भदौ २३ गते सोमबार — यता अमेरिकामा एकाबिहानै आँखा खुल्नासाथ मोबाइल स्क्रिनमा रगत लतपतिएको एउटा बेवारिसे जुत्ताको फोटो देखेर मेरा गोडा कामे। जुत्ताको तुना बाँधेर काममा निस्किन पाइलै सरेन। आँखाहरू मोबाइलमै टाँसिए, मन काठमाडौंतिर बत्तियो।
एकपछि अर्को यस्ता दृश्य हेर्दै गर्दा यस्तो लाग्यो — मानौं म मोबाइलमा काठमाडौं होइन, कुरूक्षेत्र हेर्दैछु।
मेरो नियति महाभारतका सञ्जयकै जस्तो निरीह थियो। देख्न सक्छु हत्या, सुन्न सक्छु चित्कार तर गर्न केही सक्दिनँ।
सञ्जयलाई ऋषि वेदव्यासले दिव्यदृष्टि वरदान दिएको कथा छ। मेरो हातमा चाहिँ विज्ञानले दिएको 'दिव्य डिभाइस' थियो। त्यही दिव्य डिभाइसमा कुरूक्षेत्र बनेको काठमाडौंको सबै वृत्तान्त देखेपछि यो निष्कर्षमा पुगेँ — डिभाइस दिव्य होस् या दृष्टि, दृश्य आततायी भएपछि मिल्ने भनेको पीडा नै रहेछ!
वेदव्यास चाहन्थे, युद्ध देख्ने त्यो दिव्यशक्ति राजा धृतराष्ट्रलाई नै दिऊँ। तर युद्धको विभीषिका सामना गर्न सक्दिनँ भन्ने ज्ञान थियो सायद धृतराष्ट्रलाई। त्यसैले जन्मान्ध भए पनि युद्ध देख्ने दिव्यदृष्टिको 'अफर' उनले स्वीकार गरेनन्।
महाभारत कथाले भन्छ — भूत, वर्तमान र भविष्य जान्ने ऋषि वेदव्यास युद्धको संघारमा हस्तिनापुर दरबार पुग्छन्। सुरूमा युद्ध टार्न राजालाई सुझाउँछन्। तर पुत्रमोहले राजधर्म गुमाएका धृष्टराष्ट्रलाई कसैगरी शान्तिका निम्ति मनाउन सक्दैनन्।
उनीहरूको संवाद पढ्दा लाग्छ — सत्ताको उन्माद र अहंकार परापूर्व कालदेखि आजका शासकसम्म उसैगरी निरन्तर छ।
'भीष्मपर्व' मा धृतराष्ट्रलाई व्यास भन्छन्, 'तिम्रा पुत्रहरू र अन्य राजाहरू मृत्युको नजिक छन्। ती लडाइँमा एकत्र भएर एकअर्कालाई मार्छन्। तिमीले त्यो नरसंहार टार्न सकेनौ तर हेर्न सक्छौ।'
युद्ध हेर्ने अभिलाषा नभए पनि धृतराष्ट्र सुन्ने इच्छा व्यक्त गर्छन्। त्यसपछि त्यो दृव्यदृष्टिको शक्ति सञ्जयको पोल्टामा पर्छ।
व्यास भन्छन्, 'अब युद्धको सबै वृत्तान्त सञ्जयले तिमीलाई सुनाउँछन्। युद्धको कुनै पनि कुरा यिनीबाट छिप्दैन। यिनको शक्तिले दिनको घटना होस् या रातको, वा कसैको मनमा उत्पन्न विचार नै किन नहोस्, सबै थाहा पाउन सक्छ।'
यो पौराणिक कालको कुरा भयो। यसमा कति यथार्थ होला, कति कल्पना!
