कुइरेको डायरी
असोज २०, २०५४
बिहान सबेरै उठेर नुहाउन लाग्दा झन्डै बस छुट्न लागेको मलाई पत्तो थिएन। बस त साढे ७ बजे होटलबाट छुट्ने कुरा रहेछ। तर मैले बुझेअनुसार त्यो समय रुम 'चेकआउट' को थियो। म आरामले सामान प्याकिङ गर्न व्यस्त थिएँ। एक्कासि ढोका बाहिरबाट जेम्स चिच्याउन थाल्यो, 'याकप! याकप छिटो निस्क, बस हिडिँसक्यो।'
तुना पनि नकसेको जुत्ता, बडेमानको सुटकेस बोकेर म हतारिँदै होटलबाहिर पुगेँ। बस आफ्नो बाटो लागिसकेको रहेछ। झन्डै सय मिटर अगाडि लम्किरहेको पनि मैले देखेँ। दिक्क लाग्यो।
अब के गर्ने ?
'बसको पछि पछि कुद्ने,' मैले आफैंले आफैंलाई भने।
समयको महत्वबारे मैले सानैदेखि घरपरिवारबाट सिक्दै आएको थिएँ। स्कुले जीवनमा 'समर भ्याकेसन' मा म बस्टनको सिटी एअरमा काम गर्थेँ। सिटी एअरको कार्यालयमा महिनामा ३-४ पटक ३० सेकेन्ड मात्रै ढिलो पुग्दा पनि हाकिमले मेरो पूरै चार दिनको तलब काटेको थियो। त्यो घटनाले मलाई समयको महत्व र व्यवस्थापनबारे राम्रै पाठ सिकाएको थियो।
कसले म बस चढ्न छुटेको कुरा निकालेछ कुन्नि! लम्किँदै गरेको बस अचानक रोक्कियो। म कुन गतिको कुदाइमा बससम्म पुगेँ मलाई पटक्कै याद छैन। बसका सिट खचाखच भरिएका थिए। मैले छतको सिट कब्जा गरेँ। ब्रायन पनि बसभित्रको सिट छोडेर मसँगै माथि आयो।
शारदीय बिहानीमा खुलेको निलो आकाश। निलो आकाशमुनिका हरियो जंगल नियाल्दै यात्रामा निक्लेँ म। आनन्द महशुस गरिरहेको थिएँ।
खुसीले उन्मुक्त मैले छेवैतिरबाट साइकलमा सवार एक हुललाई छतबाटै आफ्नो नृत्यकला देखाउनसमेत भ्याएँ। उनीहरूले मलाई पक्कै 'बहुलाएको कुइरे' सोचे होलान्।
फराकिला फाँटहरू छोड्दै बस लम्किरहेको थियो। गन्तव्यसँगै यात्रुहरू झर्ने सिलसिला पनि बढिरह्यो। जब जब बस रोकिन्थ्यो, छतमा हामीसँगै सवार धेरै मान्छे ओर्लिँदै बसभित्र सिटमा बस्न थाले।
ब्रायन र म भने समथर जमिनबाट उकालो लाग्दै गरेका अचम्मका ल्यान्डस्केप हेर्नमै रमाइरहेका थियौ। विस्तारै सम्म परेका जमिन उकाला डाँडाहरूमा परिणत भइरहेका क्षणको साक्षी बनिरहेका थियौं।
मलाई अचम्म लाग्ने कुरा, यहाँ जस्तो आकृतिका भूभागलाई पहाड भनिन्छ नि, संसारका अधिकांश ठाउँमा त्यसैलाई हिमाल भनिन्छ।
कुरै कुरामा भन्नै बिर्सेछु। हामी धरानबाट इलामको सिद्धिथुम्का जाँदै थियौं। म ढुक्क थिएँ छतमा बस्न पाएकोमा। बसभित्र अत्यन्त गर्मी थियो रे! नमज्जा लागेको चाहिँ, चलिरहेको बसबाट मैले तस्बिर खिच्न सकिरहेको थिइनँ।
इलामका उबडखाबड बाटो र चिया बगानका दृश्यहरू देखेर म रोमाञ्चित भइरहेँ। प्रहरी थानामा एकैछिन विश्राम लियौं। प्रहरीहरूले हामीलाई छतमा नबस्न सुझाए। बसभित्रै बस्न भने।
खचाखच मान्छे भरिएको बसमा खुट्टा टेक्ने ठाउँ थिएन। बसभित्रका गाउँलेहरूले हामीलाई देखेर 'गोराहरू आएछन् गाउँतिर' भनेर कानेखुसी गर्न थाले। म, मेरो साथी एन्टलाई नेपालीमा चुट्किला सुनाइरहेको थिएँ। एन्ट त्यस्तै हो, गाला पुक्कपुक्क परेका एक जना बूढा बाजे भने खितखिताएर हाँसिरहे।
