त्यो बिहान ब्रायन र मैले ठमेल टहलिने सल्लाह गर्यौं। दरबारमार्गस्थित याक एन्ड यतिको पार्किङसँगै साइकल 'लक' गरेर हामी ठमेल गयौं।
सबभन्दा पहिले हामी एउटा क्युरियो पसल छिर्यौं। त्यो पसल मैले चिनेको एकजना नेवारी महिलाको बुवाको थियो। मैले ती महिलालाई पनि घुम्दाघुम्दै बाटोमा भेटेको थिएँ।
क्युरियो पसलमा पुराना-पुराना सामान बिक्रीका लागि राखिएको थियो। तीमध्ये अनगिन्ती सामान अत्यन्त राम्रा थिए। पुराना सामानको कुरा गर्दा अक्सर म मेरो बुवापट्टिको हजुरबुवालाई सम्झिन्छु।
म सानै छँदा हामी स-परिवार न्यूयोर्कस्थित हजुरबुवा-हजुरआमाको घर बेलबखत जाने गर्थ्यौं। मेरा हजुरबुवा-हजुरआमा धेरै यात्रा गर्न मन पराउनुहुन्थ्यो। उहाँहरूको जीवन पूरै फिरन्ते पाराको थियो।
न्यूयोर्कको घरको एउटा कोठामा काठको तीन तल्ले र्याक थियो। र्याकमा हजुरबुवाले संसारभर जहाँ-जहाँ पुग्नुभयो, त्यहाँबाट ल्याएका चिनो राखिएका थिए।
प्रत्येकपल्ट हामी जब उहाँहरूको घर जान्थ्यौं, हजुरबुवा त्यही कोठामा लगेर हामीलाई जुन मनपर्छ एउटा सामान लिनु भन्नुहुन्थ्यो। मलाई पुराना सामान संकलन गर्न औधी मनपर्ने।
मेरो बहिनी मिरियम, लिया र म दंग पर्दै छानी-छानी सामान टपक्क टिप्थ्यौं र घर फर्किन्थ्यौं। मलाई याद छ, त्यतिखेरै हजुरबुवा-हजुरआमाले झन्डै चालीस देश घुमिसक्नुभएको थियो।
उहाँहरू नेपाल पनि आउनुभएको थियो। नेपालबाट के चिनो लग्नुभयो, मलाई याद छैन। तर हजुरबुवाले भारतको राजस्थानबाट मेरै लागि भनेर ऐनाजडित निलो रङको झिल्के कोट ल्याइदिनुभएको थियो। त्यो कोट लगाएर हजुरबुवाका अगाडि फुरुक्क परेर नाचेको मलाई अझै झझल्को आउँछ।
त्यस्तै कोरिया, जापान, चीनबाट ल्याइएका टन्न सामान उहाँहरूका घरमा थियो। बुवा भन्नुहुन्थ्यो- हजुरबुवालाई एसियन भूभाग र संस्कृतिमा धेरै रूचि थियो रे।
बुवापट्टिको हजुरबुवापछि मामाघरतिरका हजुरबुवाको पनि कुरा सुनाउँछु। मामाघरका हजुरबुवालाई हामी मोरफा भन्थ्यौं, अर्थात् मुवाको बुवा। हजुरआमालाई मोरम्वा।
मोरफा हरेक वर्ष अमेरिकाबाट छोरी र नातिनातिनाहरू कहिले भेट्न आउलान् भनी पर्खेर बस्नुहुन्थ्यो। हामी पनि हरेक वर्ष गर्मीयाममा मामाघर डेनमार्क जान्थ्यौं।
बोस्टनस्थित हाम्रो घरमा हामी डेनिस र अंग्रेजी दुवै भाषा बोल्थ्यौं।
बाहिर डुल्न जाँदा, कतै रेष्टुरेन्टमा खान जाँदा प्रायः डेनिस बोल्थ्यौं। बुवा भन्नुहन्थ्यो- डेनिस हाम्रो गोप्य भाषा हो। त्यसैले हामी शान दिएर अरूका अगाडि डेनिस बोल्थ्यौं। हजुरबुवा-हजुरआमा पनि हामी बच्चाहरू सबैले डेनिस फररर बोलेको देखेर धेरै खुसी हुनुहुन्थ्यो।
मलाई राम्रैसँग याद छ जब हामी अलि बुझ्ने भइसकेर डेनमार्क गएका थियौं, तब सबैजनाले डेनिस बोलेको देखेर छक्क पर्यौंं।
बहिनी मिरियमले त अचम्म मान्दै सुस्तरी भनी, 'याकप, एभ्रीबडी इज स्पिकिङ आवर सिक्रेट ल्याङ्वेज। हाउ क्यान दे स्पिक आवर सिक्रेट ल्याङवेज?'- याकप, सबैजना हाम्रो गोप्य भाषा बोलिराछन्। उनीहरूलाई हाम्रो भाषा कसरी थाहा भयो?
