संस्कृति पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्री पाण्डेले नेपालबाट चोरी भएर संसारको जुनसुकै कुनामा पुगेको भए पनि फिर्ता ल्याएरै छोड्ने वचनबद्धता व्यक्त गरेका छन्।
आइतबार नेपालबाट विगतमा चोरी भएर अमेरिका पुगेका थप २१ वटा पुरातात्विक महत्त्वका मूर्तिहरू नेपाल फर्काएर पाटन संग्रालय र राष्ट्रिय संग्रालयलाई हस्तान्तर गर्दै मन्त्री पाण्डेले यस्तो बताएका हुन्।
'हाम्रा सम्पदाहरू संसारको कुनै पनि कुनामा पुगोस्, नेपालीहरूले हाम्रा आफ्ना सम्पदाहरू चिन्छन्। त्यसको महत्त्व जान्दछन् र त्यसलाई फर्काएर ल्याउने कुरामा संसार भरी फैलिएका नेपालीहरूले योग्यता राख्दछन्,' मन्त्री पाण्डेले भने, 'नेपालको सम्बन्ध विश्वव्यापी भएको छ। चोरीका मूर्तिहरू नेपाल फर्काएका छौं भन्ने सकारात्मक सन्देश दिन सफल भएका छौं।'
उनले विगतमा नेपालका महत्त्वपूर्ण पुरातात्विक मूर्तिहरू कसरी विदेश पुगे भन्दै प्रश्न गरे। मन्त्री पाण्डेले शक्तिशाली रूपमा नेपालका मूर्तिहरू चोरी गरेर जहाज मार्फत ठूलो सेटिङमा विदेशमा पुर्याउने दुःसाहस गरेको उल्लेख गर्दै गएका सम्पूर्ण मूर्तिहरू नेपाल फर्काइने विश्वास दिलाए।
उनले जुन ठाउँबाट चोरी भएका हुन् सोही ठाउँमा उक्त मूर्तिहरू प्रतिस्थापन गरिने विश्वास व्यक्त गरे।
पर्यटन मन्त्रालय मातहतमा रहेको पुरातत्व विभागले हालसम्म बेलायत, अष्ट्रिया, अमेरिका, चीन, तिब्बत, भारत, जर्मनी, अष्ट्रेलिया र इटलीबाट जम्मा एक सय ७७ थान पुरातात्विक महत्त्वका मूर्तिहरू नयाँ कलात्मक वस्तुहरू विभिन्न राष्ट्रिय अन्तर्राष्ट्रिय व्यक्ति तथा संघ संस्थाहरूको प्रयासबाट फिर्ता भइसकेको जनाएको छ।
अमेरिका फ्रान्स बेलायत, चीन, अष्ट्रिया, अष्ट्रेलियाजस्ता देशहरूबाट थप अरु मूर्तिहरू फिर्ताका लागि कूटनीतिक पहल भइरहेको बताएको छ।
हालसम्म संयुक्त राज्य अमेरिकाबाट मात्र नेपालमा फिर्ता भएका पुरातात्विक महत्त्व भएका वस्तुहरूको संख्या एक सय चार पुगेको छ।