कुइरेको डायरी
२०५४, भदौ २१
त्यो दिन राजु सबेरै सहर घुम्न गएको थियो। बिहान साढे १० बजेतिर जेम्स आयो। अघिल्लो दिनै हामीले पशुपतिमा महिलाहरू नुहाएको हेर्न जाने योजना बनाएका थियौं। त्यो दिन ऋषिपञ्चमीको दिन थियो, सायद।
त्यो बेला पशुपतिनाथ मन्दिरको नाम कण्ठ गर्न मलाई निकै समय लागेको थियो। हरेकपल्ट म 'पासपटी' कि 'प्यासप्याटी' भनेर उच्चारण गर्थेँ। पछि अभ्यास गर्दा गर्दा पशुपतिनाथको नाम बल्ल शुद्ध उच्चारण गर्न सिकेँ।
जतिखेर हामी पशुपतिनाथ पुग्यौं, महिलाहरू बाग्मती नदी किनारबाट रित्तिसकेका थिए। हामीले बाग्मतीकै किनारमा भएका दाहसंस्कारका दृश्य क्यामरामा कैद गर्न थाल्यौं। कसैको परिवारको सग्लै मान्छेको ज्यान पुत्पुताइरहेको आगोमा खरानी भइरहेको क्षणको साक्षी बनिरहेका थियौं जेम्स र म।
जेम्सलाई कतै जानु थियो, ऊ हिँडिहाल्यो। म भने घन्टौंसम्म आर्यघाटको दाहसंस्कार हेरेर बसिरहेँ।
भोलिपल्ट थाहा पाएँ, जेम्स त लोकल ठर्रा खान चाबहिल नजिकैको भट्टी गएको रहेछ। उसको होस्ट परिवारले ऊ मातेको थाहा पाएर नराम्रैसँग झपारेछ पनि। होस्टबाको नमज्जाको गाली खाएपछि ऊ मकहाँ दुःख बिसाउन आएको थियो।
गज्जबको कुरा, रक्सी खाएर मातेपछि जेम्सले एकाएक फर्रर नेपाली बोलेको थियो रे! लोकल ठर्रा पिउँदा मेरो अनुभव पनि ठ्याक्कै उस्तै छ।
जेम्स गएपछि मैले केही समय लेखन र पेन्टिङमा बिताएँ। यी दुवै काम गर्न पाउँदा म अत्यन्त खुसी हुन्छु। मेरो मुवाले सानैदेखि हामीलाई पेन्टिङ गर्न र पियानो बजाउन हौस्याउनुहुन्थ्यो। म चार वर्षको छँदै मुवाले पियानो कक्षामा राखिदिनुभएको थियो। म पनि पूरै लगावका साथ पेन्टिङ गर्थेँ र पियानो बजाउँथे।
साँच्चै डेनिस भाषामा आमालाई 'मुवा' भनिन्छ, जुन प्रायः नेपाली क्षत्री-ठकुरी समुदायमा आमालाई मुवा भनेजस्तै हो।
घरमा एकछिन आराम गर्न भ्याएपछि म फेरि पशुपतिनाथ वरिपरि नै डुल्न गएँ। वनकालीमा सर्पको नाच देखाउने एउटा सपेरा बस्थ्यो। उसलाई मैले धेरैपल्ट भेटेको थिएँ। म उसको चित्र कोर्न चाहन्थेँ। वनकालीको उकालो चढ्दै गर्दा मैले विचित्रको अनौठो आवाज सुनेँ। एकनासले बजिरहेको आवाज यति तिखो थियो, त्यति भारी आवाज मैले आजसम्मै सुनेको थिइनँ।
वनकाली जंगल पुग्दासम्म तिखो आवाज झन् झन् बढिरह्यो। अघि एउटै मात्र कीराको जस्तो सुनिएको आवाज झन्डै सयौंको हाराहारीमा जम्मा भएर एकैचोटि चिच्याएजस्तो सुनिएको थियो। त्यस हिसाबले काठमाडौं सहरको 'वाइल्ड लाइफ' अजिब लाग्थ्यो मलाई।
मैले सुनेअनुसार संसारकै १५ प्रतिशत चराचुरूंगीका प्रजाति नेपालमा पाइन्छ रे।
जेहोस् मैले त्यो सर्प नचाउने सपेरालाई भेटेँ र उसको चित्र कोरेँ। त्यसपछि म फेरि बाग्मती किनार गएँ र अर्को दाहसंस्कार हेर्न भ्याएँ।
नेपालीहरूका लागि बाग्मती अत्यन्त पवित्र धार्मिकस्थल हो। जस्तै पापीले पनि एकपल्ट नदीमा डुबुल्की मारेपछि पाप पखालिन्छ भन्ने आस्था राख्छन् हिन्दूहरू। नभन्दै बाग्मती किनारमा असंख्य मान्छे नुहाउन तम्तयार थिए। उनीहरू नदीको पवित्रता अंगाल्न चाहन्थे कि पाप धुन, त्यो स्वयं श्री पशुपतिनाथले नै जानून्।