मैले बाजेलाई 'फेरि अर्को चुट्किला सुनाऊँ' भनेँ। शिरदेखि पाउसम्म सेतै लुगा लगाएका बाजे झन् मरीमरी हाँसे। संयोगवश उनै बा पछि मेरा 'होस्ट बा' बने। तर त्यति बेला हामी दुवैलाई यसबारे बिल्कुल थाहा थिएन।
छतमा रमाएका हामीलाई बसभित्र अलि सुस्ताएका जस्ता देखेर 'कन्डक्टर' भाइले 'पाँच मिनेट पर्खिनुस्, फेरि माथि पठाइदिन्छु' भनेका थिए। नभन्दै केही बेरमै हामी फेरि छतमै बसाइँ सर्यौं।
झन्डै पाँच घन्टाको यात्रापछि हामी एउटा सानो गाउँ पुग्यौं। हाम्रो यात्रालाई सघाउन एक जना महिला, विष्णु पनि सँगै आएकी थिइन्। उनैले हाम्रो केही दिने बसाइका लागि एउटा घर पनि खोजिदिएकी थिइन्।
गाउँमा कसैको घरमा बिजुली थिएन। टेलिफोनको पहुँच त झन् परको कुरा भइहाल्यो। कसैको घरमा खानेपानीको धारा पनि थिएन। गाउँका महिलाहरूले घन्टौं हिँडेर पानी बोकेर ल्याएका हुन्थे। त्यसैले उनीहरू पानीको जोहो गर्थे।
म जुन घरमा बसेको थिएँ, त्यहाँ पुग्नेबित्तिकै मैले एउटा गाग्रीबाट प्लास्टिक जगमा भरी पानी खन्याएर हातमुख धोएको थिएँ।
झन्डै ८० उमेरकी आमैले टेक्दै गरेको लौरीले कठालोमा ट्वाकट्वाक हिर्काएर झपारिन्, 'इत्रो चराको जत्रो मुख धुन यत्रो पानी खन्याउन पर्छ? एक अञ्जुली पानी छम्के भइहाल्थ्यो नि!'
त्यो लौरीको ट्वाकट्वाक गाउँमा पानीको दुःखको भेउ पाएको क्षण थियो मेरा लागि।
साँझ परेपछि सबैको घरमा टुकी चाहिँ बलेकै हुन्थ्यो। त्यसैले काठमाडौंभन्दा गाउँ अलि न्यानो लागेको थियो मलाई।
त्यो साँझ होस्ट घरका परिवारसँगै बसेर हामीले दालभात खायौं। गेभले झन्डै एक किलो चामलको भात खाएको थियो। थालभरि पहाडजत्रो भात थपेर खाएको खाए गर्यो उसले। कस्सम! उसले जति भात खान सक्ने मान्छे मैले कहिल्यै भेटेको छैन।
घरका कसले पो हो, गेभलाई इसारा गर्दै, 'यो गोरा त भाते पो रैछ' पनि भनेको थियो। धन्न, गेभको नेपाली मेरो जत्तिको राम्रो थिएन। उसले मुस्कुराउँदै 'थ्यांक्यू' भनेको थियो सायद!
हामी बसेको घरका मान्छेहरू राम्रा थिए। घरका भाउजू, दाइ, मामा, काका, कसलाई के नाता लाएर बोलाउने, मैले ठम्याउन सकिरहेको थिइनँ। नेपाली परिवारको सम्बन्धको विशेषता भनेकै सबै सम्बन्धको बेग्लाबेग्लै नाम हुन्छ। हाम्रो त लगभग एउटै खाले नाम। नेपालीहरूका भाञ्जा-भाञ्जी, फूपू-फूपाजु, मामा-माइजू, काका-काकी, साला-साली, अरू धेरै के-के हो के-के छन्, भनिसाध्य छैन।
घरकाले ब्रायन, जेम्स र मेरा लागि एउटा सुत्ने कोठा व्यवस्था गरिदिएका थिए। कोठामा खाट भने थिएन। केही दिनका लागि भुइँको सुताइ पनि गज्जब हुने भयो भन्दै हामी दंग थियौं।
बसाइको एउटै मात्र समस्या भनेको चर्पी थियो। काठमाडौंमा जस्तो यहाँ घरभित्रै चर्पी थिएन। अधिकांशका घरबाहिर केही दूरीमा बनाइएको हुँदो रहेछ। मेरो होस्ट घरको चर्पी पनि अलि परै थियो। फेरि त्यो चर्पीमा चुकुल राम्ररी नलाग्ने भएकाले भित्रबाट बेस्सरी चुकुल समाएर बस्नुपर्ने रहेछ।
