बलिउड सुपरस्टार अभिनेता शाहरूख खानलाई एक अन्तर्वार्तामा सोधिएको थियो, 'अरू स्टारपुत्रहरू जस्तै तपाईंको छोरा आर्यन पनि बलिउडमा प्रवेश गर्दै छन्?'
त्यति बेला शाहरूखकी छोरी सुहाना जोया अख्तर निर्देशित 'द आर्चिज्' मा अनुबन्ध भइसकेकी थिइन्। आर्यन पनि करण जौहर वा आदित्य चोपडाको कुनै नयाँ फिल्मबाट बलिउडमा प्रवेश गर्दै छन् भन्ने चर्चा व्यापक थियो।
त्यही चर्चाबीच सोधिएको प्रश्नमा शाहरूखले जे जबाफ दिए, त्यसले सबैलाई चकित पार्यो।
उनको जबाफ बलिउडको निम्ति मसालेदार खबर नै बन्न पुग्यो।
शाहरूखले भनेका थिए, 'आर्यनलाई फिल्म खेल्नमा कुनै रूचि छैन। ऊ ठान्छ — फिल्म खेलेँ भने मलाई सधैं शाहरूख खानसँग दाँजेर हेरिनेछ। मैले राम्रो काम गरेँ भने 'शाहरूखको छोरा भएपछि यति त गर्नैपर्यो नि' भनेर हल्का रूपमा लिइन्छ र राम्रो गर्न सकिनँ भने 'शाहरूखको छोरा भएर पनि कति नराम्रो अभिनय गरेको' भनेर सबैले खिसिट्युरी गर्नेछन्।'
उनले अगाडि भने, 'आर्यन बलिउडमा आउँदैछ, तर अभिनेताको रूपमा होइन। उसलाई लेखन र निर्देशनमा रूचि छ। ऊ अहिले आफ्नो डेब्यू प्रोजेक्टको स्क्रिप्ट लेखनमा व्यस्त छ। तपाईंहरूले छिट्टै उसलाई लेखक/निर्देशकका रूपमा देख्न सक्नुहुन्छ।'
त्यो अन्तर्वार्ताको केही समयपछि नै नेटफ्लिक्सले बलिउड 'बादशाह' शाहरूख खानका छोरा आर्यन खानको लेखन तथा निर्देशनमा बन्ने डेब्यू वेब सिरिज 'द ब्याड्स अफ बलिउड' घोषणा गर्यो।
आर्यनको उक्त सिरिज बिहीबारबाट नेटफ्लिक्समा रिलिज भएको छ। सात भागको उक्त सिरिज तपाईं नेटफ्लिक्समा हेर्न सक्नुहुन्छ।
घोषणा भएदेखि नै बहुप्रतीक्षित यो सिरिज कस्तो छ त?
अभिनेताका रूपमा बलिउड प्रवेश गर्दा पिता शाहरूख खानसँग दाँजिनेछ भनेर हच्किएका आर्यनलाई निर्देशकका रूपमा पनि सुख त छैन। उनलाई यो नयाँ अवतारमा पनि सुपरस्टार पितासँग दाँजिने नै छ। शाहरूखका छोराले बनाएको फिल्म कस्तो होला भनेर दर्शकको मनमा कौतूहल रहने नै छ।
सिरिजका सातै एपिसोड हेरेपछि हामी एउटा कुरा निसंकोच भन्न सक्छौं — शाहरूखले क्यामरा अगाडि उभिएर जसरी बलिउडमा धमाकेदार 'इन्ट्री' मारेका थिए, उनका छोराले क्यामरा पछाडि बसेर मारेको इन्ट्री उस्तै धमाकेदार छ।
बिलाल सिद्दीकी र मानव चौहानसँग मिलेर लेखिएको यो सिरिजका लागि आर्यनले बलिउडको त्यही संसार रोजेका छन्, जहाँ उनी जन्मे–हुर्के।
रोचक कुरा त के भने, सिरिजका मुख्य पात्र आसमान पनि बलिउड फिल्म खेल्न दिल्लीबाटै मुम्बई आएका हुन्छन्, जसरी उनका पिता शाहरूख आएका थिए।
अर्को रोचक कुरा पनि छ —
शाहरूखले धेरै अन्तर्वार्तामा आफूलाई 'बलिउडका अन्तिम स्टार' भनेका छन्।
कुराकानी गर्दा शब्दैपिच्छे हँसीमजाक गर्ने र दिल्लीका आममान्छे जस्तो अर्कालाई छेड हानेर, व्यंग्य गरेर बोल्ने स्वभावका शाहरूखले यो कुरा पनि त्यस्तै हँसीमजाकमा भनेका हुन सक्छन्। वा, हँसीमजाकको लवजमा मनको कुरा खोलेका पनि हुन सक्छन्।
