कञ्चनपुरको महेन्द्रनगरस्थित मझगाउँ विमानस्थल निर्माणको अवरूद्ध निर्माण तत्काल अघि बढ्ने सहमति भएको छ।
गृहमन्त्री रमेश लेखकको पहलमा शुक्रबार गृह मन्त्रालयमा भएको सम्बद्ध निकायका मन्त्री, सचिव र प्रधानसेनापति सहितको उच्चस्तरीय बैठकबाट मझगाउँ विमानस्थलको विषय सुल्झिएको हो।
बैठकमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको सुरक्षार्थ खटिएको नेपाली सेनाको नाममा रहेको ६ बिघा विमानस्थल निर्माणका लागि उपयोग गर्ने दिन, सेनाको फुटबल मैदान र सो स्थानमा रहेका सैनिक आवासीय भवन निकुञ्ज क्षेत्रमै बनाइने विषयमा सहमति पछि लामो समयदेखि असहमति देखिएको विमानस्थल निर्माणको विषय सुल्झिएको हो।
बैठकमा बोल्दै गृहमन्त्री लेखकले लामो समयदेखि विमानस्थल निर्माणको विषय थाती रहेको र सुल्झाउन आग्रह गरेका थिए।
सो क्रममा वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरी, रक्षामन्त्री मानवीर राई, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डे, ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङ, नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देल र नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी लगायत मन्त्रालयका सचिवहरूले आ–आफ्नो धारणा राखेका थिए।
२०७८ माघमा विमानस्थल पुनर्निर्माणका लागि ठेक्का भएको थियो। हाल एक हजार तीन सय मिटर विमानस्थलको रनवे कालोपत्रे हुने चरणमा पुगिसकेको छ।
विमानस्थल विस्तारका क्रममा विमानस्थलको दक्षिणतर्फ सेनाको ६ बिघा जग्गा विमानस्थलले लिने विषयमा यसअघि सहमति हुन नसक्दा निर्माण प्रभावित हुँदै आएको थियो।
शुक्रबारको बैठकमा सम्बद्ध सबै निकाय सम्मिलित टिम महेन्द्रनगर पठाउनुका साथै रनवे निर्माणको काम तत्काल सुरू गर्ने सहमति भएको गृहमन्त्री रमेश लेखकले जानकारी दिए।
‘यसअघि पनि छुट्टाछुट्टै धेरै चरणमा सहमति र निकासका लागि छलफल भए तर निकास निस्केको थिएन,’ उनले भने, ‘आज सम्बद्ध निकायको संयुक्त बसाइले सहमति भएर विमानस्थलको निर्माण तत्काल अघि बढ्यो भयो।’
विमानस्थल निर्माणका क्रममा वन क्षेत्रको पर्ने जग्गाको वातावरणीय प्रभाव मूल्यांकन पनि संगै गर्दै जाने विषयमा सहमति भएको छ।