नेपाल पर्यटन बोर्डले जर्मनीको बर्लिनमा सुरू भएको आइटिबी बर्लिन- २०२५ मा नेपाल पभेलियन स्थापना गरिएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले मंगलबार नेपाल पभेलियनको उद्घाटन गरेका हुन्।
नेपाललाई विश्वभरका पर्यटकको आकर्षणको केन्द्र बनाउन बोर्डले २८ प्रतिष्ठित पर्यटन व्यवसायीलाई सहभागी गराएको छ।
जसमा एडभेन्चर टुरिजम, सांस्कृतिक अन्वेषण, ट्रेकिङ र प्रिमियम आतिथ्य सेवाको समावेश छ।
मन्त्री पाण्डेले उद्घाटन समारोहमा नेपालका अद्वितीय पर्यटकीय सम्भावनाहरूको चर्चा गर्दै नेपालको पर्यटनलाई अन्तर्राष्ट्रियस्तरमा प्रचार र प्रवर्द्धन गर्ने प्रतिबद्धता व्यक्त गरे।
समारोहमा जर्मनीका लागि नेपाली राजदूत डा. शैल रुपाखेती र नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशी लगायत नेपाल र विभिन्न देशका पर्यटन व्यवसायीहरूको उपस्थिती रहेको थियो।
नेपाल पभेलियनमा नेपालको अद्वितीय प्राकृतिक सौन्दर्य, साहसिक पर्यटन, सांस्कृतिक धरोहर र अन्य प्रमुख पर्यटन गन्तव्यहरू प्रस्तुत गरिने छन्।
आइटिबी बर्लिन-२०२५ लाई नेपालको दिगो पर्यटन प्रतिबद्धता र प्रवर्द्धनका लागि उपयुक्त अवसरका रूपमा प्रयोग गर्नुपर्ने मन्त्री पाण्डेले बताए।
आइटिबी बर्लिनजस्तो प्रमुख अन्तर्राष्ट्रिय मञ्चमा नेपाली कम्पनीहरूको सहभागिताले नेपालका पर्यटकीय आकर्षणहरूलाई प्रवर्द्धन गर्ने एउटा सुनौलो अवसर भएको बोर्डका सीईओ जोशीले बताए।
यो कार्यक्रम नेपालका विविध पर्यटन क्षेत्रहरूलाई प्रवर्द्धन गर्नका साथै अन्तर्राष्ट्रिय पर्यटन उद्योगसँग साझेदारी गर्ने र नयाँ बजारमा नेपालको पहिचानलाई थप सशक्त बनाउन सहयोगी हुने अपेक्षा गरिएको छ।
यसले नेपालको पर्यटन व्यवसायलाई अन्तर्राष्ट्रिय बजारमा नयाँ सम्भावनाहरूको खोजी गर्ने र नेपाललाई विश्वभरका पर्यटकहरूसमक्ष प्राथमिक गन्तव्यको रूपमा प्रस्तुत गर्ने बोर्डको अपेक्षा छ।
सन् १९९६ बाट सुरू भएको आइटिबी बर्लिन विश्वको प्रमुख यात्रा व्यापार मेला हो। यस वर्ष एक सय ८० भन्दा बढी देशबाट १० हजारभन्दा बढी पर्यटन व्यवसायीहरूको सहभागिता रहने छ।
नेपालले यस मञ्चलाई ट्रेकिङ, सांस्कृतिक अन्वेषण र साहसिक पर्यटनका विशेष अनुभवहरूलाई विश्वभर चिनाउनको लागि निरन्तर सक्रिय रूपमा प्रयोग गर्दै आएको छ।