तर संयोग के भने, 'ब्याड्स अफ बलिउड' का मुख्य पात्र आसमान सिंह (लक्ष्य लालवानी) को संवाद शाहरूखको त्यही भनाइसँग मिल्दोजुल्दो छ। उनी भन्छन्, 'बलिउडमा स्टार त धेरै छन्, तर आसमान (आकाश) सिर्फ एक छ।'
यति मात्र होइन, आर्यनले आफूलाई लागुपदार्थ सेवनको अभियोगमा पक्राउ गरिएको घटना पनि रोचक पाराले चित्रण गरेका छन्।
सिरिजको एउटा दृश्यमा फिल्मी पार्टी चलिरहेको हुन्छ। त्यहीँ एक प्रहरी युनिटले छापा मार्छ र एक अभिनेतालाई लागुपदार्थ सेवन गरेको भन्दै पक्राउ गर्छ।
पक्राउ गर्ने प्रहरी अधिकारी समीर वानखेडेजस्तै देखिन्छन्, जसले आर्यनलाई समातेका थिए।
यसरी कतिपय दृश्य र सन्दर्भ आफ्नै जीवनबाट उठाएका आर्यनले 'बलिउडलाई आफ्नो प्रेमपत्र' का रूपमा यो सिरिजको परिकल्पना गरेको बुझिन्छ।
यसमा बलिउडको 'हट' विषय नेपोटिजम (नातावाद) को चर्चा गरिएको छ। इन्साइडर–आउटसाइडरको विवादलाई मिहिन रूपमा हेरिएको छ। बलिउड स्टारहरू लागुपदार्थ सेवनमा फसेको घटना उठाइएको छ। अन्डरवर्ल्ड माफियाको बलिउड कनेक्सन चित्रण गरिएको छ।
त्यस्तै, ठूला ब्यानरहरूको एकअर्कासँग दुश्मनी, क्यामरा पछाडि चल्ने शक्तिको खेल, करारका नाममा नयाँ कलाकारमाथि गरिने शोषण र विज्ञापनको संसार पनि देखाइएको छ।
सबभन्दा ठूलो कुरा त, बलिउडले कसरी पैसाको भाषा बोल्छ र बिजनेसको नाफा–घाटाका अगाडि मानवीय संवेदना कसरी गौण हुन्छन् भन्ने पनि सिरिजमा मज्जाले देखाइएको छ।
तपाईं पनि बलिउड फिल्मको सोखिन हुनुहुन्छ र बलिउडमा हुने पर्दा पछाडिका घटनाक्रम जान्न चाहनुहुन्छ भने यो सिरिजले भरपुर मनोरञ्जन दिनेछ।
सिरिजको कथावस्तु भने एकदमै सामान्य छ। कथा मात्र हेर्ने हो भने तपाईं खासै नयाँपन पाउनुहुन्न।
हामीले माथि भनेजस्तै यसका नायक आसमान सिंह शाहरूख खानझैं दिल्लीको सामान्य घरबाट मायानगरी मुम्बईमा आफ्नो भाग्य परीक्षण गर्न आउँछन्।
नाम चलेका निर्माता फ्रेडी सोडावाला (मनीष चौधरी) को नजरमा पर्नासाथ उनको पहिलो फिल्म 'रिभल्भर' सुपरहिट हुन्छ। सफलताको पार्टीमा फ्रेडीले आसमानलाई आफ्नो प्रोडक्सनका तीन फिल्ममा काम गर्ने करारनामामा हस्ताक्षर गराउँछन्।
त्यसपछि बलिउडका अर्का चर्चित निर्माता–निर्देशक करण जौहर आफ्नो सय करोड लगानीको फिल्ममा मुख्य भूमिकाका लागि आसमानलाई प्रस्ताव गर्छन्। उनी बलिउडका सुपरस्टार अजय तलवार (बबी देओल) की छोरी करिश्मा (सहर बाबा) को अपोजिट आसमानलाई खेलाउन चाहन्छन्।
तर अजयलाई आफ्नी छोरीको पहिलो फिल्ममा कुनै 'आउटसाइडर' केटो हिरो भएको मन पर्दैन।
यहीँबाट सुरू हुन्छ आसमानको जीवनमा उथलपुथल — फ्रेडीसँगको करारनामाले ल्याउने कानुनी संकट र बलिउड स्टार अजय तलवारसँगको दुश्मनी।
यो उथलपुथलले आसमानको स्टारडम चुलिन्छ कि निभ्छ? त्यो थाहा पाउन चाहिँ सिरिज नै हेर्नुहोला।
हामी यति मात्र भन्छौं, आसमानको जिन्दगीमा आउने उथलपुथलबीच बलिउडको चमकधमक र रोमान्सले तपाईंहरूलाई मनोरञ्जन दिनेछ। सँगसँगै, बलिउडको स्टारडमले गिँजोलेपछि दिल्लीको सामान्य केटाको जिन्दगीमा आउने परिवर्तनले तपाईंको मन छुनेछ।
