भदौ २४ गते दिउँसो १० बजेतिर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सदाझैं यात्रु पुगिसकेका थिए।
अन्तर्राष्ट्रिय र आन्तरिक तर्फका जहाज नियमित जसरी नै उडान र अवतरण गरिरहेका थिए।
विमानस्थलको दक्षिणतर्फ अचानक कालो धुवाँ निस्कियो। यो भनेको जहाज अवतरण गर्ने (कोटेश्वरतर्फको) धावनमार्ग हो।
छिनभरमै आकाश धुलाम्मे हुँदै गयो। आगोको झिल्का बढ्न थाल्यो। यसले दक्षिणतर्फबाट जहाज अवतरण गर्न सक्ने स्थिति रहेन।
एयर ट्राफिक कन्ट्रोलरले काठमाडौं आइरहेका जहाजलाई 'धावनमार्गमा आगोको झिल्का र कालो धुवाँ छ, भिजिबिलिटी छैन, केही समय आकाशमै होल्ड गर्नुस्' भने।
करिब एक घन्टासम्म पाँचवटा जहाज सिमरा आसपास होल्ड भए।
'परिस्थिति सामान्य होला कि भन्ने थियो, तर भएन। त्यसपछि पाँचवटै जहाजलाई गन्तव्यमै फर्कन भनियो,' विमानस्थलका महाप्रबन्धक हंशराज पाण्डेले मंगलबार सेतोपाटीसँग भने।
उनका अनुसार हिमालय एयरलाइन्स डाइभर्ट भएर पोखरा विमानस्थलमा अवतरण भयो।
बाँकी एयरलाइन्स बंगलादेशको ढाका विमानस्थलमा अवतरण भए।
त्यति बेला विभिन्न गन्तव्यमा जान काठमाडौं विमानस्थलमा झन्डै डेढ सय यात्रु अन्तर्राष्ट्रिय उडान कुरिरहेका थिए।
जहाजहरू आकाशबाटै फर्किएपछि उनीहरू विमानस्थलमै रोकिए। विमानस्थल कार्यालयले त्यस दिन उडान तालिका रहेका अन्य अन्तर्राष्ट्रिय वायुसेवालाई पनि उडान नगर्न जानकारी दियो।
महाप्रबन्धक पाण्डेका अनुसार अन्तर्राष्ट्रिय उडानका भारतीय र अन्य मुलुकका गरी डेढ सयभन्दा बढी यात्रु थिए। त्यस्तै, आन्तरिक उडानका लागि ६० भन्दा बढी यात्रु विमानस्थलमै रोकिए।
विमानस्थलमा रोकिनेमध्ये धेरैजसो भारतीय यात्रु थिए। केही स्वदेशी यात्रु भने उडान रोकिएपछि विमानस्थलबाट फर्किए।
बाहिर प्रदर्शनकारीले निजी तथा सार्वजनिक सम्पत्ति जलाउन थालिसकेका थिए। त्यसबीच काठमाडौंका विभिन्न ठाउँमा हेलिकप्टर आवागमन बढ्न थाल्यो। यसले विमानस्थललाई झनै जोखिमपूर्ण बनायो। हवाई सुरक्षामा चुनौती देखियो।
'विमानस्थलमा प्रधानमन्त्री, मन्त्री, शीर्ष नेता लगायतका भिआइपी छन् भन्ने अपवाह फैलिएछ। त्यसपछि त विमानस्थल पनि जलाउनुपर्छ भन्ने हल्ला हुन थाल्यो,' उनले भने, 'हामीलाई झनै चुनौती थपियो।'
विमानस्थल कार्यालयले तत्काल बैठक राख्यो। भोलिपल्ट १२ बजेसम्मका लागि विमानस्थल बन्द हुने भन्दै २४ गते दिउँसो साढे २ बजे घोषणा गरियो।
'विमानस्थल त बन्द भयो। तैपनि एकातिर विमानस्थललाई प्रदर्शनकारीहरूबाट जोगाउन र अर्कातिर भित्र रहेका यात्रुलाई व्यवस्थापन गर्न चुनौती थपियो,' उनले अगाडि भने, 'देश जलिरहेको छ। विमानस्थललाई चाहिँ कसरी जोगाउने भन्नेतिर हाम्रो चिन्ता बढ्यो।'
त्यसै क्रममा दुई सयभन्दा बढी प्रदर्शनकारीको हुल तिलगंगा हुँदै विमानस्थल प्रवेश गेटतर्फ आइपुगेको उनले जानकारी पाए।
जताततै जलिरहँदा प्रदर्शनकारीले विमानस्थल पनि जलाउने भए भन्ने उनलाई डर लाग्यो।
