भदौ २३ र २४ गते भएको आन्दोलनले पर्यटन क्षेत्रमा ठूलो असर पुर्याएको छ।
पर्यटन व्यवसायीहरूका अनुसार आन्दोलनले भौतिक क्षतिसँगै अन्तर्राष्ट्रिय स्तरमा नेपालको पर्यटन बजारबारे अन्योलताको सन्देश पुर्याएको छ। जसकारण अहिले पर्यटक आगमन घटेको छ।
सेप्टेम्बर, अक्टोबर र नोभेम्बरलाई नेपालमा पर्यटकीय सिजनका रूपमा लिइन्छ। यो समयमा अरूबेला भन्दा धेरै पर्यटक घुम्न आउँछन्। विशेषगरी यो बेला पर्वतारोहण, पदयात्रा, धार्मिक यात्रालगायतका लागि मासिक एक लाख बढी विदेशी पर्यटक भित्रने गरेको तथ्यांक छ। तर यसपालि पर्यटकीय सिजनमै आवगमन घटेको छ।
विगतमा दैनिक तीनदेखि चार हजार पर्यटक घुम्न आउँथे भने त्यो संख्या अहिले एक हजार तीन सयमा झरेको छ। यति मात्र होइन्, बुकिङ गरिसकेका पर्यटकले पनि धमाधम बुकिङ रद्द गर्न थालेका छन्। पर्यटन बोर्डकाअनुसार यो सिजनका लागि बुकिङ गरेकामध्ये १५ प्रतिशतले रद्द गरिसकेका छन्।
'आन्दोलन पहिले र अहिले हेर्ने हो भने ४० प्रतिशतले आगमन घटेको छ,' बोर्डका सिइओ दिपक राज जोशी भन्छन्, 'बाँकी पर्यटकले पनि बुकिङ होल्ड गरेर निजी क्षेत्रसँग यहाँको अवस्थाबारे अपडेट लिइरहेका छन्।'
त्यसो त आन्दोलनअघि घुम्न आएका थुप्रै पर्यटक अहिले स्वदेशका विभिन्न गन्तव्यमा घुमिरहेका छन्। पर्यटकलाई घुम्नका लागि कुनै बाधा अड्चन छैन भन्ने सन्देश नेपाल घुम्न आएका बेलायती नागरिक ह्यारी ज्याकसनले पनि दिएका छन्। उनी यतिबेला स्वदेशका विभिन्न ठाउँमा घुम्दै भिडिओ बनाएर सामाजिक सञ्जालमा राखिरहेका छन्।
तर, अघिल्ला संकटमा भन्दा यो संकटमा विध्वंश, लुटपाट घटना बढेकाले पर्यटकलाई त्रासको वातावरण सिर्जना भएको सिइओ जोशी बताउँछन्। यद्यपी आन्दोलनकै बेलादेखि नै बोर्डले पर्यटकलाई पर्यटक बस मार्फत् विमानस्थलबाट विभिन्न होटलसम्म पुर्याउने सेवा दिएको थियो।
'आन्दोलनका बीचमा पनि हामीले थुप्रै पर्यटकलाई बस मार्फत् होटल र विमानस्थलसम्म आवतजावत गराएका थियौं,' सिइओ जोशीले भने, 'त्यतिबेला पनि कुनै अवरोध थिएन। त्यसकारण पर्यटकका लागि आवतजावतमा कुनै समस्या छैन।'
तर, अन्तर्राष्ट्रिय स्तरमा घुमफिरका लागि नेपाल सुरक्षित छ भन्ने सकारात्मक सन्देश पुर्याउन आवश्यक रहेको उनको भनाइ छ। यो सूचना पुर्याउन सकेको अवस्थामा छोटो समयमै पर्यटन पुनरूत्थान गर्न सकिनेछ।
यसका लागि बोर्डले सम्बन्धित निकायसँग सहकार्य गरेर समन्वय र सूचना प्रवाहको काम गरिरहेको उनले बताए।
बोर्डले 'नेपाल नाउ अर्थात् अहिलेको नेपाल' अभियान सुरू गरिसकेको छ। यो अभियानमार्फत हरेक दिन नेपालको अवस्थाबारे देखाइन्छ। बोर्डले आफ्नो आधिकारिक फेसबुक पेजमार्फत पनि यस्ता भिडियो सन्देश अन्तर्राष्ट्रियस्तरमा पुर्याइरहेको उनले बताए। बोर्डले हाल नेपाल घुमिरहेका पर्यटकसँग कुराकानी गरेर पनि यहाँको अवस्थाबारे भिडियो राख्न थालेको छ।
यसका साथै अन्तर्राष्ट्रिय पर्यटन सम्बद्ध संघसस्थाहरू पाटा, युएन टुरिजम, विश्व पर्यटन परिषद्मार्फत पनि सकारात्मक सूचना पुर्याइरहेको उनको भनाइ छ।
आन्दोलनले अन्तर्राष्ट्रियस्तरमा नराम्रो सन्देश पुर्याए पनि यो छबि सुधार्न र पर्यटन प्रवर्द्धनका लागि निजी क्षेत्रहरू सहकार्य गर्न तयार छन्। पर्यटन प्रवर्द्धनका लागि सामूहिक एक्यबद्धताका साथ अघि बढ्नुपर्ने नाटाका अध्यक्ष कुमारमणि थपलियाले बताए।
पर्यटकको स्वागतका लागि अहिले होटल, रेस्टुरेन्ट सबै सञ्चालनमै रहेको होटल संघ नेपालका अध्यक्ष विनायक शाह बताउँछन्।
उनका अनुसार अहिले नेपाल घुमघामका लागि पर्यटकमा अन्योलता छ। जसकारण नेपाल सुरक्षित छ भन्ने सन्देश पुर्याउन आवश्यक रहेको उनले बताए। 'जति होटलमा क्षति पुगेको छ ती होटल फेरि उठ्नेछन्,'उनले भने, 'क्षति नपुगेका होटल अहिले पाँहुनाकै प्रतिक्षामा छन्।'