हुस्सु तथा कुहिरोको कारण भिजिबिलिटी कम भएको भन्दै उडान स्थगित गरेका अन्तर्राष्ट्रिय विमान कम्पनीहरूले उडान पुन: सञ्चालन गरेपछि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुहरूको चहलपहल बढ्न थालेको छ।
जाडो मौसममा भिजिबिलिटीको कारण देखाउँदै कतार एयरवेज, जजिरा एयरवेज, फ्लाई दुबई र थाई एयर एसियाले मंसिरको अन्तिम सातादेखि उडान स्थगित गरेका थिए। मौसममा खुल्न थालेपछि जजिरा एयरवेज, फ्लाई दुबई र थाई एयर एसियाले माघ दोस्रो सातादेखि पुनः उडान सुरू गरेका छन्।
कतार एयरवेजले भने अझै उडान सञ्चालन गरेको छैन। नेपाल वायुसेवा निगमले भने नियमित उडान गर्दै आएको थियो। नेपाल वायुसेवा निगमसँगै अन्य तीन वटा विमान कम्पनीले उडान पुन: सञ्चालन गरेपछि विमानस्थलमा चहलपहल बढेको हो।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले विमानस्थलमा पुन: चहलपहल बढ्न थालेको भन्दै बिहीबार सामाजिक संजालमा लेखेका छन्। तिवारीका अनुसार बिहीबार बिहानै ३ वटै जहाज भैरहवामा अवतरण गरेको उल्लेख गरेका छन्।
तिवारीले अवतरण गरेका जहाजहरूको फोटोसहित जहाजबाट अवतरण र उडान गरेका यात्रुहरूको संख्या समेत उल्लेख गरेका छन्। तिवारीका अनुसार जजिरा एयरवेजबाट १०२ जना यात्रु भैरहवा अवतरण गरेका आएका छन् भने १४९ जना यात्रु भैरहवाबाट कुवेतका लागि प्रस्थान गरेका छन्।
फ्लाई दुबईको जहाजबाट ४४ जना भैरहवा अवतरण गरेका छन् भने भैरहवाबाट २९ जना यात्रु काठमाडौं हुँदै दुबई प्रस्थान गरेका छन्।
त्यस्तै, थाई एयर एसियाको जहाजबाट १२८ जना भैरहवाबाट थाइल्याण्ड प्रस्थान गरेका छन्। थाई एयर एसियाको जहाजबाट भैरहवा अवतरण गर्ने यात्रुको संख्या भने शून्य थियो।
तिवारीले मौसम र यात्रुहरूको संख्या न्यून रहेको भन्दै विमान कम्पनीहरूले उडान स्थगित गरेको भएपछि पुन: सञ्चालन भएपछि यात्रुहरूको चाप स्वतः बढ्न थालेको बताए।
सरकारले विमानस्थल संचालन गर्न आवश्यक पर्ने पूर्वाधार, भिसा सेन्टर, श्रम मेडिकल लगायतका व्यवस्था नगरेपछि यसअघि उडान सुरू गरेका चार वटा अन्तर्राष्ट्रिय विमान कम्पनीहरूले उडान बन्द गरेका थिए। नेपाल वायुसेवा निगमबाहेक अन्य कम्पनीले भिजिबिलिटीको बहाना देखाउँदै उडान बन्द गरेका थिए।
अहिले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा कम भिजिबिलिटी हुँदा पनि जहाज उडान र अवतरण गर्न सकिने रिक्वायर्ड नेभिगेसन पर्फर्मेसन-अथोराइजेसन रिक्वायार्ड (आरएनपी-एआर) प्रणाली लागू गरिएको छ।
आरएनपी-एआर प्रणाली लागू भएपछि यो प्रविधि जडान भएका विमान र उक्त प्रविधिबारे तालिम लिएका पाइलटहरूले कम भिजिबिलिटी हुँदा पनि जहाज अवतरण गराउन सक्ने छन्।
भैरहवामा हाल यान्त्रिक (आइएफआर) विधिमा जहाजहरू अवतरण र उडान गर्दै आएका छन्। यान्त्रिक विधिबाट अवतरण गराउँदा न्यूनतम एक हजार आठसय मिटर भिजिबिलिटी आवश्यक पर्छ। आरएनपी-एआर प्रणालीको प्रयोगबाट ८ सयदेखि ९ सय मिटर भिजिबिलिटीमा पनि जहाज अवतरण गराउन सकिन्छ।