त्यसैबखत मेरै उमेरको एक जना केटा मसँग अंग्रेजीमा बोल्न आयो। त्यतिखेर अंग्रेजी बोल्ने नेपाली विरलै भेटिन्थे। उसको अंग्रेजी राम्रो थियो। भाषाको सामीप्यले होला, गफिएको केही बेरमै हामी साथीजस्तै भयौं र दुवै जना नेपालीमै बोल्न थाल्यौं। अझ उसले मलाई वनकालीमा गएर साधुहरूसँग बसेर गाँजा खाने प्रस्ताव गर्यो। मैले प्रस्ताव अस्वीकार गरेँ र घर फर्केँ।
भाषा बोल्न सक्नु पनि गज्जबको सीप हो। नेपाली भाषाको पकडकै कारण होला, बिल्कुलै फरक संस्कृति भएको देशबाट आएको म एउटा सामान्य गोरालाई नेपालीहरू अत्यन्त माया र हार्दिकता देखाउँथे।
मैले दक्षिण अफ्रिकाको तोगोमा पनि काम गरेको थिएँ। त्यहाँका मान्छे नेपालीजस्तै मिलनसार त थिएनन्, तर अधिकांश तोगोलीले बोल्ने राष्ट्रिय भाषापछिको दोस्रो भाषा फ्रेन्च बोल्न थालेपछि म त्यहाँ घुलमिल भएँ। तर नमिठो लाग्ने कुरा, झन्डै चार वर्ष काम गर्दा पनि मलाई त्यहाँका कुनै स्थानीयले आफ्नो घर कहिल्यै बोलाएनन्। नेपालीहरू भने भेटेको क्षणभरमै घर लगेर खुवाउनुका साथै बस्ने बन्दोबस्तसमेत मिलाइहाल्थे।
धन्न, मैले बेलैमा धेरै भाषा बोल्न सिकेँ र अहिले संसारभरका साथी बनाउन पाएको छु। खासमा धन्यवाद चाहिँ मैले बुबालाई दिनुपर्ने हो। उहाँले सानैदेखि हामीलाई फरक-फरक भाषा बोल्न सिक्नुपर्छ भन्नुहुन्थ्यो।
'जति धेरै भाषा बोल्न सिक्यौ, उति धेरै मान्छेसँग चिनजान भइन्छ। जति मान्छेसँग चिनजान भयो त्यति नै जिन्दगी रमाइलो हुन्छ,' बुबा बारम्बार भन्नुहुन्थ्यो।
बुबा जवान हुँदै अंग्रेजी, फ्रेन्च र जर्मन फर्रर बोल्नुहुन्थ्यो रे। अनि मुवालाई विवाह गरेपछि डेनिस पनि बोल्न सिक्नुभयो।
उहाँ डेनिस पढ्न र लेख्न पनि सक्नुहुन्छ। हामी सानै हुँदा बुबा अमेरिकाकै प्रिन्सटन विश्वविद्यालयमा फ्रेन्च भाषाका प्राध्यापक हुनुहुन्थ्यो। भाषाप्रति मोहकै कारण होला, उहाँ अहिले ७५ वर्षको उमेरमा पनि हिब्रू पढ्न दिनदिनै क्याम्पस जानुहुन्छ।
भाषा र बुबाको कुरा अहिलेलाई यति नै। म त्यही दिनको कुरा सुनाउँछु।
राजु साँझको ६ बजेतिर घर फर्कियो र 'मेरो साथी खोइ' भनेर सोध्यो। सम्झिनुभयो नि राजु? जो आफूले कहिल्यै नभेटेको र नबोलेको केटीलाई आफ्नो गर्लफ्रेन्ड ठान्थ्यो। (यो पढ्नुस्ः नेपालीहरूका साना-साना रमाइला बानी)
पहिला त राजुले कुन साथी खोजेको हो, मैले ठम्याउन सकिनँ। पछि थाहा पाएँ उसले जेम्सलाई खोजेको रहेछ। म अलिकति रिसाएको थिएँ राजुसँग। ऊ हरेक रात मसँग अंग्रेजी भाषा सिक्न चाहन्थ्यो। म उसलाई सहयोग गर्न चाहन्थेँ तर उसलाई सधैं पढाउँदा म थाक्थेँ। फेरि प्रोग्राम हाउसबाट पनि हामीलाई धेरै गृहकार्य दिएको हुन्थ्यो। राजुकै कारण म समयमै गृहकार्य गर्न पाउँदिन थिएँ।
'म आज पढाउन सक्दिनँ, भोलि' भन्दा पनि मैले सुख पाउँदिन थिएँ। मैले नपढाएसम्म ऊ कोठामा सुत्न जाँदैन थियो। कहिलेकाहीँ त रिस्सिएर बोल्दै नबोली घुर्की पनि लाउँथ्यो।