हाम्रो कुरा सुनेर मुवा र बुवा बेस्सरी हाँस्नुभयो।
मोरफाले मलाई धेरै माया गर्नुहुन्थ्यो। आफ्नो एक्ली सन्तान मुवाबाट जन्मेको पहिलो सन्तान भएकोले पनि होला।
मोरम्वाले मोरफाको जन्मदिनमा महँगो स्विस घडी उपहार दिनुभएको थियो। त्यो घडी मेकानिकल थियो। ब्याट्री नचाहिने नाडीको चालअनुसार आफैं चल्ने। मोरफाले त्यो बहुमूल्य घडी 'म मरेपछि नाति याकपलाई दिनू' भन्नुभएको थियो रे !
मोरफा ८७ वर्षको हुँदा बित्नुभयो। उहाँको नाडी चल्न बन्द त भयो नै, नाडीमा बाँधिएको घडी पनि चल्न छोड्यो। यो म नेपाल आउनुभन्दा दुई वर्ष अघिको कुरा थियो। मोरफाको अन्तिम चिनो बोकेरै म नेपालको आएको थिएँ। दुःखको कुरा हजुरबुवाको त्यो घडी नेपालमै चोरी भयो- प्रोगाम हाउसको लकरबाट।
मोरफाको अमूल्य चिनो हराउँदा म अत्यन्त दु:खी थिएँ। हुनत घडीको बीमा पनि थियो। तुरुन्तै त्यही घडी लिन सकिन्थ्यो। तर त्योसँग जोडिएको भावना कहाँ किन्न सकिन्थ्यो र !
घडी हराउँदा मलाई हजुरबुवाको झल्को मात्र आइरह्यो। हजुरबुवा दुई वर्षअघि होइन, घडी हराएको दिन बित्नुभएको थियो मेरा लागि।
घडी हराएको प्रसंग अर्को दिन गरूँला। अहिले ठमेलको क्युरियो पसलको त्यही दिनको कुरा सुनाउँछु।
पसलका कामदारले हामीलाई भित्रपट्टिको अर्को कोठामा भएका थप सामग्री देखाए। भित्रको कोठा त झन् राजा-महाराजा वा शासकको खजानाभन्दा कम थिएन। त्यँहाका टेबुलमाथि टन्न गरगहनाको विशाल थुप्रो थियो। सुनका जलप लगाएका सुन्दर कलात्मक मूर्ति र भाँडा पनि सजाएर राखिएका थिए।
पसलेलाई ती सामान देखाएकोमा धन्यवाद भनेर हामी ठमेल हुँदै असनतिर लाग्यौं जुन बाटो म धेरैपल्ट हिँडेको छु।
हिँड्दाहिँड्दै मेरो नजर सडकमा जुत्ता पालिस गरिरहेका एकजना केटामाथि पर्यो। काठमाडौंमा प्रायः काला वर्णका व्यक्तिहरू सडकछेउ वा बजारमा बसेर जुत्ता सिउने र टल्काउने काम गरिरहेका देखिन्छन्। उनीहरू बाँच्नकै लागि जसोतसो मात्रै कमाएको देख्थेँ मैले।
हिँडाइले होला मेरा जुत्ता धूलो टाँसिएर खैरो भएका थिए। जुत्ता बोल्न सक्ने भए 'हामीलाई टलक्क टल्काइदेऊ' भन्थे होलान्। मोलमोलाइमा समय खर्चिए पनि २५ रुपैयाँमा भाइले मान्यो। उसले मजाले जुत्ता टल्काइदियो। तर भयो के, उसले रातो पालिस लगाइदिएछ जुन मेरो जुत्ताको रङभन्दा अलि फरक थियो।
हप्तादिनपछि पाइन्ट फुकालेर धुन खोज्दा त मोताभरी रातो पालिसको रङ लागेको रहेछ। जति धोए पनि गएन। तर खुसीको कुरा, जुत्ताको उध्रिएको भाग पनि भाइले बलियो पारेर सिलाइदिएको रहेछ !
