यो दिन दसैंको नवमीको दिन थियो। मलाई कसैले भनेको थियो, आज जनावरहरूलाई बलि दिइने दिन हो। मैले काठमाडौंमा सुनेको थिएँ, दसैंको विशेष पूजामा नेपाली सेनाले सयभन्दा बढी राँगा बलि दिन्छन् र ती रक्ताम्मे राँगाका टाउका दरबार स्क्वायरमा यत्रतत्र राखिएका हुन्छन्।
मैले भन्नै भुलेछु, धरान बस्दा मैले खुकुरी बनाउने कारखाना पुग्ने मौका पाएको थिएँ। त्यहाँ गोर्खाली खुकुरी हजारौंका संख्यामा पर्यटकलाई बेच्नका लागि बनाइन्थ्यो। हामीसँग भएका गाइडले हामीलाई थरीथरीका खुकुरी देखाएको थियो। एउटा बडेमानको खुकुरी ३ फुट लामो थियो। त्यो एकैचोटमा राँगा मार्नका लागि बनाइएको हो रे!
मेरो होस्ट परिवारको घरमा एउटा ठूलो कालो सुँगुर थियो, नवौं दिनका लागि साँचेर राखिएको रहेछ। नेपालीहरू धार्मिक उद्देश्यका कारण पनि कालो रङका जनावर बलि दिन्थे। मेरो परिवार पनि पूरै धार्मिक पूजामा व्यस्त थिए बिहानैदेखि। यामबहादुर बाले बिहानै गोबरले आँगन लिपेका थिए। यामबहादुर बा मेरो सिद्दीथुंका घरको होस्ट बा। उनलाई मैले संयोगवश बसमा भेटेको थिएँ। मैले नेपाली चुट्किला सुनाउँदा उनी मरीमरी हाँसेका थिए। सम्झिनुभयो? नि !
यामबहादुर बा नै मेरो होस्ट भनेर मलाई चिनाउँदा म छक्कै परेको थिएँ। भाग्यले मान्छेलाई कहाँबाट कहाँ भेटाउछ भने जस्तै हो। उनलाई पनि के थाहा थियो र बसमा अचानक जम्काभेट भएका कुइरे नै उसको घरमा उसैलाई भेट्न यात्रा गरिरहेको थियो भनेर। नेपालीहरू भाग्यमा अत्यन्त विश्वास गर्छन्। केही अमूल्य कुरा पाए पनि भाग्यले पाएँ र गुमाए पनि भाग्यकै कारण गुमाएँ भन्छन्। सायद भाग्यवादमा विश्वास गर्दा मनलाई शान्ति मिल्दो हो।
मेरी श्रीमतीले मलाई एकपल्ट भनेकी थिइन्, 'मलाई कुइरेहरू खासै मनपर्दैन तर के गर्नु भाग्यमा तिमीसँगै हुन लेखेको रहेछ।'
त्यो कुरा सम्झँदा मलाई दुःख पनि लाग्छ र खुसी पनि। दुःख यसकारण, उनलाई हामीजस्ता गोराहरू त्यति मनपर्दैन थियो रे!