स्थिति सम्हाल्न अब उनीसँग एउटै उपाय थियो — प्रदर्शनकारीहरूको शंका मेट्ने।
त्यसका लागि प्रदर्शनकारीहरूमध्ये १० जना प्रतिनिधिलाई भित्र प्रवेश दिइयो।
'उहाँहरूलाई नेता विमानस्थलभित्र छन् भन्ने लागेछ। त्यसैले हाम्रो टिमले उहाँहरूका प्रतिनिधिलाई भित्र ल्याएर चाहेका ठाउँहरू देखायौं,' महाप्रबन्धक पाण्डेले भने, 'यो सार्वजनिक सम्पत्ति हो, यसलाई जोगाउनुपर्छ भन्दै सम्झायौं।'
विमानस्थलको आग्रहपछि प्रदर्शनकारीका प्रतिनिधिले भिआइपी कक्ष, कार्यालय लगायत एक–एक ठाउँमा खोजी गरे। कहीँ पनि नेताहरू वा अन्य व्यक्ति लुकेर बसेका छैनन् भन्नेमा ढुक्क भएपछि उनीहरू फर्किए।
'उहाँहरू फर्किएपछि बल्ल हामी ढुक्क भयौं,' पाण्डेले भने।
यात्रुहरू भने टर्मिनल भवनमै बसिरहे। बाहिर असुरक्षा रहेको भन्दै उनीहरू साँझसम्म त्यहीँ बसे। विमानस्थल क्यान्टिनको खानेकुरा पनि सक्किसकेको थियो। बेलुका हुँदै गएपछि उनीहरू भोक र प्यासले छटपटिन थाले।
विमानस्थल कार्यालयले 'यहाँहरू सक्नुहुन्छ भने नजिकका होटलमा सुरक्षित रूपमा गइदिनुस्। तपाईंहरू चाहनुहुन्छ भने सम्बन्धित निकायसँग समन्वय गरेर जाने प्रबन्ध मिलाइदिन्छौं' भन्दै यात्रुलाई सार्वजनिक रूपमै भन्यो।
तर यात्रुहरू मानेन्।
'हामी यहीँ सुरक्षित छौं, यहीँ बस्न दिनुस्' भन्दै उनीहरूले उल्टै विमानस्थललाई अनुरोध गरे।
त्यसपछि ती यात्रुलाई विमानस्थलको टर्मिनलमै बस्न दिइएको महाप्रबन्धक पाण्डेले बताए
साढे दुई सय यात्रुले अन्तर्राष्ट्रिय र आन्तरिक टर्मिनलमा त्यो रात बिताए।
भोलिपल्ट पनि बजार खुलेन। कर्फ्यू लागू भयो। उडान हुने–नहुने टुंगो थिएन। त्यसपछि भारतीय दूतावासले सबै यात्रुलाई खाना ल्याएर खुवायो।
भदौ २५ गते बिहान ९ बजेदेखि भने यात्रु व्यवस्थापन गर्न हम्मे पर्यो। अन्तर्राष्ट्रिय उडानका लागि तीन घन्टाअघि नै बोर्डिङ पास लिनुपर्ने हुन्छ। यसका लागि ९ बजेदेखि नै यात्रुहरू बोर्डिङ गेट प्रवेश गर्न खोजिरहेका थिए। बाहिर कर्फ्यू चलिरहेकै थियो।
त्यसपछि विमानस्थलले फेरि साढे ११ बजे अर्को सूचना निकालेर अनिश्चितकालीन बन्द घोषणा गर्यो। यो सन्देशले बाहिरका यात्रुलाई भित्र आउनबाट रोक्यो। भित्रका यात्रु भने अलपत्र परेको भन्दै दबाब दिइरहेका थिए।
त्यसबीच यात्रु व्यवस्थापनका लागि सेनासँग पनि छलफल सुरू गरियो।
साढे ३ बजे सूचना निकालेर उनीहरूले विमानस्थल खुलेको जानकारी दिए। टिकट र बोर्डिङ पास लिइसकेर पनि जान नपाएका यात्रुलाई लक्ष्य गरेर विमानस्थल खुला गरियो। अन्तर्राष्ट्रिय उडान त्यही दिनबाट नियमित भयो। आन्तरिकतर्फका वायुसेवाले भोलिपल्ट २६ गतेदेखि नियमित उडान थाले।
विमानस्थल खुलेपछि बल्ल विभिन्न गन्तव्यबाट नेपालका लागि जहाज उडे। लगभग पाँच घन्टापछि विमानस्थल भित्रको अवस्था सामान्य भयो।
'रोकिएका यात्रु गन्तव्यमा फर्किए,' उनले भने, 'त्यसपछि बल्ल ढुक्कको सास फेर्न पाइयो। विमानस्थललाई सुरक्षित राख्न पनि सकियो।'
***