नेपाल नागरिक उड्डयन प्राधिकरणले युरोपियन कम्पनी एयरबसको हेलिकप्टर आयातका लागि अनुमति नदिने निर्णय गरेको छ।
नेपालका वायुसेवालाई अब एउटै कम्पनीका मात्रै नभई फरक कम्पनीको जहाज ल्याउन प्रोत्साहन गर्ने नीति लिन लागेको प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले जानकारी दिए।
उनका अनुसार अहिले नेपालमा अधिकांश कम्पनीले एयरबसको हेलिकप्टर र युरोपेली जहाज निर्माता कम्पनी एटिआरको जहाज उडिरहेको छन्।
प्राधिकरणले एयरबस कम्पनीको जति पनि एयरक्राफ्ट छ त्यसको प्राविधिक क्षमता र नेपाल जस्तो मुलुकमा ती जहाजको कतिको उपयुक्त हुन्छ त भनेर अध्ययन गर्दा केही कैफियत देखिएको भुलले बताए।
'अब कुनै एउटा कम्पनीका लागि मात्र होइन बोइङ र अन्य वायुयान निर्माता कम्पनीहरूका लागि पनि नेपाली बजार खुला गर्नुपर्छ,' उनले भने, 'सम्पूर्ण वायुयानलाई नेपाली बजार खुला गर्ने र जो आर्थिक रूपमा सस्तो हुन्छ र सेफ्टी पर्फमेन्स राम्रो हुन्छ त्यस्तो कम्पनीलाई मात्र प्रोत्साहन गर्ने भन्ने नीति तयार हुँदैछ।'
युरोपियन युनियनले नेपालको उड्डयनलाई विगत एक दशकदेखि कालोसूचीमा राख्दै आएको छ।
अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनले कालोसूचीबाट हटाउँदा समेत इयूले हटाउन मानेको छैन। यही कारणले पनि प्राधिकरणले एयरबसमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको प्राधिकरणका कर्मचारी बताउँछन्।