टहलिँदै हामी असन पुग्यौं। असनमा अधिकांश पसलेहरू त्यति मिलनसार देखिन्थेनन्। सायद उनीहरूका नियमित ग्राहक नेपालीहरू नै प्रशस्त भएकाले हामी जस्ता कुइरेलाई 'भाउ' नदिएको हुनसक्छ।
ठमेल चाहिँ पर्यटकीय क्षेत्र भएकाले र पसलेहरूले ठ्याक्कै 'टुरिस्ट' भनेर थाहा पाउने हुनाले अलि बढी नै मिलनसार भएका पनि होलान्। तर ठमेलमा बस्न मनपराउने 'वेस्टर्न'हरू बेवकुफ नै लाग्छन् मलाई। दिनभर होटलमा बस्छन्, बिहान-बेलुका त्यहीँको कफी सप र रेस्टुरेन्टमा थेचारिएर बस्छन्। उनीहरूलाई नेपाल भनेको त्यही ठमेलको एउटा कुना मात्रै लाग्दो हो !
ब्रायन र म भने काठमाडौंका गल्ली-गल्ली चहार्थ्यौं। यहाँका मान्छेका पुराना चाखलाग्दा कुरा सुन्न हामी घरघर डुल्थ्यौं।
त्यतिखेर 'हिप्पी टाइपका टुरिस्ट' धेरै थिए। उनीहरू च्यातिएको, फाटेको, मैलो, रंगीचंगी, झोल्लिएका कपडा लगाएका भेटिन्थे। ठमेलमा एकपल्ट एउटा हिप्पी टुरिस्ट नेपाली रिक्सावालासँग बहुत रिसाएको थियो। उनीहरूबीच के कुरा मिलिरहेको थिएन।
तर त्यो टुरिस्टले 'अंग्रेजी बोल्न नसक्नेले ठमेल जस्तो पर्यटकीय क्षेत्रमा के काम गरेको' भन्दै गाली गर्दै थियो नेपाली दाजुलाई। दाजुले लुरुक्क परेर त्यो हिप्पीको कुरा सुन्नुबाहेक केही गर्न सकेनन्।
म आफूलाई उनीहरू जस्ता 'टुरिस्ट'बाट फरक स्थानमा राख्न चाहन्थेँ। मैले हाफ-पाइन्ट लगाइनँ, पूरै घुँडा छोपिने कपडा नै लगाउँथेँ। सर्ट पनि पाइन्टभित्र घुसारेरै लगाउँथे। मैले कहिल्यै अरू टुरिस्टले जस्तो क्यामरा घाँटीमा भिरेर पनि हिँडिनँ। म नेपाली नै त बन्न सक्दिनँ तर कुनै अर्को ग्रहबाट आएको विशेष प्राणी पनि बन्न चाहन्नथेँ। म अरूजस्तै सामान्य मान्छे बन्न चाहन्थेँ र बन्ने कोशिस सधैं जारी छ।
तर जे गरे पनि मेरो गोरो छालाकै कारण म सबैका लागि आकर्षणको पात्र हुन्थेँ जुन अमेरिका र डेनमार्कमा मैले कहिल्यै पाउँदिन।
नेपालीहरू भेट्दा म सधैं उनीहरूको भाषा र सांस्कृतिक नियम बुझ्ने प्रयास गर्थेँ। उनीहरूको फरक संस्कृति बुझ्ने प्रयास गरेकै कारण म प्रायः नेपालीहरूबीच प्रिय विदेशी नै बनेँ।
बनेँ जस्तो लाग्छ भनुम्। तर मान्छे यस्तो प्राणी हो जो जहिल्यै आफूभन्दा फरक समुदायका मान्छेका बारेमा खराब टिप्पणी गर्न रूचाउँछ। तर बुझ्न पर्ने कुरा, फरक समुदायका मान्छेसँग जति घुलमिल भइयो, त्यति नै उसको संस्कृति मात्र होइन, पूरै पृष्ठभूमिबारे थाहा पाइन्छ। जब तपाईंले फलानो समुदायका मान्छे ठीक वा गलत भन्न छाड्नुहुन्छ तब मात्र तपाईं फरक संस्कृति र व्यवहार भएका मान्छेलाई दील खोलेर अंगालो हाल्न सक्नुहुन्छ।
