कुस्माको द क्लिफले भ्यालेन्टाइन्स डेको अवसरमा ट्यान्डम (दुई जनासँगै खेल्न मिल्ने)बन्जी र विश्वकै लामो तथा अग्लो मेगाट्रोल सञ्चालनमा ल्याएको छ।
साथै फेब्रुअरी भरी एड्भेन्चरतर्फ ट्याण्डम स्विङ, स्काइ साइकल, स्काइ क्याफे र रिसोर्ट तर्फ कटेज रूममा २० प्रतिशत छुट उपलब्ध भएको जनाइएको छ।
स्विङ गर्दा जोडीलेसँगै खेल्ने सुविधा पहिले नै भए पनि बन्जीमा भने नयाँ सुरुवात गरिएको द क्लिफका अध्यक्ष राजु कार्कीले बताए।
'अब पर्यटकले आफूले चाहेको व्यक्तिसँग अङ्गालो मारेर बन्जी गर्न सक्नुहुन्छ,' कार्की भन्छन्, 'यसले डर कम गराइ आत्मविश्वास बढाउने र थप आत्मीय अनुभव गराउनेछ।'
ट्यान्डम बन्जी खेल्न १३ हजार ५ सय रूपैयाँ शुल्क तोकिएको छ। फोटो भिडिओ र २ वटा बन्जी टिसर्टको थप २ हजार रूपैयाँ तिर्नुपर्ने हुन्छ।
दुई सय ५५ मिटर अग्लो मेगाट्रोलको लम्बाइ १२ सय २८ मिटर छ।
यसमा एकैपटकमा तीन जनासम्म खेल्न सकिन्छ। एक्लै वा जोडीसँगै पनि खेल्न सकिने र मेगाट्रोलको गति प्रतिघण्टा १ सय ४० किलोमिटरको हुनेछ।
मेगाट्रोल खेल्न प्रति व्यक्ति ४ हजार रूपैयाँ लाग्नेछ।
ट्याण्डम (जोडी) खेल्दा ७ हजार रूपैयाँ र तीन जना खेल्दा ९ हजार ५ सय रूपैयाँ शुल्क तोकिएको छ। टिसर्ट र भिडिओ प्याकेजको थप शुल्क लाग्नेछ।
'मेगाट्रोल पनि साहसिक गतिविधिमै पर्छ, यसले जीपलाइन र रोलर कोस्टरको ब्लेन्डेड अनुभव दिन्छ,' कार्कीले भने, 'एक वर्षअघि निर्माण सुरू गरिएको मेगाट्रोल भ्यालेन्टाइन्स डेको मौका पारेर सुरू गरेका छौँ।'
पोखरास्थित द क्लिफको काउन्टरबाट बुकिङ गर्नेले हजार रूपैयाँमा पोखरादेखि कुश्मासम्मको दुईतर्फी यातायात सुविधासमेत पाउने जनाइएको छ।