नेपाल वायुसेवा निगमका तीनवटा जहाज ग्राउन्डेड भएका छन्। अन्तर्राष्ट्रिय उडानमा चारवटा जहाज रहेकोमा यतिबेला एउटा मात्र उडानमा छ।
विभिन्न कारण तीनवटा जहाज ग्राउन्डेड हुँदा अन्तर्राष्ट्रिय उडान प्रभावित बनेको छ।
निगमका अधिकांश गन्तव्यहरूमा अहिले उडान ठप्प छ। हरेक दिन उडान रद्द हुँदा टिकट खरिद गरेका यात्रु अलपत्र परेका छन्।
जहाज ग्राउन्डेड भएपछि निगमले केही यात्रु होटलमा राखेको छ भने केही यात्रु अर्को जहाजमार्फत सम्बन्धित गन्तव्यमा पठाइरहेको छ।
निगमले बिहीबार प्रेस विज्ञप्ती जारी गर्दै चारवटा अन्तर्राष्ट्रिय उडान गर्ने जहाजमध्ये एउटा वाइडबडी जहाजले मात्र उडान गरिरहेको जनाएको छ।
त्यस्तै अर्को वाइडबडी जहाजका लागि आवश्यक पार्टपुर्जा बिहीबार नै बेलायतबाट आएको र मर्मत सम्भार पश्चात काठमाडौं–दिल्लीको उडान तालिका रहेको निगमको उक्त विज्ञप्तीमा उल्लेख छ।
अर्को लुम्बिनी न्यरोबडी अगाडिको पाङ्ग्रामा समस्या देखिएपछि केही दिनअघि साउदीअरबको दमाममा थन्किएको थियो।
साउदी एयरलायन्सको सहायतामा मर्मत गरेर मंगलबार बिहान काठमाडौंमा अवतरण भएको त्यो विमानमा पुनः समस्या देखिएपछि निगमले विमानस्थलमा रहेको मर्मतशालामा राखेको छ। आगामी शनिबारदेखि यो जहाजले पनि नियमित उडान गर्ने निगमले जनाएको छ।
सी–चेकका लागि गएको नाइन एन एकेडब्लूु जहाज एक सातादेखि चीनमा रोकिएको छ। सी–चेक सम्पन्न भएसँगै चाइना साउर्थनले जहाज निगमलाई हस्तारन्तरण गरेको थियो। जहाज लिन चालक दलका सदस्य यही फेब्रुअरी १८ तारिखमै चीनको सांघाई विमानस्थल पुगेका थिए।
जहाज १९ तारिखमा नेपाल आउने तालिका थियो। तर जहाजको स्टार्ट बटनले काम नगरेपछि जहाज नेपाल आउन सकेन। यो जहाज आगामी शनिबार काठमाडौं आइपुग्ने निगमले जनाएको छ।
यो जहाजको मर्मत सि चेकमा ढिलाई तथा अन्य कारणको सम्बन्धमा अध्ययन गर्न यथार्थ विवरण केलाई कहीं कसैको कमजोरी पाइएमा एमआरओ र एजेन्ट समेतलाई कानुनी प्रकिया कारबाही सिफारिस सहित पेश गर्न फागुन ११ अध्यक्ष अधिकारीबाट तीन सदस्यी छानवीन समिति गठन भएको पनि निगमले जनाएको छ।
यता, ट्वीनटर जहाज ग्राउन्डेड हुँदा आन्तरिक तर्फ पनि लामो समयदेखि कुनै पनि गन्तव्यमा उडान हुन सकेको छैन।