मान्छेहरू चर्पीछेउतिर हिँडेको सर्याकसुरुक्क आवाज आयो भने म चर्पीभित्रैबाट खोकेको आवाज निकाल्थेँ। त्यसो गर्दा 'चर्पीमा म छु है' भनेर सञ्चार गर्न सकिन्थ्यो।
हामी आएकै रात गेभ शौच गरिरहेका बेला कसैले बाहिरबाट चर्पीमा ताला लगाइदिएछ। गेभ झन्डै २० मिनेट थुनिएछ। पछि उसले ढोकामा कैयनपल्ट ढवाङ् ढवाङ् गरेपछि बल्ल घरका कसैले थाहा पाएर ढोका खुलेको थियो रे। राति अधिकांशको घरका चर्पीमा ताला लगाउने चलन रहेछ। पहिलो रात भएकाले हामीलाई त्यसबारे पटक्कै थाहा थिएन। त्यसैले म साँझ कम पानी पिउँथे र सुत्नुअघि नै चर्पी गइहाल्थेँ।
गेभले भने जुक्ति निकालिसकेको रहेछ। ननिकालोस् पनि कसरी? उही त हो धेरै खाने खञ्चुवा।
साँच्चै मेरो घरमा तीनवटा बिराला छन्। तीमध्ये एउटाको नाम खञ्चुवा नै हो। ऊ पनि गेभजत्तिकै धेरै खान सक्छ।
कुरै कुरामा गेभले हामीलाई भनेको थियो, राति पिसाब लाग्दा के गर्ने भनेर। गेभले चार रातदेखि यही गर्दै आइरहेको थियो। हामी बसेकै कोठाछेउमा एउटा सानो चिटिक्क परेको बरन्डा थियो। बरन्डामा फूलैफूलका गमला टन्न सजाएर राखिएका थिए। गेभका अनुसार रातमा सुख्खा गमलाहरूलाई ओसिलो बनाउन आवश्यक थियो र यसले फूललाई फाइदा पनि गर्छ रे।
त्यसैले गेभ हरेक रात दुइटा गमलामा मूत्र बिसर्जन गर्दो रहेछ। हुन पनि पिसाबले फूलहरू झन् सप्रेका थिए।
गेभ, ब्रायन र म साँझ गफिँदै बसिरहेका थियौं। कसैले गितार बजाइरहेको थियो। ब्रायन र म गितारको आवाज पछ्याउँदै बाहिर निस्कियौं। हाम्रै उमेरका दुई जना केटाहरू परिवारसँग घरको आँगनमा बसेर गीत गुनगुनाइरहेका थिए। मैले परबाट नियालेको देखेर उनीहरूले हामीलाई भित्रै डाके।
नेपालीहरूको सबभन्दा राम्रो पक्ष भनेकै व्यवहार हो। उनीहरू कति सजिलै अपरिचित मान्छेलाई विश्वास गरेर सत्कार गर्छन्। उनीहरूको ठूलो मनमा हामीजस्ता अनगिन्ती पाहुना सहजै अटाउँछन्।
ब्रायनको जुगलबन्दीमा मैले केही अमेरिकी गीत गाएँ। सबभन्दा हिट चाहिँ बेन हार्परको 'लभ्ली डे' भयो। उनीहरू मैले नेपाली गीत गाएको सुन्न चाहन्थे। तर मैले कुनै पनि नेपाली गीत सिकेको थिइनँ। पछि उनीहरूले नै नेपाली गीत गाए, जुन मलाई असाध्यै मनपर्यो। आधा घन्टाको सांगीतिक माहोल सकेर हामी घर फर्कियौं।
पछि मैले विष्णुलाई अघि सुनेको नेपाली गीतका शब्द लेख्न लगाएँ। सजिलै दुई लाइन कण्ठ पनि गरेँ।
गीतको बोल यस्तो थियोः
माया मेरी माया, हाम्रो मिलन कहिले हुन्छ?
तिम्रो मुटु तिम्ले मलाई, दिइसक्यौ होइन र?
अनि त म हरेक समयजसो यो गीत गुन्गुनाइरहन्थेँ। सिद्धिथुम्काको बसाइमा सायद सय पटकभन्दा बढी गाएँ होला। शब्द उच्चारणमा पक्कै केही गल्ती गरेँ मैले। तर विष्णु र एक जना प्रहरी जवान युवाले मलाई त्यो गीत पूरै गाउन सिकाएका थिए।
अचेल त म बिनाहिचकिचाहट यो गीत गाउन सक्छु। प्रायःजसो श्रीमती कामको सिलसिलामा बाहिर गइरहन्छिन्।
अनि म उनलाई फोनमा घर छिटो आऊ भन्नुको साटो यही गीत सुनाउँदै भन्छु, 'माया मेरी माया, हाम्रो मिलन कहिले हुन्छ।'
(यो स्तम्भ पाक्षिक रूपमा प्रकाशन हुनेछ।)
यी पनि पढ्नुस्ः