तर कतिपय यस्ता मानवीय स्वभाव छन् जसले जहिले पनि समाजलाई द्वन्द्वतिरै धकेलिरहन्छ। र, चलिरहन्छ महाभारत।
'हजुरबाहरू, तपाईंहरूले हामीलाई बुझ्न सक्नुभएन। अहंकारले हेरेर यथार्थ देखिँदैन। भ्रष्ट आचरण, संकीर्ण सोच र अहमको कुर्सीमा बसेर हाम्रो नेतृत्व नगर्नुस्, तपाईंहरू हट्नुस्!' जेन–जीले भनेको यत्ति हो।
त्यो हाँक थियो पुरानो, रूग्ण विचार र भ्रष्ट कार्यशैलीविरूद्ध।
त्यही हाँकले सुरू भएको जेन–जी अभियान नाति पुस्ताले हजुरबा पुस्तालाई दिएको चुनौती, गरेको खबरदारी र सिकाउन खोजेको पाठ थियो।
नेपालको नयाँ पुस्ता राजनीति बुझ्दैन, बुझ्न चाहँदैन र विदेश पलायन नै उनीहरूको एक मात्र लक्ष्य हो भन्ने भाष्य बनिरहेका बेला एउटा अलग्गै तप्का आन्दोलनमा ओर्लिएको थियो।
जेन–जी — कति सुन्दर विम्ब थियो नेपालको भविष्य देखिने!
तिनले कुनै पार्टीको झन्डा बोकेनन्, क्लिसे नारा पनि लगाएनन्। ती कुनै विद्यार्थी संगठनका प्रशिक्षित जमात थिएनन्। तिनले त एउटा पुस्ताको प्रतिनिधित्व गर्थे। र, पुस्ताको वास्तविक बोली बोल्थे।
'जेन–जी' — यो पुस्तामा अथाह जोश भरिएको हुन्छ।
जोशको त्यही आवेग संसद भवन छिर्यो। र, देखायो आफ्नो पराक्रम। महाभारतका किशोर योद्धा अभिमन्युजस्तै, जो कौरव सेनाको चक्रव्यूहमा विना कुनै सोचविचार छिर्यो।
अभिमन्यूलाई आफ्नो शक्तिमा विश्वास थियो। तर युद्धमा शक्ति मात्र होइन, षड्यन्त्र पनि मिसिन सक्छ भन्ने उनको निर्दोष मस्तिष्कले कल्पना गर्न सकेन।
आफ्नै पिता अर्जुनको प्रिय गुरू द्रोणाचार्यले नेतृत्व गरेको 'चक्रव्यूह' भित्र रचिएको अनीतिको कुचक्र अभिमन्युले बुझ्न सकेनन्। उनीसँग चक्रव्यूह तोड्ने विद्या थियो, छिरे; निस्कने ज्ञानको चिन्ता गरेनन्।
अभिमन्यु यस्ता युवा योद्धा हुन्, जसले महाभारत युद्धको प्रारम्भिक दिनमै कौरवका सेनापति अजेय योद्धा भीष्मको शरीरमा बाणले घाउ बनाइदिएका थिए। अर्को दिन द्रौणी, शल्य, चित्रसेन र भुरिश्रवालाई एक्लैले हायलकायल पारे। एउटा नवजवान योद्धाको सौर्य र पराक्रमले कौरव वीरहरूमा इर्ष्या पैदा गर्यो र जसरी पनि अभिमन्युलाई सिध्याउने योजना बन्यो।
जुँगाको रेखी नबसेको नवयुवाले जुँगामुठेलाई दिएको चुनौती किन सह्य हुन्थ्यो र!
काठमाडौंका जेन–जीहरूको आवाज पनि हाम्रा शासकले सुन्न चाहेनन्। उनीहरूको बललाई सुरूमै दबाउन खोजियो।
जेन–जीहरूले पनि संसद भवन छिरेर भिड्न खोज्दा शासकको सम्भावित क्रूरता आकलन गर्न सकेनन्। उनीहरूले सायद यही ठाने, आफ्नो प्रतिनिधिमाथि आक्रोश पोख्ने ठाउँ संसद भवन नै हो। सायद यही सोचेर त्यसैलाई निशाना बनाए!
