कुइरेको डायरी
केही बेरमै मेरो बेडरूमको भित्तेघडीले रातको पौने १२ बजेको संकेत दिँदैछ। श्रीमतीले आज बिहानैदेखि भनेको भन्यै थिइन्, 'छिटो छिटो प्याकिङ गर, नत्र भ्याइँदैन है!'
म प्रत्येकपल्ट उसलाई जवाफ फर्काउँछु, 'समय कहाँ मेरो हातमा छ र प्रिय!'
आज मेरो नेपाल बसाइको अन्तिम रात। समय पनि छिटो छिटो बितिरहेको छ। बिहानै पाटन घुम्न गयौं। श्रीमतीले सयपत्री फूल किनिन्। झण्डै मध्यरातमा अहिले उनी त्यही फूलको माला उन्दैछिन्, मेरो बिदाइका लागि। आजको पूरै साँझ उनले मेरो लागि विशेष बनाइन्, ढिँडो पकाएर।
केही महिनाअघि उनीसँगै बुटवल जाँदा खाएको ढिँडोको स्वाद जिब्रोमै झुण्डिएको थियो। उनले विरलै मेरा लागि खाना पकाउँछिन्। जबकि, म प्रायः जसो उनलाई मनपर्ने खाना बनाउँछु।
उनले छतमै फलाएको कर्कलोको तरकारी, तोरीको तेलमा साँधेको तोरीकै साग, कोदोको ढिँडो, त्यसमाथि अकबरेको पिरो।
मैले सेरामिक्सको प्लेट नै चाटीचाटी खाएँ। श्रीमतीले भने एक गाँसबाहेक ढिँडो निल्न पनि सकिनन्।
'आ! होस् बरू तरकारी मात्रै खान्छु' भनेर उनको प्लेटको ढिँडो समेत मेरै प्लेटमा हालिदिएकी थिइन्।
जिन्दगी यस्तै रमाइलो गरी बितिरहेकै हो।
आज मेरो मन भारी छ। कसैले एउटा गह्रुँगो ढुंगा छातीमा बिसाएझैं। भारी मन लिएरै लेख्न बसेको छु यो मध्यरात।
मैले लगेज प्याकिङ गर्न समेत भ्याएको छैन। समय नहुनुभन्दा पनि मनै लागिरहेको छैन। मंगलबार बिहानैको फ्लाइटमा म डेनमार्क जाँदैछु।
आफू जन्मेको देश जान लाग्दा पनि उत्साहित छैन म। थोरै मान्छेहरूका अलावा डेनमार्कमा मेरो खासै धेरै सम्पर्क पनि त छैन। जागिर र बसोबास व्यवस्थापनकै लागि म डेनमार्क जाँदैछु। आशा गर्छु, जसरी १२ वर्षअघि म बिना कुनै बन्दोबस्त नेपाल छिर्दा पनि मेरो बसाइ सुखद रह्यो, जन्मभूमिको यो यात्रा पनि सुखद हुनेछ।
म नेपाललाई अत्यन्त मिस गरिरहेको छु। पहिला पनि यहाँबाट फर्केपछि मलाई धेरै गाह्रो हुन्थ्यो। नाताले ससुराली भए पनि नेपाल मलाई आफ्नो माइतीघर जस्तो लाग्छ। अमेरिकापछि मेरो दोस्रो घर नेपाल नै हो भन्छु म।
आज म तपाईंहरूलाई १२ वर्षअघिका ती दिनहरूमा लैजान्छु जुन म सधैं सम्झिरहन्छु।
त्यो दिन म होटलको बरन्डामा बसेर चिया पिउँदै थिएँ। एक्कासि ब्रायन टुप्लुक्क आइपुग्यो र सुस्त स्वरमा भन्यो, 'यहाँ कुरा गर्न अलि मिल्दैन, बाहिर जाऊँ।'
'किन कुरा गर्न मिल्दैन यहाँ,' मैले ब्रायनलाई सोधेँ।
'मिल्दैन भनेपछि मिल्दैन। बाहिर जाऔं,' उसले बारम्बार अनुरोध गरेपछि हामी केहीछिनमै ठमेलको एउटा रेस्टुरेन्टमा गयौं।
म कुर्सीमा बस्न नभ्याउँदै ब्रायनले मलाई सोधिहाल्यो, 'याकप यु निड टु टेल मी, आर यु वर्किङ फर सिआइए?- के तिमी सिआइएका लागि काम गर्छौ?'
