असमका चर्चित गायक र बलिउडमा आफ्नो छुट्टै पहिचान बनाएका जुबिन गर्गको निधनप्रति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी तथा प्रतिपक्षी कंग्रेस नेता राहुल गान्धीले दु:ख व्यक्त गरेका छन्।
शुक्रबार सिंगापुरमा स्कुबा डाइभिङ गर्ने क्रममा भएको दुर्घटनामा परेर उनको निधन भएको हो।
भारतीय प्रधानमन्त्री मोदीले सामाजिक सञ्जालमा लेखेका छन्, 'लोकप्रिय गायक जुबिन गर्गको अचानक निधनले म स्तब्ध छु। संगीतमा उनले पुर्याएको योगदानको सधैं सम्झना गरिनेछ। उनका गीत सबै वर्गका मानिसबीच अत्यन्त लोकप्रिय थिए। परिवार र प्रशंसकप्रति मेरो समवेदना। ॐ शान्ति।'
त्यस्तै, कांग्रेस नेता राहुल गान्धीले लेखेका छन्, 'जुबिन गर्गको निधन एक ठूलो क्षति हो। उनको स्वरले एक पुस्तालाई परिभाषित गर्यो। उनको प्रतिभा साँच्चिकै अद्वितीय थियो। उनले व्यक्तिगत संघर्ष पार गर्दै आसामी संगीतको रूप बदलेका थिए। उनको धैर्य र साहसले सधैं प्रेरणा दिनेछ। उनी हाम्रो मन र मस्तिष्कमा सदैव जिउँदै रहनेछन्।'
आसामका जुबिनले 'या अली', 'दिल तू ही बता', 'मायाबिनी रातिर बुकेत' जस्ता चर्चित गीत गाएका थिए।
जुबिनले तीन वर्षकै उमेरबाट गीत गाउन सुरू गरेका थिए। सन् १९९० दशकमा आसामी गीतबाट लोकप्रिय बनेका उनी सन् २००६ मा बलिउड फिल्म 'ग्याङ्स्टर' का लागि 'या अली' गाएपछि भारतभरि चर्चित भए।
उनी पार्श्वगायक मात्र नभई गीतकार, संगीतकार, अभिनेता र फिल्ममेकर पनि थिए। उनका चर्चित हिन्दी गीतमा जो प्यार तुने (जाल: द ट्र्याप), या अली (ग्याङ्स्टर), दिल तू ही बता (कृष-३), जाने क्या चाहे मन (प्यार के साइड इफेक्ट्स), क्या राज है लगायत छन्।
जुबिन गर्ग सिंगापुरमा सेप्टेम्बर २० मा हुने चौथो ‘नर्थ इस्ट इन्डिया फेस्टिभल' मा भाग लिन गएका थिए।
नर्थ इस्ट न्यूजका अनुसार उनी स्कुबा डाइभिङ गर्ने क्रममा समुद्रमा परेका थिए। उद्धार गरेर अस्पताल लगिए पनि उनको मृत्यु भएको भारतीय अखबार 'हिन्दुस्तान टाइम्स' ले लेखेको छ।
४० भन्दा बढी भाषामा गीत गाएका जुबिनले यस वर्ष जनवरीमा 'पप पाभेलोपेडिया' सँगको पोडकास्टमा आफ्ना धेरै चर्चित गीत नशामा रेकर्ड गरेको बताएका थिए।
जुबिनका अनुसार उनले २२ वर्षको उमेरबाट मदिरा पिउन सुरू गरेका थिए।
स्टेजमा गीत गाउँदा मदिरा पिएको भिडिओबारे सोध्दा उनले भनेका थिए, 'दुई वर्षअघि म यसकै कारण बिरामी परेँ। म यो कुलत छोड्ने प्रयासमा छु।'
उनले अगाडि भने, 'मैले सन् १९९५ मा २२ वर्षको हुँदा पिउन सुरू गरेँ। कहिलेकाहीँ पश्चाताप हुन्छ, तर मेरा धेरै चर्चित गीत मैले नशामा गाएको हुँ।'
जुबिन आफूलाई म्यानचेस्टर युनाइटेडका खेलाडी जर्ज बेष्टसँग तुलना गर्थे र भन्थे, 'उनी सधैं नशामा हुन्थे, तर गोल गर्थे। उनी उत्कृष्ट खेलाडी थिए, तर आत्मसम्मानका कारण इंग्ल्यान्डका लागि खेलेनन्।'
संगीतकार प्रितम, गायक अरमान मलिक लगायत धेरैले उनको आकस्मिक निधनप्रति शोक प्रकट गरेका छन्। प्रितमले सामाजिक सञ्जाल 'एक्स' मा लेखेका छन्, 'जुबिनको दुर्घटनामा ज्यान गएको कुरा असह्य र दुखद छ। अझै पनि मलाई विश्वास गर्न गाह्रो भइरहेको छ… परिवारलाई गहिरो समवेदना। ॐ शान्ति।'
अरमान मलिकले पनि लेखेका छन्, 'म स्तब्ध छु र विश्वास गर्न सकिरहेको छैन। उनको आत्माले शान्ति पाओस्… #ZubeenGarg।'