शासकले भने त्यो आक्रोश बुझ्नुको साटो आक्रोशित युवाहरूमाथि गोली दागे।
'एक्लै यसरी चक्रव्यूह पस्नु उचित हुँदैन,' अभिमन्युलाई पनि उनका सारथिले सम्झाएका त हुन्, तर अधर्मविरूद्ध अस्त्र उठाएका ती वीरले सुनेनन्।
'आज म मामा कृष्ण र पिता धनञ्जय आएर पछि हट भने पनि मान्दिनँ। र, लडाइँमा इन्द्र आए पनि डराउँदिनँ,' उनको जोशले चक्रव्यूह तोड्यो।
एक्ला अभिमन्युबाट सबै हायलकायल भए। र, आखिरमा युद्धको नियमविपरीत सारा कौरव सेना मिलेर उनलाई अन्यायपूर्वक मारे।
नयाँबानेश्वरको संसद भवन अगाडि प्रहरीको गोलीले नवयुवाहरू ढलेको देख्दा मैले अभिमन्युको वीरगति सम्झिएँ।
अभिमन्युको हत्याले भड्काएको कुरूक्षेत्रजस्तै भयो त्यसपछिको काठमाडौं। को को छिरे, कुन नियतले छिरे; केही देखिएन। मात्र देखियो धुवाँको कालो मुस्लो!
हुर्हुरी दन्किएको अग्निशिखाले सबै जलायो। जे जले पनि, जसको जले पनि उस्तै थियो धुवाँको रङ!
सबै जलेर सकिएपछि थुप्रिएका अँगार र खरानीले पनि बताउन सकेन, के जलेको खाक हो त्यो? धुवाँको उस्तै रङ, खरानीको उही मूल्य!
अहिले आक्रोश र संवेदनाले जलेको मन शान्त हुन पाएको छैन, आन्दोलनको जस लिनेहरूको होडबाजी छ। जनता नायकको खोजीमा छ। उनीहरूले ठानेको नायक नेतृत्व गर्न तयार भएन। तर म हाँक्छु देश भनेर मैदानमा ओर्लिनेहरूको कमी पनि देखिएन। स्वघोषित नेता छ्यापछप्ती देखिए, देखिँदै छन्।
'जेन–जी' व्यक्ति होइन, प्रतीक हो। यसको सौन्दर्यमा दाग लाग्न दिनु हुँदैन।
अधर्मकै विरूद्ध सही, युद्ध गर्न तयार पार्ने गीता हाम्रो समाजमा प्रचलित छ। तर त्यही महाभारतको 'शान्ति' र 'शासन' सिकाउने खण्ड खासै चर्चामा छैन।
हामीले धेरै आन्दोलन गर्र्यौं, परिवर्तन पनि भयो। तर शासन चलाउन कहिल्यै जानेनौं। किनभने, जसले परिवर्तनको नेतृत्व गर्छ, उसले उही ज्ञानका आधारमा राज्य चलाउन सक्दैन। राज्य चलाउनु अर्कै कलाको ज्ञान हो। त्यो ज्ञान विपक्षीसँग सिक्न पनि तत्पर हुनुपर्छ। रामको वाणले मरणासन्न बनेका रावणसँग अन्तिम क्षणमा लक्ष्मणले त्यही ज्ञान मागेका थिए।
महाभारतमा पनि विपक्षी सेनाका भीष्म शरसैयामा मृत्यु कुरेर बसिरहेका बेला युधिष्ठिरले राजधर्म सिकेको पढ्न पाइन्छ। मान्छेको अहंकारले सजिलै अरूसँग सिक्न अनुमति दिँदैन। त्यसमाथि आफ्ना दुश्मनसँग त के सिक्नु, कसरी सिक्नु!
युधिष्ठिर पनि तयार थिएनन् भीष्मसँग सिक्न। भारतवर्षकै सर्वनाश बनाउने युद्धपछि उनी एक महिना गंगाको किनारमा बसे। धेरै ज्ञानीजन आएर 'दुर्जनहरूको नाश भयो, अब पाँच भाइ मिली राज्य चलाऊ' भने। तर उनी राजा बन्न तयार भएनन्।
अर्जुनलाई गीता सुनाएर युद्धका लागि तयार बनाउने कृष्णले पनि युधिष्ठिरलाई राजा बन्न राजी गराउन सकेनन्।
आफूभन्दा सानो उमेरको व्यक्तिलाई नसुन्ने/नगन्ने चलन त्यो युगमा पनि रहेछ!
उमेरले कान्छा कृष्णको ज्ञान धर्मराज युधिष्ठरले ग्रहण गर्ने स्थिति थिएन। त्यसमाथि उनी परे 'यक्ष प्रश्न' को सही उत्तर दिएर ज्ञानीको उपाधि पाएका धर्मकुमार!