'द सेन्ट्रल इन्टेलिजेन्स एजेन्सी (सिआइए)' अमेरिकाको इन्टेलिजिन्स ब्युरो हो। सिधा भाषामा, जासुसी एजेन्सी।
उसको शंकास्पद प्रश्नमा अवाक हुँदै मैले हत्तपत्त जवाफ फर्काएँ, 'नो ड्युड, एब्सुलिट्ली नट!'
'के कारणले तिमीलाई त्यस्तो लाग्यो,' म कड्किएँ।
त्यसपछि मैले सोचेँ, ब्रायनले धेरै वर्ष पत्रकारका रूपमा नेपालमा काम गरेको थियो। ऊ स्पष्ट नेपाली पनि बोल्छ। उसको धेरै राम्रो नेटवर्किङ पनि छ। त्यसको अलावा उसको कमाइ पनि राम्रो छ।
म एकछिन सोच्न बाध्य भएँ र सोधेँ, 'के तिमी सिआइएका लागि काम गर्छौ ब्रायन?'
त्यो बढी सान्दर्भिक हुन सक्थ्यो।
ब्रायन बेस्मारी हाँस्यो र भन्यो, 'धत, के कुरा गरेको त्यस्तो। म त्यस्तो केही काम किन गर्छु होला। बरू मैले जनआन्दोलनताका एउटा मान्छे भेटेको थिएँ। ऊ भन्थ्यो उसको नाम लुकास (नाम परिवर्तन) हो। र ऊ अमेरिकन समाचार संस्था एबिसीको पत्रकार हो।'
ब्रायनले एबिसीमै काम गर्ने उसको साथीलाई खबर गरेपछि सुइँको पाएको थियो, एबिसीमा त्यो नाम गरेको कुनै पनि पत्रकार काम गर्थेन। नाम, पेसा र हुलिया समेत शंकास्पद लागेपछि ब्रायनले विस्तारै लुकाससँग अनेक बहाना बनाएर सम्पर्क तोड्यो।
केही महिनापछि एउटा गोप्य स्रोतबाट थाहा हुन आयो, ती व्यक्ति सिआइएका लागि नेपालमा बसेर सूचना संकलन गरिरहेको रहेछ।
सायद ब्रायनलाई पनि नेपालमा रहेका अमेरिकीहरूका बारेमा सूचना थाहा पाउन भेटघाट गरिरहेको थियो उसले।
हामी दुवै जना मरीमरी हाँस्यौं र एकअर्कालाई सोध्यौं- किन हामीले एकअर्कालाई सिआइए जस्तो जासुसी संस्थाका लागि काम गर्छ कि भन्ने शंका गर्यौं होला!
त्यसपछि ब्रायनले कुरा खोल्यो-
म बसेको होटलका धेरै कर्मचारीलाई म सिआइएको जासुस भन्ने शंका रहेछ। किनकी हरेक बिहान कफी पिएर चट्ट परेको कालो सुट लगाएर म ठ्याक्कै ९ बजे होटलबाट निस्कन्थेँ। भर्खरै अमेरिकाबाट आएको, राम्रो नेपाली भाषा बोल्न सक्ने र राति सुत्न मात्र होटल आउने म होटलको बिल पनि महिनाको अन्तिम तारिखमा मात्र तिर्थेँ।
होटलका म्यानेजरहरू नै मेरा बारेमा कुरा गर्थे रे- 'तीन महिनादेखि होटलमा बसिरहेको छ। कामधन्दा केही छैन भन्छ। तै पनि होटलको राम्रै बिल तिरिरहेको छ। यो गोरा पक्कै सिआइएको जासुस हो।'
ब्रायनका अनुसार म उनीहरूका लागि रहस्यमय पात्र थिएँ। अरू कुरा के हो मलाई थाहा छैन। तर मैले होटलमा तिब्बती शरणार्थीका गतिविधिहरूबारे अत्यधिक गोप्य भेटघाट र छलफल भइरहेको पनि सुनेको थिएँ।
जेहोस्, यदि जासुसीको काम गर्नु परेको भए जिन्दगी कस्तो हुन्थ्यो होला भन्दै हामी लामो बेरसम्म गफियौं।
एउटा निष्कर्षमा पनि पुग्यौं- जासुसीको काम हामी दुवै जना गर्न सक्दैन थियौं।
मैले त्यो दिनको यो घटना श्रीमतीलाई सुनाउँदा, उनले पनि मलाई आश्चर्य भावमा सोधेकी थिइन्, 'मायालु आर यु अ स्पाई अफ सिआइए?'