खुसी यसकारण, उनले अन्ततः एउटा कुइरेलाई नै बिहे गरिन्। फरक संस्कृति फरक मूल्यमान्यता भएको विल्कुल फरक ठाउँको मान्छेलाई जीवनसाथी बनाउनु ठूलै चुनौतीको कुरा थियो हामी दुवैका लागि। पहिलोपल्ट नेपालगञ्जमा उनलाई देख्दा मैले दिनभर उनको फोटो खिचेको खिच्यै गरेको थिएँ। पछि उनले 'कुइरे भयो भन्दैमा नेपाली केटीको फोटो बिना अनुमति खिच्ने' भनेर नराम्ररी थर्काइएकी थिइन्।
मलाई त्यसरी थर्काउने पहिलो महिला सायद मेरी श्रीमती नै थिइन्। कहिलेकाँही लाग्छ यो सब भाग्यै कारण हो। भाग्यकै कारण हामीले एकअर्कालाई भेट्यौं, माया बस्यो र बिहे पनि भयो।
नेपालीहरू हामी जस्ता विदेशीलाई अलि बढी नै सम्मान गर्छन्। 'ह्वाइट प्रिभिलेज'को कारण पनि हो कि? मेरो ६ वर्षे नेपाल बसाइमा ह्वाइट प्रिभिलेजकै कारण होला, म देख्छु कतिपय विदेशीका गाडीलाई प्रहरीले मापसे चेक गर्दैनन्। विशेषगरी निलोप्लेटका विदेशी गाडी। सिंहदरबार प्रवेशमा पनि निलोप्लेट गाडीमा सवार विदेशीलाई सुरक्षाकर्मीले त्यति सोधपुछ गरेको देखिनँ मैले। तर आफ्नै देशका नागरिकहरू चाहिँ घन्टौं लाइनमा बसेर पनि सजिलै भित्र जान पाए जस्तो लाग्दैन।
खैर, भाग्य र गोराको कुरा अहिले यति नै। दसैंको नवमीकै त्यो दिनको कुरा सुनाउँछु।
नेपालीहरूको हरेक पूजापाठमा गाईको गोबरको महत्वपूर्ण अस्तित्व हुन्छ। पूजाअर्चनादेखि घर चोख्याउन तथा जन्तीदेखि मरणोप्रान्तसम्मका हरेक शुद्दीकरण कार्यमा गोबर नभई नहुने चिज हो।
यामबहादुरले लिपेको ठाँउमा, सुरूमा पिठो र रातो सिन्दुरले अष्टभूज बनाए। पछि चारैतिरबाट त्यो अष्टभूजलाई वर्गाकारले घेरेर गज्जबको आकृति बनाए। छेउछेउमा कमलको फूल पनि बनाए। अनि काठको मुंग्रो अरू चारवटा काठका खुट्टा जस्तो बनाएर अडाए। खाउँखाउँ लाग्ने जस्ता काँक्रा सर्लक्क परेका हरियो बोडी, फर्सी गरेर झन्डै सात वटा तरकारीहरू पनि त्यस आकृतिभित्र सजाएर राखिएको थियो।
यामबहादुर बाले एउटा पूजाको थालीमा राखिएको अक्षता चामल र फूलहरूले पूजा गरे। त्यसपछि उनले घरको खुकुरीले सातवटै तरकारीलाई छ्याकछ्याक पारेर मार हाने। कुनै तरकारी यति साना थिए, खुकुरीले चौथो पटकमा मात्रै टुक्रा पार्न सकेको थियो।
झन्डै १० बजेतिर अरु अमेरिकन गोराहरू पनि मेरो घर आइपुगे। मैले घरकालाई हिजो राती गेभ तेक्वान्दो खेल्न सिपालू छ भनेर सुनाएको थिएँ। घरकाहरूले गेभको प्रस्तुति हेर्न चाहेका थिए। गेभ आउनेबित्तिकै मैले त्यो खबर उसलाई सुनाइदिए। गेभ दंग परेर आफ्नो कला देखाउन तयार भइहाल्यो।
सुरूमा गेभले क्रमैसँग तेक्वान्दोका श्रृंखलाहरू देखायो। त्यसपछि मलाई कुचो बोकेर उभिन लगायो। झन्डै ७ फिटभन्दा अग्लो उचाइमा मैले बोकेको कुचोलाई लक्षित गरेर गेभले फनक्क घुमेर हिरोको शैलीमा किक हान्यो। घरका सबैले परररर ताली बजाए। गेभ त मख्ख त छँदै थियो, अब उसले गर्व पनि महशुस गर्न थालेको थियो।
दसैंको माहोल थियो। गाउँमा धेरै रक्सी पारिएको थियो। त्यसैले धेरैजना प्रायः रक्सीले मातेका नै देखेँ मैले। तर एक जना मान्छे भने हामीसँग रिसाए जस्ता देखिन्थे। उनले परम्परागत खादीको कपडा र टोपी लगाएका थिए। उनी हामीसँग चिच्याएर बोलेका थिए। रक्सीले एकदम मातेका उनले के बर्बराएका थिए, मैले ठम्याउन सकिनँ।