त्यो स्थितिमा कृष्णले नै चाँजो मिलाएर पाण्डवलाई उनीहरूका 'पितामह' भीष्मसामु लगे। सिधै 'भीष्मसँग ज्ञान छ, सिक्न हिँड' भन्दा नमान्लान् भनेर जुक्ति लगाए।
'म भेट्न नगए भीष्म दुःखी हुन्छन्। तिमीहरू पनि जाने भए हिँड' भनेपछि पाँचै भाइ तयार भए।
भीष्मलाई भने पहिल्यै 'धर्मकुमार यो अवस्थाले दुःखी छन्, उनलाई उत्तम उपदेश दिनुहोला' भनेर कुरा मिलाइसकेका थिए कृष्णले।
'अज्ञानमा गरिएको पाप कसरी नाश हुन्छ?' धर्मराज युधिष्ठिर जे कारण आफू व्याकुल भएको हो, त्यसैबाट प्रश्नको पोको फुकाए।
'सत्कर्मले,' भीष्मको छोटो मिठो उपदेश प्राप्त भयो।
'लडाइँ जित्दा कीर्ति त बढ्यो तर शान्ति प्राप्त भएन। शान्ति, सुविस्ता हुने युक्ति के होला?' युधिष्ठिरले फेरि सोधे।
'मनको ताप र पाप यो शोकले नाश हुँदैन। बेला पुगेपछि सबै दुःख नष्ट हुन्छन्। यो पृथ्वीमा विनाश नहुने कुनै वस्तु छैनन्,' भीष्मले भने, 'आसक्तिको कारण मान्छे धनलाई दोषी मान्छन्। तर धनबिना पूरा हुने सुकार्य संसारमा छैन। उद्योग गरेर कामना पूरा गरेपछि मात्र मोक्ष मिल्छ।'
न्याय र सुशासनका लागि महाभारतले पटक पटक दोहोर्याउने एउटा वाक्य छ — यतो धर्मस्ततो जयः (अर्थात, जता धर्म त्यतै विजय)।
यो 'धर्म' लाई न्याय, राज्य व्यवस्था वा संविधान भनेर बुझ्दा सजिलो हुन्छ। त्यहाँ कुनै सम्प्रदाय विशेषले मान्ने धर्म भन्न खोजिएको होइन।
नेपालको विषम परिस्थितिमा जेन–जीले उमेर, अनुभव र योग्यताले खारिएकी सुशीला कार्कीलाई देशको संक्रमणकालीन नेतृत्वका लागि रोजे। प्रधानन्यायाधीश हुँदा उनले गरेको न्याय निरूपणलाई कदर गरे। यो सुझबुझपूर्ण निर्णयले आन्दोलनको आक्रोश निकै मत्थर पारेको छ।
प्रधानमन्त्री भएपछि बिबिसीसँगको पहिलो अन्तर्वार्तामा उनले पत्रकार विनिता दाहाललाई भनेकी छन्, 'जे कार्यका लागि मलाई म्यान्डेट दिइएको छ, त्यो पूरा गरेर यथासक्य छिटो यो पद छाड्नु नै मेरो उद्देश्य हो।'
पदलोलुप शासकबाट वाक्क भएका जनतालाई यति भनाइले पनि राहत महसुस हुने रहेछ!
यसपटकको राम्रो पक्ष के भने, जसले आन्दोलन गर्यो उसैले नेतृत्व गर्छु भनेन। तुलनात्मक रूपमा परिपक्व र योग्य मान्छेको खोजी भायो। त्यो 'योग्यता' को कसीमा सुशीला फिट भइन् र पहिलो महिला प्रधानमन्त्रीको इतिहास रचिन्।
तर एक्ली सुशीलाले मात्र केही हुँदैन।
आगोले जलाएको संरचना फेरि बन्ला। तर अबका दिनमा आगै नलगाउन त अहंकार जल्नुपर्छ।
के त्यो आगोमा लोभ, मोह, अहंकार र प्रतिशोध पनि जल्यो होला?
मैले 'दिव्य डिभाइस' मा देखेको त्यो अग्निशिखाले यसलाई पनि भष्म पारेको होस् र गर्न पाइयोस्, नयाँ युगको स्वागत!
***