मैले केही दिनअगाडि 'अंग्रेजी भाषा सजिलै सिक्ने' किताब किनेर उसलाई दिएको थिएँ। तर उसले मलाई किचकिच गरिरह्यो। 'मेरो धेरै गृहकार्य गर्नुछ, म आज सक्दिनँ' भनेर उसलाई सम्झाउन थालेको पनि आधा घन्टा भइसकेको थियो।
मैले उसलाई वास्तै नगरी खुरूखुरू आफ्नो गृहकार्य गर्न थालेँ। राजु एकदम एकोहोरो स्वभावको थियो। उसले जिद्दी गरेर बचपना देखाइरह्यो। मैले नम्र भएर 'राजु, गुडनाइट' भनेँ। तर ऊ मेरो कोठाबाट निस्कनै मानेन। मैले फेरि दोहोर्याएँ, 'राजु गुडनाइट, सि यु टुमरो।'
त्यसपछि उसले बल्ल भन्यो, 'याकप, मलाई अमेरिकन पैसा देखाउनुस् न।'
मैले ब्यागबाट केही अमेरिकी सिक्का निकालेर प्रत्येक सिक्काको महत्वबारे जानकारी दिएँ। उसले केही सिक्का माग्यो। मैले दिएँ पनि। त्यसपछि दंग पर्दै उसले भन्यो, 'गिभ मी मोर! आइ वान्ट टु ह्याभ अ डलर।'
मैले उसलाई फेरि केही अमेरिकी सिक्का दिएँ। राजुले मलाई धन्यवादको सट्टा थप डलर माग्दै भन्यो, 'टुमरो यु विल बेग फ्रम जेम्स मनी फर मी, यस?- भोलि तिमी मेरा लागि जेम्ससँग पैसा माग्छौ होइन त?'
राजुको त्यो अन्तिम वाक्य सुनेर म रिसले भाउन्न भएँ। रिसले काम्दै ठाडै अस्वीकार गर्दै भने, 'नाइँ म जेम्ससँग पैसा माग्दिनँ। किन मागूँ? जेम्स बैंक होइन र म पनि होइन।'
जति मात्रामा रिसाउनुपर्ने थियो त्यति देखाउन वा रिसाउनै नसकेकाले म अवाक् भइसकेको थिएँ। राजुले भने मेरो रिसको भाव बुझ्न सकेन वा बुझेर पनि बुझ पचाइरह्यो।
म कुर्सीमा थचक्क बसेर फेरि गृहकार्य गर्न थालेँ। राजु उल्टै च्याँठ्ठिएर मलाई आदेश दिएजसरी भन्यो, 'भोलि तिमीले मेरो रंगीन फोटा खिचेर प्रिन्ट गरेर दिनुपर्छ!'
मैले उसको अनुहार नै हेरिनँ। उसले मेरो ढाडमा धाप मार्दै भन्यो, 'जेम्स र तिम्रो अमेरिकन पैसा म सुरक्षित ठाउँमा लुकाएर राखिदिन्छु क्या!'
लगत्तै उसले त्यो दिनको अमेरिकी डलरको विनिमय दर र मैले दिएका सिक्का साट्दा कति नेपाली पैसा आउँछ भनेर पनि सोध्यो। राजुको लोभ तेर्सिएको प्रश्नले मेरो रिसमा आगोको झिल्का थप्यो। अन्ततः मैले उसलाई ठूलै स्वरमा चिच्याएर भनेँ, 'यु डन्ट लाइक मी! यु लाइक माई इंग्लिस एन्ड मनी! तिमी मेरो साथी होइन रहेछौ।'
मेरो चिच्याहटमा रिसभन्दा बढी चित्तदुखाइ थियो। राजुले म नमज्जाले रिसाएको बल्ल थाहा पाएर हो वा फकाउन खोज्दै भनेको थियो, 'जेम्स फरक देशको भएकोले ऊसँग फरक पैसा हुने रहरले सोधेको हुँ!'
मैले चित्त दुखाएको थाहा पाएर उसले मसँग पछि माफी मागेको थियो। त्यो दिनबाट मैले राजुसँग हेलमेल गर्न छोडिदिएँ। राजुको अर्को दिक्क लाग्दो कुरा पनि थियो, ऊ चाहन्थ्यो म उसको डिप्लोमाका सर्टिफिकेट हेरूँ र उसलाई अमेरिकामा अध्ययनका लागि विश्वविद्यालय खोजूँ।
उसले मलाई पटक-पटक अमेरिकी दूतावासमा उसलाई भिसा दिलाउन कुरा गरिदेऊ पनि भन्थ्यो। सायद उसलाई लाग्थ्यो, मजस्ता कुइरेसँग अमेरिका जाने भिसा ड्याङ ड्याङ लाउने अधिकार हत्केलामै हुन्छ।
बाइस वर्षअगाडिको त्यो कुरा सम्झेर मलाई आज पनि नमिठो लाग्छ। त्यतिखेर पनि राजुसँगको नमिठो घटना बिर्सन मलाई महिनौं लागेको थियो।
(यो स्तम्भ पाक्षिक रूपमा प्रकाशन हुनेछ।)
यी पनि पढ्नुस्ः