म ठोकुवा गरेर भन्न सक्छु, उनी हामी गोराहरू देखेरै रिसाएका थिए। उनीहरूको आफ्नै खालको दसैंमा हामी विल्कुल फरक रुपरङ र व्यवहारका कुइरेहरू सहभागी हुन पुगेका थियौं नि। त्यहाँ भएका केही बाहरूले उनलाई कचकच नगर्न भने।
तर उनी यति रिसाएका थिए, हामीलाई कुटौंला झैं गरे। अन्ततः हामी गोराहरूलाई सुरक्षा दिनुपर्ने जस्तो अवस्था आइलाग्यो। विशेषगरी गेभको लागि, जो जीवन हरेक मोडमा युद्ध हो भनेर गफ दिइरहन्थ्यो। ती मान्छेले हँसिया नभेटून् र हामीलाई आक्रमण नगरून् भनेर गेभले भुइँमा रहेको हँसिया हातमा लियो। त्यति अप्ठ्यारो स्थिति आउलाजस्तो लागेको थिएन। तै पनि 'के भन्न सकिन्थ्यो र भन्थ्यो' गेभ।
घरकाले ती मान्छेलाई बल्ल बल्ल त्यहाँबाट खेदे। तर हामी सबै निराश र डराएका थियौं। धन्न्! एन्टको 'सेन्स अफ ह्यूमर', उसले केके कुरा निकाल्दै हँसाइरह्यो। त्यसपछि एन्ट गाउँकै स्कुलमा फुटबल खेल्न गयो। हाइकिङ बुटबाहेक ऊसँग अरु जुत्ता थिएन। त्यसैले उसले खाली खुट्टाले खेल्दा उसको दाँया खुट्टामा चोट लागेर रगत जमेको थियो।
म घरमै ब्रायनको दारी खौरिँदै थिएँ। झन्डै १ बजेतिर मेरा घरपरिवार एउटा ठूलो कालो सुँगुर र केही कुखुराहरू बलि दिने गरी तयारीमा जुटे। यामबहादुर बाले आँगनको एकछेउमा एउटा ठूलो भाँडामा पानी तताउँदै खुकुरी धार लाउन थाले। यता ब्रायन र म पनि क्यामरा ठिक्क पारेर बस्यौं।
परिवारले सुँगुरलाई बलि दिने कुरा गरेको निकै बेर भइसकेको थियो। त्यो गाउँकै सबभन्दा ठूलो सुँगुर थियो रे। गाउँमा कसको घरमा कत्रो पशु बलि दिए भन्ने कुराले उसको परिवारको हैसियत निर्धारण गर्न सकिन्थ्यो। जसको घरमा ठूलो पशु बलि दिइन्थ्यो, उनीहरूको शान पनि बढेको देखिन्थ्यो।
एकैछिनमा एकजना मान्छेले पूजा गर्न थाले। हामी बारीछेउमा बसिरहेका थियौं। उनले त्यसपछि एउटा कुखुरालाई धारिलो हतियारले बलि दिए र बगेको रगत हतपत घरकै सानो देवीको मन्दिरमा चढाए। उनले लगालग ४ वटा कुखुरालाई त्यसै गरे र तातोपानी हाल्दै भुत्ला खुइल्याए।
अब पालो सुँगुरको थियो। यामबहादुर बाले कालो सुँगुरलाई खोरबाट घिच्याउँदै आँगनमा ल्याए। सायद सुँगुरले अनुमान लगाइसकेको थियो आज उसको अन्तिम दिन हो भनेर। कसैले उसका पछाडिका दुइटा खुट्टा डोरीले बाँधिदिए। अनि डोरीको अर्को भाग काठकै खम्बामा बाँधिएको थियो। सुँगुर निकै मोटो थियो।
अचानक अघि पूजा गरेको मान्छेले सुँगुरको अगाडिको कोखामुनि छुरीले प्रहार गरे। सुँगुर पीडाले छटपटाउन थाल्यो। छटपटाउँदा छटपटाउँदै उसले आफ्नो साथी, परिवार अनि प्रेमिकालाई पनि सम्झियो होला !
मोटो सुँगुरको झोल्लिएका आँखा बिस्तारै ढाकिन लागेको थियो। ती आँखाहरूले अब म पक्कै मर्दैछु भन्ने कुरा थाहा पाइसकेको थियो। फेरि सिधै सुँगुरको मुटुमा छुरीले प्रहार गरियो। ऊ नमज्जाले झन्डै १० मिनेट निरन्तर चिच्याइरह्यो र मर्यो। अंग्रेजीमा 'स्कविल लाइक अ स्टक पिग' भन्ने भनाइ नै छ। जसको अर्थ हतियारले घोपेको सुँगुर चिच्याए झैं भन्ने हो।
मैले त्यो भनाइको अर्थ भेउ पाएको पनि त्यही दिन हो।
(यो स्तम्भ पाक्षिक रूपमा प्रकाशन हुनेछ।)
यी पनि पढ्नुस्ः