यो मैले पढेर होइन, देखेर, डुलेर र भोगेको अनुभवले भनेको हुँ।
त्यसैले नेपालीहरूबारे बुझ्न मैले नेपालीहरूसँगै समय बिताएँ। मेरो यो व्यवहार मानवशास्त्र र समाजशास्त्रका सिद्धान्तका किताब पढ्नुभन्दा बढी उपयोगी भयो।
नेपाल विशाल छ, बुझ्न एक जुनी काफी छैन। नेपाली श्रीमती भएको एउटा फाइदा, म नेपालबारे हरेक कुरा उनलाई सोधिरहन पाउँछु। कहिलेकाहीँ त झनक्कै रिसाएर 'बेबी! आइ एम योर वाइफ, नट योर गुगल' भनेर डायलग पनि मार्छिन्। अनि म उनलाई 'माई वाइफ नोज एभ्रीथिङ' भन्छु। त्यति भनेपछि उनी फुर्किहाल्छिन्।
प्रत्येक दिन म केही न केही नयाँ कुरा उनीबाट सिकिरहन्छु।
अस्ति भर्खर उनले एउटा नयाँ कुरा सिकाइन्- बिरुवाहरू अर्काको घरबाट चोरेर सार्यो भने झन् राम्ररी पलाउँछ रे !
यस्ता अनगिन्ती अन्धविश्वास छन् जुन थाहा पाउँदा मलाई हाँसो र आनन्द दुवै लाग्छ।
'हैट ! मलाई त थाहा थिएन नि बेबी' भन्दा उनी मज्जाले हाँसेकी थिइन्। 'हैट' शब्द म आजकाल धेरै प्रयोग गर्छु। बाटोमा मान्छेहरूका अगाडि 'हैट', 'आम्मा', 'हो र!' भन्दा मान्छेहरू दंग पर्छन्।
त्यो दिन ठमेल असन हुँदै हामी ज्याठातिर लाग्यौं। ज्याठा शब्दको अर्को किस्सा छ।
मेरा मिल्ने नेपाली साथीहरू ज्याठा बस्छन्। उनीहरूको घर म हप्तैपिच्छे गइरहन्छु। तर जब म ज्याठा जना ट्याक्सी चढ्छु, ट्याक्सी चालकहरू सधैं फिस्स हाँस्थे।
श्रीमतीसँगै पहिलोपटक ज्याठा जाने ट्याक्सी चढ्दा उनी पनि मुर्छा परेर हाँसिन्। खासमा म जहिल्यै ज्याठालाई 'जाँठा' भन्दो रहेछु। त्यसैले मान्छेहरू हाँस्दा रहेछन्। अनि श्रीमतीले नै शुद्ध शब्द बुझाइदिएकी थिइन्।
ज्याठा डुलिरहँदा भारी बर्षात् भयो। एउटा पसलमा ओत लाग्यौं। पसलमा काश्मिरी पस्मिनाका सलहरू बेच्न राखिएका थिए। ब्रायन पसलेसँगै भुल्न थाल्यो। म बाहिरै बसेर पानीका थोपा नियाल्न थालेँ।
सडकछेउ थुप्रै रिक्सा थिए। बर्षाका कारण रिक्साको ब्रेकले राम्ररी काम नगर्ने रहेछ। त्यसैले मैले अधिकांश रिक्सावालाहरूले जुत्ताको सोलले रिक्साको अगाडिको टायर रोक्ने प्रयास गरिरहेको देखेँ। त्यो एकदम जोखिमपूर्ण थियो। मलाई ती रिक्सावालाहरूको एकदमै माया लाग्यो।