आर्यनले आफ्नो पहिलो सिरिजमा बलिउडको ग्ल्यामर र स्टारडम सँगसँगै यसको निर्दयी पक्ष पनि उजागर गरेका छन्।
ग्ल्यामर र स्टारडमको कुरा गर्दा यसमा शाहरूख, आमिर र सलमान गरी बलिउडका तीनै खानको अतिथि भूमिका छ। रणवीर सिंहदेखि रणवीर कपुरसम्मका स्टार पनि अतिथि भूमिकामा देखिन्छन्। एसएस राजामौली र बादशाहको प्रवेश पनि रोचक लाग्छन्।
फिल्मको क्रेज बढाउन सुपरस्टारहरूलाई अतिथि भूमिकामा खेलाउने चलन पुरानै भए पनि उनीहरूलाई एकपछि अर्को स्क्रिनमा देख्दा रमाइलो लाग्छ।
सिरिजले बलिउडका मिथकहरूमाथि व्यंग्य गर्छ — जस्तै, आमिर खान र एसएस राजामौली भेट्दा उनीहरूबीच 'गम्भीर छलफल' होला भन्ने धेरैलाई लाग्छ। तर खासमा उनीहरू वडापाव र इडली साम्भरजस्ता खानेकुरामाथि वादविवाद गरिरहेका हुन्छन्।
बलिउडको निर्दयी पक्षको कुरा गर्दा सिरिजको सुरूआत नै एक यस्तो दृश्यबाट हुन्छ, जसले तपाईंको धड्कन बढाइदिन्छ र बलिउडमा हराउँदै गएको मानवीय संवेदना झल्काइदिन्छ।
एक भव्य सुटिङ सेटमा खतरनाक स्टन्ट छायांकन हुँदैछ। त्यस क्रममा स्टन्टम्यान घाइते हुन्छन्। सुटिङ सेटमा अफरातफरी मच्चिन्छ। उनलाई तुरून्तै स्ट्रेचरमा राखेर अस्पताल लगिन्छ। तर निर्माता र निर्देशकको चिन्ता ती घाइते स्टन्टम्यानको स्वास्थ्यलाई लिएर हुँदैन। उनीहरू चिन्तित हुन्छन्, यो घटनाले फिल्मको सुटिङ रोकिएर रिलिज गर्ने मिति पछाडि सर्ला कि भनेर।
मान्छेको ज्यानको सवाल आउँदा पनि उनीहरू करोड–अर्ब नोक्सान हुने हिसाबकिताब गरेको दृश्यले बलिउडको यथार्थ झल्काउँछ।
त्यही स्टन्टपछि सिरिजमा नायक आसमान सिंहको प्रवेश हुन्छ। उनी जोखिमपूर्ण स्टन्ट आफै गरेर फिल्मी स्टाइलमा दर्शकलाई आफ्नो उपस्थितिको आभास गराउँछन्।
अभिनयको कुरा गर्दा मुख्य भूमिकामा देखिएका लक्ष्य शानदार छन्। उनमा पूर्ण रूपले हिरोको स्टाइल देखिन्छ।
पछिल्लो सुपरहिट फिल्म 'एनिमल' पछि चर्चामा आएका बबी देओलले यो सिरिजमा पनि उम्दा अभिनय गरेका छन्। अजय तलवारको खलनायक भूमिकाले माग गर्ने क्रूरता मात्र होइन, सुपरस्टारदेखि छोरीका पितासम्मको मानवीय चरित्रका विभिन्न पक्षलाई उनले जीवन्त ढंगले चित्रण गरेका छन्।
राघव जुयाल (परवेज) ले साथीको भूमिकामा राम्रो काम गरेका छन्। इमरान हाश्मीका फ्यानको भूमिकामा उनले खुब मनोरञ्जन दिन्छन्।
त्यस्तै, सहर बाबा, अन्या सिंह, मोना सिंह, करण जौहर, मनीष चौधरी, मनोज पाहवा लगायत सबै कलाकारको अभिनय राम्रो छ। उनीहरूले सिरिजलाई बाँधेर राख्न महत्त्वपूर्ण भूमिका खेलेका छन्।
सिरिजको लेखन पक्ष बलियो छ। विषयवस्तुमा नयाँपन नभए पनि प्रस्तुति रोचक भएकाले दर्शकलाई पट्यार लाग्ने मौका दिँदैन। हरेक एपिसोडपछि अब के होला भन्ने कौतूहल कायम रहन्छ। संवाद पनि रमाइलो छ।
निर्देशकका रूपमा आर्यन आफ्नो छाप छाड्न सफल छन्। उनले बलिउडको यथार्थ र आफ्नो परिकल्पनालाई एकदमै राम्ररी बुनेका छन्।
समग्रमा भन्दा, आर्यन खानको 'डेब्यू' सिरिज 'द ब्याड्स अफ बलिउड' हेर्न लायक छ।
उनी आफूलाई बलिउडका एक उदीयमान निर्देशकका रूपमा स्थापित गराउन सफल भएका छन्।
***