संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोर्ड र निजी क्षेत्रका पर्यटन व्यवसायी बीच सोमबार पर्यटन क्षेत्र पुनरुत्थानबारे छलफल सम्पन्न भएको छ।
जेनजी आन्दोलनका कारण पर्यटन संरचनामा परेको असरबारे समीक्षा गर्दै सहभागीहरूले नेपालको पर्यटन उद्योगलाई शीघ्र पुनरुत्थान गर्ने प्रतिबद्धता जनाएका छन्।
पर्यटन मन्त्रालयका सचिव तथा पर्यटन बोर्ड अध्यक्ष हरिप्रसाद मैनालीले नीतिगत अड्चन हटाएर सुधार प्रक्रिया अघि बढाइने बताएका छन्। साथै उनले पर्यटकको सुरक्षित आवागमनलाई प्राथमिकतामा राख्न सम्बन्धित निकायलाई निर्देशनसमेत दिएका छन्।
पर्यटन बोर्ड उपाध्यक्ष रामप्रसाद सापकोटाले दूतावास, एनआरएनए र अन्य सञ्जालमार्फत नेपाल सुरक्षित रहेको सन्देश दिनुपर्ने आवश्यकता औंल्याए। त्यस्तै, होटल व्यवसायी संघका अध्यक्ष विनायक शाहले होटल व्यवसायमा क्षति भए पनि पाहुनाको स्वागत सेवामा कमी नहुने बताएका छन्।
नाटा अध्यक्ष कुमारमणी थपलियालगायत अन्य पर्यटन संघ–संस्थाका प्रतिनिधिहरूले पनि नेपालको छवि सुधार र प्रचार–प्रसारमार्फत पर्यटकलाई आकर्षित गर्ने रणनीति बनाउनुपर्नेमा जोड दिएका छन्।
नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले विगतका संकटहरूबाट नेपालले छोटो समयमै पुनरुत्थान गरेको अनुभव स्मरण गर्दै यसपटक पनि आत्मविश्वासपूर्वक अघि बढ्नुपर्ने धारणा राखेका छन्।
छलफलमा सहभागी सबै पक्षले पर्यटन पुनरुत्थानका लागि सामूहिक सहकार्य र एक्यबद्धता आवश्यक रहेको निष्कर्ष निकालेका छन्।