पानी रोकिएपछि म पसलभित्र गएँ र 'मिठो खाना कहाँ पाइएला' भनेर पसलेलाई सोधेँ। उनले 'दाल भात खानुभयो' भनेर सोधे। हामी दिनकै खान्थ्यौं।
पछि हामीले नजिकैको नेपाली रेष्टुरेन्टमा खाजा खायौं। त्यो रेस्टुरेन्टमा हामीले दुईजना विदेशी भेट्यौं- मेगन र इथन। उनीहरूले हामीलाई 'विसकन्सिनको प्रोगाममा नेपाल आएको हो' भनेर सोधे। पछि थाहा भयो, मेगन हिजो भर्खरै हाम्रो प्रोगाम हाउस पुगेकी रहिछन्।
हामीले उनीहरूलाई पनि हामीसँगै खाजा खान अनुरोध गर्यौं र सबैजना छतमा बस्न गयौं। खाना अर्डर गर्न मेनु हेरेको, असाध्यै महँगो रहेछ। त्यसपछि हामी विस्तारै भुँइतल्लामै झर्यौं। एकजना भलादमी वेटर भाइले हामीलाई सस्तो र मिठो खाना पाउने अर्को नेपाली रेस्टुरेन्टको बाटो देखाइदिए।
त्यो रेस्टुरेन्ट त्यति आकर्षक थिएन, मान्छेको घरजस्तै थियो। तर खाना भने वेटर भाइले भनेजस्तै मिठो थियो।
मेगन र इथनले हामीलाई क्यसिनो जान सुझाए। उनीहरूले चाहिँ क्यासिनोमा पैसा हारेछन्। तर टेबुलमा बस्नेबित्तिकै सित्तैमा खाना, रक्सी र चुरोट दिने भएपछि खासै चित्त नदुखेको जिकिर गरे। त्यसका अतिरिक्त क्यासिनोमा 'धेरै पैसा भएको गोरा हुँ' भनेर नाटक गर्न पाइन्छ भनेर मेगनले भनेपछि ब्रायन र म क्यासिनो जान हौसिएका थियौं।
मेगन र इथन प्रेममा रहेछन्। उनीहरूलाई नेपाल गज्जबै लागेको थियो। हामी फेरि भेट्ने सल्लाहसहित छुट्टियौं।
ब्रायन र म फेरि ठमेलकै बाटो चर्हार्दै थियौं, 'रग अप कार्पेट' भन्ने पसलमा गएर रोकियौं। पसलका मालिक कायूमसँग हामी महिला र सम्बन्धहरूका बारेमा घन्टौं गफियौं। मुस्लिम समुदायका कायूमको पुर्ख्यौली घर काश्मिर हो। त्यसैले उनको नेपाली भाषा पनि हाम्रो जत्तिकै नराम्रो थियो।
तर कायूमलाई काश्मिरी, उर्दू, हिन्दी, नेपाली र अंग्रेजी बोल्न र लेख्न पनि आउँथ्यो। त्यति धेरै भाषा जान्न त्यही भूभागमा भिज्नुपरेको होला कायूमले। उनी एकदम मिजासिला र हँसिला थिए। छुट्ने बेला फेरि भेट्ने बाचासहित छुटेका थियौं। अझ कायूमको पसलमा रहेको कुरानको कसम खाएर छुट्टियौं हामी। म कायूमलाई भेट्न बेलाबखत गइरहन्छु।
कायूमसँग भेटिसकेपछि थकित भएर हामी दरबारमार्गको याक एन्ड यति नै पुग्यौं जहाँ ब्रायन र मेरो साइकल हामीलाई पर्खिरहेको थियो। त्यसपछि साइकल कुदाउँदै हामी आ-आफ्नो होस्ट घरतिर हुइँकियौं।
(यो स्तम्भ पाक्षिक रूपमा प्रकाशन हुनेछ।)
यी पनि पढ्नुस्ः