दोलखाको शैलुङमा निर्माण गरिएको शैलुङ मिनी ग्रेटवाल पछिल्लो समय पर्यटकको रोजाइमा पर्न थालेको छ। पर्यटकीय गन्तव्यको रूपमा विकास हुँदै गएको सो ग्रेटवाल घुम्न जानेको सङ्ख्याको वृद्धि हुँदै गएको छ।
धार्मिक तथा पर्यटकीय स्थल शैलुङ जाँदा शैलुङ ग्रेटवालमा पनि पर्यटकहरू बाक्लिन थालेको छ। ग्रेटवाल हेर्न र शैलुङमा ध्यान, अध्ययन, अनुसन्धान तथा अवलोकन गर्न विदेशी पर्यटकको सङ्ख्यामा पनि वृद्धि भएको छ।
पर्यटकीय क्षेत्र शैलुङ डाँडामा पर्यटन प्रवर्द्धन गर्नका लागी मिनी ग्रेटवाल निमार्णको काम सुरु गरिएको थियो ।
सङ्घीय सरकारको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र शैलुङ गाउँपालिकाको संयुक्त लगानीमा शैलुङ ग्रेटवाल निर्माण गरिएको हो ।
शैलुङ गाउँपालिकाको कालापानीदेखि डाँफेढुङ्गा ९ सय ५० मिटरसम्म निर्माणको डिपिआर तयार गरिए तापनि अहिले ५ सय मिटर मात्र ग्रेटवाल निर्माण भइरहेको गाउँपालिकाले जनाएको छ।
ग्रेटवाल निर्माणको लागि सङ्घीय सरकारको ७० प्रतिशत र शैलुङ गाउँपालिकाको ३० प्रतिशत बजेट प्रदान गरेको छ । प्रारम्भिक चरणमा ५ सय मिटर ग्रेटवाल निर्माणका लागि ४ करोड ९४ लाख १५ हजार ४ सय १८ रुपैयाँ लागतमा ठेक्का सम्झौता गरिएको थियो।
सरकारले नेपालका सय वटा पर्यटकीय स्थलमा पर्यटन पूर्वाधार निर्माण गर्ने अभियान अन्तर्गत शैलुङमा ग्रेटवाल निर्माणको लागि प्रस्ताव गरिएको थियो ।
तस्बिरहरूः












सबै तस्बिरहरूः नेर्पाल फोटो लाइब्रेरी।