भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले दसैं अवधिमा काठमाडौं बाहिर जाने यात्रुवाहक सार्वजनिक सवारी साधनलाई नागढुंगा-सिस्नेरी सुरूङमार्ग प्रयोग गर्ने व्यवस्था मिलाउन निर्देशन दिएका छन्।
शनिबार सिंहदरबारमा बसेको यातायात व्यवस्था विभाग, सुरक्षा निकाय, यातायात व्यवसायी लगायत सरोकारवाला निकायसँगको बैठकमा दसैं अवधिमा काठमाडौं उपत्यकाबाट बाहिरिने यात्रुवाहक सार्वजनिक सवारी साधनलाई सुरूङमार्गमार्फत जान दिने निर्देशन दिए।
त्यसैगरी, दसैंपछि पुनः प्रवेशको व्यवस्था गर्न सम्बन्धित पक्षसँग छलफल गरी आवश्यक निर्देशन दिने निर्णय भएको हो।
मन्त्री घिसिङले अहिले सञ्चालनको अन्तिम तयारीमा रहे पनि दसैंलाई मध्यनजर गर्दै सार्वजनिक सवारी साधनलाई सुरूङमार्ग प्रयोग गर्न निर्देशन दिइएको बताए।
बैठकले देशभरका सडक अवस्थाबारे २४ घण्टा निगरानी गर्न, आवश्यक समन्वय र व्यवस्थापनका लागि फोकल पर्सनसहित कन्ट्रोल रूम सञ्चालनमा ल्याउन सडक विभागलाई निर्देशन दिने निर्णय गरेको छ।
त्यस्तै नयाँ बसपार्कसहित मुलुकका विभिन्न राजमार्गमा सुरक्षा चुस्त बनाउन प्रहरी गस्ती बढाउने र अतिरिक्त प्रहरी परिचालन गर्न गृह मन्त्रालयलाई अनुरोध गर्ने निर्णय भएको मन्त्री घिसिङले बताए।
बैठकले सार्वजनिक सवारी साधनलाई सुरक्षित र प्रविधिमैत्री बनाउन कार्यविधि तथा निर्देशिका तयार गरी छिट्टै मन्त्रालयमा पेस गर्न यातायात व्यवस्था विभागलाई निर्देशन दिने निर्णय समेत गरेको छ।