अनि मैले 'हो बेबी हो' भनेर हाँसोमा उडाएको थिएँ।
ब्रायनलाई मैले पहिलोपटक २२ वर्षअघि नेपालमै भेटेको थिएँ। ऊ मेरो सबभन्दा मिल्ने साथी पनि हो। ब्रायन त्यतिखेर एउटी नेपाली केटीसँग प्रेममा थियो र उनीहरूको इंगेजमेन्ट पनि भएको थियो। ब्रायन ती युवतीलाई यति धेरै माया गर्थ्यो, पछि उनीहरूको सम्बन्ध छुट्दा डिप्रेसनको शिकार भएको थियो।
ब्रायन फोटो पत्रकार हो र उसको स्थायी जागिर नभए पनि उसको आम्दानी राम्रो हुन्थ्यो। ऊ असाध्यै मिजासिलो र बोलक्कड छ। त्यसैले नेपालमा धेरै मान्छेहरू पनि चिनेको छ उसले। धेरै समय नेपालमा बिताएकाले उसको नेपाली भाषामा पकड अदभूत नै छ। जनआन्दोलनताका उसले खिचेका धेरै फोटाले चर्चा पनि पाए।
ब्रायनले नै मलाई नेपाल आउने सल्लाह दिएको थियो। त्यतिखेर मैले पश्चिमी अफ्रिकाको टोगो र मालीमा बसेर काम गरेको अनुभव सँगालिसकेको थिएँ। अनि आर्किटेक्चरको पढाइ भ्याएर अन्तर्राष्ट्रिय विकासमा स्नातकोत्तर पनि सकाइसकेको थिएँ।
उसको ढाडस पाएरै तत्काल झोलीतुम्बा भिरेर एकतर्फी टिकटको भरमा म नेपाल छिरेको थिएँ।
प्रत्येक बिहान चटक्क कपडा लगाएर विभिन्न एनजिओहरूका ढोका खट्खट्याउँदै हिँड्नु मेरो दैनिकी थियो। म मान्छे भेट्दा भेट्दा थाक्थेँ। होटलका कर्मचारी सधैं मिठो मुस्कानले स्वागत गर्थे। मेरो थकान छिनमै भाग्थ्यो। झण्डै डेढ वर्ष काम खोज्दा खोज्दा हैरान भएपछि बल्ल मैले राम्रो जागिर पाएको थिएँ।
पहिलोपटक नेपाल छोड्दा जहाजबाट पहाड हेर्दै आफैंसँग बाचा गरेको थिएँ- म फेरि आउँछु, तर एक/दुई साताका लागि टुरिस्ट जस्तो भएर हैन। लामो समय यहीँ बस्न र काम गर्न।
जागिर पाउनेबित्तिकै त्यो सपना पूरा भएजस्तो लागेको थियो।
त्यही सपना पूरा गरेर आज झण्डै ६ वर्षको बसाइपछि म फेरि नेपाल छाडेर जाँदैछु।
यो डायरीका अंश छापिउन्जेलसम्म म कोपनहेगन पुगिसकेको हुनेछु।
मलाई नरमाइलो लागिरहेको छ। म नेपाललाई एकदमै मिस गर्नेछु। मैले नेपाल छाडेर गए पनि तपाईंहरूसँगको सम्बन्ध 'कुइरेको डायरी'मार्फत् निरन्तर रहनेछ।
जानुअघिका केही दिनदेखि नै मेरो अँध्यारो अनुहार देखेर होला, मेरी श्रीमती एउटा गीत गाएको गायै गर्थिन्- 'टाढा टाढा जानुछ साथी एक फेर हाँसिदेऊ। '
(यो स्तम्भ पाक्षिक रूपमा प्रकाशन हुनेछ।)
यी पनि पढ्नुस्ः